क्रान्तिकारी चेत र अग्रगामी सोचकी हिम्मतवाली मेनुका
हाम्रो समाजमा अहिले पनि धेरै कुरामा महिला र पुरुष भनेर विभेद गरिन्छ । राजनीतिमा मात्रै होइन महिला विभेद सबै ठाउँमा छ। कुनै मन्दिर महिला जानै नहुने, पूजाको प्रसाद महिलाले खानै नहुने, कुनै कुरामा महिला अग्रसर भएर बोल्नै नहुने जस्ता व्यवहार त हामीले देखे जानेकै कुरा हो । आँखाले देखिने र कहिलेकाहीँ साहित्यमा लेखिने कुरालाई हेर्दा मात्रै पनि महिलालाई समाजमा कमजोर पात्र भनेर उभ्याउन खोजिन्छ । अझ भनौं आर्थिक, सामाजिक, धार्मिक र राजनीतिक सबै ठाउँमा महिलालाई गरिने व्यवहार विभेदकारी छ।
आर्थिक रुपमा हेर्ने हो भने महिलाको नाममा सम्पत्तिको अधिकार धेरै कमले पाएका छन् । अझै आर्थिक कारोबार महिलालाई दिनुहुँदैन भन्ने ‘तुच्छ’ साेच अहिलेपनि विद्यमान छ। त्यसैगरी सामाजिक पहिचान त महिलाले धेरै कम पाउँछन् । आज पनि कतिपय महिलालाई समाजले दिने पहिचान भनेको कसैको छोरी, कसैको श्रीमती र कसैको आमा मात्रै हो । धार्मिक रुपमा त महिलालाई ‘देउता रिसाउँछन्’ भनेर जानै नहुने र खानै नहुने भनेर पन्छाइदिन्छन् । अनि राजनीति अधिकारको कुरामा स्पस्ट देखिएकै छ ‘उप’ जति महिलालाई । राष्ट्रिय सभाको उपाध्यक्ष, प्रतिनिधिसभाको उपसभामुख, महानगर र नगरपालिकाको उपमेयर र गाउँपालिकामा उपाध्यक्ष । त्यो पनि अहिले फरक पार्टी र समुदाय भए पुरुष नै हुन्छ भन्ने उदाहरण उपराष्ट्रपति चुनाव मै देखियो ।
घरपरिवार र समाजमा महिला माथी जस्तोसुकै विभेद र अत्याचार गर्नेले पनि सभा समारोहमा महिला अधिकार, कानुनी राज्य र महिला मुक्तिका कुरामा मज्जैले गफ दिएको उदाहरण पनि प्रशस्त भेटिन्छन् । आफू भद्र, सभ्य र अब्बल छु भन्ने र महिलालाई कमजोर देखाउन आफू अनुकुल ‘तर्क’को त्यान्द्रोलाई तानेर त्यसैको बलमा आफ्नो मत जाहेर गर्ने पुरुष समाजमा बग्रेल्ती भेटिन्छन् । केही कमजोरी नभेटिए महिलाको ‘रुद्रीघण्टी’ नै हुँदैन सम्म भनिदिन्छन् । अनि महिलालाई तिमी महिला मात्रै हौ, तिमिले केही गर्न सक्दैनौ, गर्न सकेपनि परिवार र समाजले राम्रो मान्दैन भनेर उनीहरुको ऊर्जा र हौसलालाई निमोठ्न खोज्ने समाज पनि छ।
महिला माथि हुने अन्याय र विभेद मात्रै होइन, जोकोही माथि नकारात्मक धारणा राख्ने ‘मुर्कुटा’ समाजलाई चुनौती दिदै आफ्नै क्षमता र योग्यताले सामाजिक काममा अग्रसर हुँदै आएकी ‘हिम्मतवाली’ महिलाको नाम हो मेनुका पौड्याल । काठमाडौ-६ महांकालकी मेनुका पौड्यालले आफ्नो जीवन आफ्नै तरिकाले जिउन थालेको धेरै वर्ष भयो । उनै मेनुका पौड्याल अर्थात् क्रान्तिकारी चेत र अग्रगामी सोच भएकी हिम्मतवाली महिला, जसले झन्डै पाँच दशकदेखि समाजमा सकारात्मक धारणा राख्ने क्रान्तिकारी चेतना छर्दै आइरहेकी छन् ।
काठमाडौं महानगरपालिका-६ महाङ्काल निवासी पौड्याललाई पन्चायत कालका ती पुराना दिन र बहुदलहुँदै गणतन्त्र सम्मको यो दिनको सम्झना झलझली आउँछ । तर,मेनुकालाई अहिलेसम्म एउटा प्रश्नले चाहिँ सधैं सताइरहन्छ। मेनुका भन्छिन्- ‘हरेक आन्दोलन र क्रान्तिले जस्तोसुकै परिवर्तन ल्यायो भनिए पनि समाज हिँडेको बाटो र म हिँडेको बाटो किन फरक छ होला ?’
सानै उमेरदेखि वामपन्थी विचारबाट प्रशिक्षित हुन पाएको कारण समाजमा हुने अन्याय, विभेद र कुसंस्कार विरुद्ध खुलेर बोल्न सकेपनि मेनुकालाई अझैपनि महिला हुँ भनेर निर्धक्क साथ जिउन कठिन हुने रहेछ भन्ने चाहिँ लागिरहेको छ। तर, उनले बुझेको सत्य चाहिँ के हो भने- आफू जुन बाटो हिड्न चाहेको हो, आफ्नो जीवनशैली त्यै बनायो भने चाहिँ निर्धक्कसँग अगाडी बढ्न सकिने रहेछ। मेनुका भन्छिन्- ‘यदि हामी रमाइलोसँग जीवन जिउन चाहन्छौं भने हामीले आफ्नो अवस्था र परिस्थितिलाई स्वमुल्याङ्कन गर्न आवश्यक छ।’
तत्कालीन अवस्थामा एकातिर पन्चायतको जगजगी र अर्कोतिर घरमा कम्युनिस्ट नेताको भुमिगत ‘सेल्टर’ अनि सानो उमेरकी मेनुका र क्रान्तिकारी नेताको दिनहुँ हुने आउजाउ अनि रातिको बैठक । यी सबै कुराले मेनुकालाई क्रान्तिकारी चेतना र अग्रगामी बिचार सहितको हिम्मतवाली महिलामा रुपान्तरण गरिदियो । ती दिन सम्झँदा मेनुका भन्छिन्- ‘डरलाग्दो र भयंकर जीवन जिउँदै अगाडि बढेको व्यक्ति हुँ । विगत जसरी भोगियो त्यसैले नै मलाई प्रगतिशील र अन्याय विरुद्ध लड्न सक्ने हिरो बनायो।’
मेनुकाले सानै उमेरदेखि समाजलाई बुझ्ने कुरामा कुनै द्विविधा नराखेको कारण पनि आफ्नो अडान सहितको लक्ष्य अगाडि बढाउने प्रेरणा आफैंबाट मिल्यो । उनी भन्छिन्- ‘समाजले आफुलाई जस्तोसुकै नजरले हेरे पनि त्यसलाई सकारात्मक वेवास्ता गर्दै अगाडि बढेपछि मात्रै आफुले चाहेको जीवन जिउन सजिलो हुन्छ । नत्र समाजले त हरेक कुरामा प्रश्न उठाइरहेको हुन्छ। समाजको नकारात्मक सोचलाई चिरेर अगाडि बढ्न सक्नु नै सहि अर्थमा जीवन जिउनु हो।’
आफ्नो जीवनमा आइपर्ने जस्तोसुकै चुनौतीसँग लडेर नै त्यस चुनौतीलाई जित्न सकिने रहेछ भन्ने मेनुकाको बुझाइ छ। मेनुकाले भोगेको समाज अहिलेको समावेशी वा अधिकारको वकालत गर्न सक्ने र विभेदमुक्त समाज होइन । आजभन्दा ४५/५० वर्ष अगाडिको त्यो समाज र घरपरिवार अनि बाहिरी व्यक्तिसँग जुध्न सक्नु नै ठूलो कुरा हो । मेनुकाले आफ्नै समाजमा कुनै सत्य कुरा बोल्दा पनि ‘कम्युनिस्ट’ बनेर ठूलो कुरा गर्ने भईस् समेत भन्थे । कुनै पर्व विशेषमा व्रत नबस्ने, मन्दिर नधाउने वा तीजमा पञ्चमी पुजा नलगाउने कुरालाई पनि समाजले अर्कै नजरले हेरेको सम्झना पनि मेनुकाको मस्तिष्कमा ताजै छ।
खासगरी मेनुकामा क्रान्तिकारी चेत आउनुको कारण पनि गज्जबको छ। उनका दाजु नवराज कुइँकेल पहिल्यैदेखि कम्युनिस्ट स्कुलिङमा थिए । दाजुकै कारण मेनुकाको घर तत्कालीन नेकपा माले र मार्क्सवादी (पछि एकता भएर नेकपा एमाले बनेको)का नेताकार्यकर्ताको आउजाउ बढी हुन्थ्यो । एकातिर मेनुका सानैदेखि कसैले गरेको अन्याय सहन नसक्ने ‘ज्याद्रो’ र अर्कोतिर घरको माहोल पनि त्यस्तै भइदिएपछि उनलाई क्रान्तिकारी र अग्रगामी सोच आउनु स्वभाविक भैदियो।
मेनुकाले आफ्नै घरमा सेल्टर लिएर बसेका र भुमिगत बैठक बस्ने समयमा खाना पकाएर खुवाएका नेताहरू सिपि मैनाली, माधवकुमार नेपाल, केशव बडाल, अमृतकुमार बोहरा लगायतको प्रशिक्षण सुन्ने मौका समेत पाइन् । त्यो प्रशिक्षणमा धेरै कुरा हुन्थे तर मेनुकाको मस्तिष्कमा भने ‘छोराछोरी समान हो’ भन्ने शब्द झ्याप्पै बस्यो। अनि एकदिन घरमा खाना खाएपछि दाजु नवराज कुइँकेलले ‘आफुले खाएको थाल कचौरा आफै धुनुपर्छ’ भन्दै भाँडा माझेर राखे । त्यसपछि मेनुकालाई कम्युनिस्ट साँच्चिकै नैतिकवान् र इमानदार हुन्छन् भन्ने लाग्यो । मेनुका हाँस्दै भन्छिन्- ‘दाजुले आफुले खाएको थाल कचौरा माझ्दा नै कम्युनिस्ट नेताले प्रशिक्षण दिएको बेला भनेजस्तै साम्यवाद आयो जस्तो लाग्ने क्या !’
