रमेश अर्याल भन्छन्- ‘काठमाडौं-३ का जनताको सुखदुःखको साथी मै हुँ’

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ मा प्रतिनिधि सभा उम्मेदवार रहेका रमेश अर्यालले यस क्षेत्रका जनताको ‘सुखदुःखको साथी’ आफू नै भएको बताएका छन् । उनले आफू  सत्ता र शक्तिको लागि भन्दा पनि जनताको आवाज बोल्न संघीय चुनावमा प्रतिस्पर्धा गरिरहेको पनि बताए।

फागुन २१ को निर्वाचनका निम्ति चुनावी घरदैलोमा जुटिरहेका रमेश अर्यालले कागेश्वरी नगरपालिका अन्तर्गत आलापोटमा ‘परेवान्युज’ प्रतिनिधिसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।’म यहीँ गोकर्णेश्वर-६ अर्याल गाउँमा जन्मे हुर्केको ब्यक्ति हुँ, त्यसैले यहाँको समस्या,जनताको अपेक्षा र यहाँको भूगोल मैले राम्रोसँग बुझेको छु’ उनले भने-,’हिजो पनि जनतासँगै थिएँ र आजपनी जनतासँगै भएर जनताकै काम गर्न प्रतिबद्ध छु। त्यसैले मेरो उम्मेदवारी यही क्षेत्रको विकास र जनसेवाको लागि हो।’

उनले चुनावी प्रतिस्पर्धामा कस्तो परिणाम ल्याउने भन्ने कुरा जनताको हातमा रहेको र जनताले मतदान मार्फत गर्ने फैसला नै अन्तिम हुने पनि सुनाए।’म त हिजो पनि जनप्रतिनिधि भएर जनताकै काम गरेर आएको हुँ । आजपनी जनताकै काम गर्न र सुखदुःखमा सँगै हुन संघीय संसदको उम्मेदवार भएको छु’,-अर्यालले भने-‘हिजो स्थानीय सरकारमा बसेर काम गर्दा यहाँका जनताले भोग्नुपरेका समस्या र अफ्ट्यारोलाई राम्रोसँग बुझेको छु। त्यही कुरा संसदमा आवाज उठाउन र निति निर्माणमा प्रत्येक्ष सहभागी भै जनताकै निम्ति परिणाममुखी काम गर्न चाहेको छु।’

कागेश्वरी पुग्नु अघि कामपा वडा नम्बर-६ र गोकर्णेश्वर नगरपालिका भित्रका धेरैजसो ठाउँमा घरदैलो सकेर आएको बताउँदै उनले भने-‘मलाई चुनाव प्रचारप्रसारको क्रममा यहाँका स्थानीयको यति धेरै साथ र सहयोग पाउँदा साच्चिकै जनताको साथी बनेको अनुभूति भएको छ। यो कुराले मलाई अझै हौसला र उर्जा थपेको छ। म प्रती जनताले जुन आशा र भरोसा गर्नुभएको छ म उहाँहरुलाई निरास बनाउँदिन।’

परेवान्युजले उनलाई जनताको मन जितेर मत पाउने आधार के हो ? भनेर प्रश्न गरेका थियौं । उनने त्यसको पनि सहज उत्तर दिए। ‘पहिलो कुरा त म एक्लै चुनाव लडिरहेको छैन, म सँग मेरो पार्टी नेपाली कांग्रेस, मलाई माया गर्ने स्थानीय आमाबुबा दाजुभाइ र दिदीबहिनीको साथ मलाई छ। दोस्रो कुरा हिजो म आफैं पनि जनप्रतिनिधि भएर काम गरेको र मेरो पार्टीका अग्रज नेताहरूले पनि यो क्षेत्रमा वडा अध्यक्ष,मेयर,प्रदेश र संघीय सांसद भएर धेरै कामहरू गर्नुभएको छ। कति काम पूरा भैसके र कतिपय काम पूरा हुनेक्रममा छ। ती सबै कामको निरन्तरता सहित जनताको अबको आवश्यकता र अपेक्षा पूरा गर्न म आएको छु। त्यसैले हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिले हिजो र आज गरेका कामको सकारात्मक प्रभाव र भोलि पनि जनतासँगै हातेमालो गरेर अगाडी बढ्ने मेरो बाचा,भरोसा र अठोट नै मेरो जित्ने आधार हो।’

त्यसोभए तपाईं जित्नेमा आशावादी हुनुहुन्छ होइन त ? हामीले यो प्रश्न गरेपछि रमेशले भने-‘आशावादी मात्रै होइन ढुक्क छु। हेर्नुस् यो चुनाव हो,यहाँ जनताको फैसला अन्तिम हुन्छ। फेरि म जस्तै अन्य धेरै साथीहरू पनि यहाँ प्रतिस्पर्धा गरिरहनु भएको छ। तर, म के कुरामा ढुक्क छु भने यहाँका जनताले मलाई हराउँन होइन जिताउन लागिपर्नु भएको छ। जुनकुरा मैले घरदैलो गर्दा नै देखिरहेको छु। उहाँहरुले आफ्नै भाइ छोरा भोट माग्न आएछ भनेर मलाई जुन माया र सद्भाव दिइरहनु भएको छ नि हो त्यै मेरो लागि आशीर्वाद हो र जित्ने आधार हो।’

यो क्षेत्रमा अन्य उम्मेदवारको अवस्था कस्तो देख्नुहुन्छ ? यो प्रश्नको उत्तर चाहिँ  रमेशले अझै कुटनितिक तरिकाले दिए। उनले भने-‘अन्य पार्टी वा उम्मेदवारका बारेमा मैले भन्दा पनि तपाईं संचारकर्मीले र स्थानीय मतदाताले मूल्यांकन गर्दा राम्रो हुनेछ। उहाँहरु पनि जनतासँगै मत माग्दै हुनुहुन्छ । उहाँहरुको ब्यक्तिगत छवि,पार्टीको काम वा जनतासँगको सम्बन्ध कस्तो छ भनेर मैले भन्ने होइन। त्यसमाथि मेरो आफ्नै एजेन्डा छ, स्थानीय भएकोले कस्तो छ ? गर्न सक्छ कि सक्दैन ? परेको बेला भेट्न सकिन्छ कि सकिदैन ? सबैकुरामा जनाले मलाई बुझ्नुभएकै छ। त्यसैले मैले मेरो अवस्था भन्ने हो, मेरो अवस्था भनेको सबैको माया पाएको छु अब २१ गते मत पनि पाउँछु र जित्छु।’

यहाँका जनताको अपेक्षा के रहेछ ? यो प्रश्नमा पनि रमेशले जनअपेक्षा अनुसार कै उत्तर दिए। उनले भने-‘यो क्षेत्र गाउँ पनि र शहर पनि हो। यहाँ कृषक पनि र उद्योगी व्यापारी पनि बसोबास गर्छन् । मैले भन्न खोजेको ठाउँ अनुसार स्थानीयको अपेक्षा फरकफरक हुन्छ। तर,समग्रमा भन्दा सबैको आशा र अपेक्षा भनेको शिक्षा,स्वास्थ,खानेपानी,ढल ब्यबस्थापन,फोहोरमैला यस्तै यस्तै हुन् । तर,अहिले जनताले आफ्ना लागि विकास मात्रै खोजेका छैनन् देशमा स्थिरता पनि खोजेका छन् । मैले घरदैलोका क्रममा भेटेका कतिपयले देशमा राजनीतिक स्थिरता र शान्तिपूर्ण वातावरणमा बाँच्ने अनि स्वदेशमै केही गर्छु भन्नेलाई राज्यको तर्फबाट सुरक्षाको ग्यारेन्टी खोजेको पाएँ। यो कुरालाई मैले पनि महसुस गरेको थिएँ,अब म संसदमा जनभावना अनुसारका यी र यस्तै कुरालाई प्राथमिकतामा राखेर आवाज उठाउने छु। त्यसैले त मैले भनेको छु, चुनावी नतिजाले सत्ता र शक्ति भन्दा पनि जनताको सुखदुःखको साथी बन्ने मेरो चाहना पूरा हुने अपेक्षामा छु।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय