काठमाडौं मै ३ सिट जित्ने उज्यालोको दाबी

काठमाडौं । पूर्वमन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले काठमाडौं उपत्यकाबाट कम्तीमा ३ सिट जित्ने दाबी गरेको छ। यद्यपि यो संख्या अझै बढ्ने उज्यालोको बुझाइ छ।
उज्यालो नेपालले काठमाडौं-३ बाट पार्टी अध्यक्ष कुलमान घिसिङलाई उम्मेदवार बनाएको छ। यहाँ नेपाली कांग्रेसले रमेश अर्याल र एमालेले वाग्मती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाललाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भने काठमाडौं महानगरका पूर्वप्रहरी प्रमुख एवं बालेन साहका विश्वासपात्र राजुनाथ पाण्डे र नेकपाले निरज लामालाई उम्मेदवार बनाएको छ।
चुनाव आउन ४ दिन मात्रै बाँकी हुँदा पनि उज्यालो नेपाल,नेपाली कांग्रेस र एमालेले मात्रै प्रचारप्रसारलाई व्यापक बनाएका छन् । रास्वपाले प्रचारप्रसार गरेपनी उम्मेदवारको प्रभाव खासै नभएकोले जित्ने आशा गरेको छैन। यो क्षेत्रमा उज्यालो नेपाल सहित कांग्रेस र एमाले बीच नै प्रतिस्पर्धा हुने देखिन्छ।
उज्यालो नेपालले काठमाडौं ३ लाई पनि जित्ने सूचीमा राखेको छ। त्यसैगरि ललितपुर-२ नम्बर क्षेत्र र काठमाडौं ९ पनि जित्ने उज्यालोको बुझाइ छ। काठमाडौं ९ मा रामेश्वर श्रेष्ठ र ललितपुर-२ मा अभियन्ता राजाराम तण्डुकार उम्मेदवार छन् । स्रोतका अनुसार यी बाहेक पनि उज्यालो नेपालले अन्य केही क्षेत्रलाई जित्ने प्रयास गरिरहेको छ। जुन कुरालाई हल्ला नगरी नतिजा हत्याउने योजना मानिएको छ।
उज्यालो नेपालले रवि लामिछाने नेतृत्वको रास्वपा र बालेन साहसँग एकता गरेर पनि केही दिनमै छुट्टीएर एक्लै चुनावमा होमिएको हो। रास्वपा नेतृत्वबाट धोका पाएकोले उज्यालोले प्रत्येक्षमा आफ्नै चुनाव चिन्ह पाए पनि समानुपातिकमा भने बाँसुरी चुनाव चिन्ह लिनुपरेको छ।