मेनुकाको जीवनमा जीवनसाथी रोज्ने बेलाको अर्को संयोग पनि त्यस्तै आइदियो। घर नजिकैका छिमेकी जगदीश पौड्याल उनको दाजु नवराजको मिल्ने साथी थिए । जगदीश र नवराज दुवैले कम्युनिस्ट पार्टी रोजेका थिए। उनीहरुको एउटै विचार, सिद्धान्त र आदर्शसँगै गज्जबको मित्रता थियो । त्यस्तैमा जगदीश पौड्याल र मेनुकाको बिचमा पनि बचपनमै मित्रता गाँसियो र पछि मन समेत साटिन पुग्यो। जसले गर्दा नवराज र जगदीशको असल र घनिष्ठ मित्रता पछि पारिवारिक सम्बन्धमा परिणत भयो।
२०३८ जेठ २८ मा जगदीश पौड्यालसंग फूलको गुच्छा आदानप्रदान गरेर मेनुकाले बिहे गरिन् । उनको विवाहको स्वरुप पनि अचम्मको छ। परिवारको साथ, समर्थन र सहयोग भएर पनि उनले आफ्नो विवाहलाई परम्परागत वा जनवादी विवाह के हो भन्ने अझै बुझेकी छैनन् । किनभने उनको विवाह पिक्निक अर्थात वनभोज जस्तो थियो । न सिन्दुर पोते न पण्डित, न जग्गे त कुनै मंच । उनको बिहेमा दुवै परिवारका सदस्य खसी चामल र नुन तरकारी बोकेर गोदावरी पुग्यो र भोज खाएर फर्कियो। सायद त्यसैलाई पारिवारिक जमघट, विवाह समारोह अनि बेहुला पक्ष र बेहुली पक्ष भनियो । गोदावरीबाट फर्किएपछि सबैले बिहे भयो भनेर बसमा समेत जिस्काए । त्यसपछि उनी आफ्नो घर नगएर जगदीश पौड्यालको घरमा गइन् ।
भुमिगत समयमा भएका धेरै घटनालाई देखाएर वा नेताकार्यकर्तालाई सेल्टर दिएको र भात खुवाएको भनेर राजनीतिमा फाइदा लिने थुप्रैलाई मेनुकाले राम्रोसँग चिनेकी छन् । तर, उनी आफुले भने कुनै पनि फाइदा मात्रै नलिएको होइन कि ती दिनमा गरेको सहयोगको समेत चर्चा गर्दिनन् । उनी भन्छिन्- ‘त्यो सबै दु:ख र कष्ट व्यक्तिगत फाइदाका लागि थिएन त्यो देश र जनताको आमूल परिवर्तनका लागि थियो । त्यसैले मैले जे गरें, त्यो सेवाका लागि थियो केहि पाउनका लागि थिएन।’
मेनुकाले नेताको श्रीमती सुत्केरी हुँदा हस्पिटल बसेर कुर्नेदेखि प्रहरीलाई झुक्याएर नेतालाई खाना खुवाउने र उनीहरुका सामान खाल्डो खनेर राखिदिने सम्म काम गरिन् । चन्चले र जिज्ञाशु स्वभाव भएकी मेनुकाले पनि त्यतिबेलाका कम्युनिस्ट दस्तावेज र पार्टी सर्कुलर अनि विदेशी लेखकका किताब भने मज्जैले अध्ययन गरिन् । ती दिन सम्झँदै मेनुका भन्छिन्- ‘कतिपय किताब पढेर पुनः खाल्डो खनेर पुरिदिन्थें । त्यसमा पनि नयाँ (आलो) माटोले पुर्दा थाहा होला भनेर त्यसलाई फेरि अर्को माटोले छोपेर जोगाउँथें।’
उनी भन्छिन्- ‘सायद त्यसैले पनि मलाइ समाजको वर्गीय विभेद विरुद्ध लड्न सिकायो र अनुशासनमा बस्न अनि अन्याय विरुद्ध बोल्न सिकायो ।’ तर, मेनुकालाई अहिलेको राजनीति र नेताका व्यवहार देख्दा चाहिँ चित्त दुखेको छ। उनी भन्छिन्- ‘त्यो बेला ज्यान दिन तयार भएर हिँड्ने साथीहरू अहिले दिन केही पनि खोज्दैनन, सबै आफैंले लिन मात्रै खोज्छन् ।’ २०३७ सालतिर चितवन मामाघर जादा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेको स्मरण गर्दै मेनुका भन्छिन् -‘रातको समय दाइ दिदीले लगेको र चिनाएको व्यक्ति नै अहिलेका प्रचण्ड रहेछन् ।’