प्रचण्ड,गगन,बालेन र रविले आफैंलाई दिंदैनन् भोट

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा केही  शिर्ष नेताहरूले आफैंलाई भोट दिन नपाउने भएका छन् । जसमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति गगन थापासम्मले आफैंलाई भोट दिने छैनन् ।

हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गरिरहने नेकपा संयोजक प्रचण्ड यसपटक रुकुम पूर्वबाट उम्मेदवार छन् । तर, उनको मतदाता नामावली भने चितवनको भरतपुर-१४ मा छ। त्यसैगरी कांग्रेस सभापति गगन थापाको मतदाता नामावली काठमाडौं-४ मा छ। तर, उनी सर्लाही-४ बाट उम्मेदवार छन् । उनले पनि यसपटक आफुलाई मत दिन पाउने छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि उम्मेदवारी दिएको र मतदाता नामावली रहेको जिल्ला नै फरक छ। उनको मतदाता नामावली काठमाडौंमा छ तर, उम्मेदवार भने चितवन-२ बाट छन् । त्यसैले उनले पनि आफैंलाई भोट दिन पाउदैनन् । रास्वपा वरिष्ठ नेता बालेन साहको पनि त्यस्तै छ। उनी झापा-५ बाट उम्मेदवार छन् तर,भोट दिने चाहिँ काठमाडौं गैरीगाउँमा हो।

रास्वपा उपसभापतिद्वय डिपि अर्याल र स्वर्णिम वाग्लेको पनि व्यथा उस्तै छ। डिपि अर्यालको नाम धादिङ-२ मा छ तर,उम्मेदवार काठमाडौं ९ मा छन् । त्यस्तै स्वर्णिम वाग्ले तनहुँ १ बाट उम्मेदवार छन् । उनको नामावली त्यहाँ छैन। उनको जन्मस्थल गोरखा १ को लखनथापा गाउँपालिका बुङ्कोट हो । त्यसैगरी नेकपा नेता नारायणकाजी श्रेष्ठले पनि आफुलाई मत दिन पाउने छैनन् । गोरखा-१ का मतदाता उनी सर्लाही-३ बाट उम्मेदवार छन् ।

पत्रकार एवं आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले पनि यसपटक आफैं उम्मेदवार भएर पनि आफैंलाई मत हाल्ने छैनन् । उनी रौतहट-४ बाट उम्मेदवार छन् तर, मतदाता नामावली धादिङ-२ मा छ। पूर्व आइजिपी शर्वेन्द्र खनाल बारा-४ बाट उम्मेदवार छन् तर,उनको पनि नामावली तनहुँमा छ।

त्यस्तै पूर्वप्रधानमन्त्री मध्य शेरबहादुर देउवा,डा.बाबुराम भट्टराई,झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द भने यसपटक उम्मेदवार नै छैनन् । बाबुराम भट्टराईको नामावली पालुङटार-१ गोरखामा छ । उनी भोट दिन गोरखा जाने तयारीमा छन् । तर,डडेलधुराका देउवा भने भोट दिन नजाने भएका छन् । उनी देश बाहिर (सिङ्गापुरमा) उपचाररत छन् ।   उता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल भने आफ्नै गृहजिल्लामा उम्मेदवार छन् । ओली झापा-५ र नेपाल रौतहट १ बाट उम्मेदवार छन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय