जिल्लामा पुर्‍याइयो मतपत्र

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको मतपत्र नेपाली सेनाको स्कर्टिङमा जिल्लाहरूमा पठाउने काम भैरहेको छ । मंगलबार सम्ममा ७० जिल्लामा मतपत्र पुगिसकेको र बाँकी ७ जिल्लामा आज साँझसम्म पुगिसक्ने छ।

निर्वाचन आयोगका अधिकृतहरूले दिएको जानकारी अनुसार अब काठमाडौं नजिकैको ४ जिल्ला र तराईको ३ जिल्लामा मात्रै मतपत्र पुर्‍याउन बाँकी छ। भक्तपुरको सानोथिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइस्थलको सुरक्षा सेनाले गरेको छ । मतपत्र ढुवानीको स्कर्टिङ पनि सेनाले नै गरेर जिल्लाहरूमा पठाउने काम भइरहेको हो।

निर्वाचन आयोगले मतपत्रबाहेक अन्य निर्वाचन सामग्री पनि अधिकांश जिल्लामा पठाइसकेको छ । निर्वाचन सामग्री ढुवानीको स्कर्टिङ सशस्त्र प्रहरी बलले गरिरहेको छ । ७७ वटै जिल्लामा निर्वाचन सामग्री पुगेको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले बताए ।

निर्वाचन सामग्री सदरमुकाममा पुगे पनि उच्च हिमाली जिल्लामा चिसोका कारण कसरी ढुवानी गर्ने भन्नेबारे मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा छलफल भएको थियो । हुम्ला, डोल्पा, मुगु र मनाङस्थित उच्च हिमाली क्षेत्रमा चिसोका कारण ढुवानीमा समस्या रहेको छलफल भएको हो। चार वटा जिल्लामा मतदाता र सुरक्षाकर्मीहरू समेत चिसो छल्न बेसी झरेका छन् । चिसो मौसमको प्रभाव रहेका जिल्लामा हेलिकप्टरबाट निर्वाचन सामग्री र जनशक्ति पठाउनेबारे आयोगले छलफल गरिरहेको छ ।

निर्वाचनअघि तराईमा परेको होली र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाका कारण निर्वाचनमा सुरक्षामा चुनौती देखिन सक्ने आकलन गरिएको छ । फागुन १९ मा तराईमा होली पर्व मनाइँदै छ । जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलामा भारतको सीतामढीबाट हिँडेर हजारौँ मानिस जानकी मन्दिरमा आएर फागुन १८ मा फर्किन्छन् । सो परम्परा र होलीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे आयोगलको उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय