काठमाडौं-३ का रमेश अर्यालले सार्बजनिक गरे ‘बाचा,भरोसा र अठोट’

काठमाडौं । फागुन २१ को निर्वाचनलाई लक्षित गरि राजनीतिक दलहरूले घोषणा-पत्र,बाचापत्र र प्रतिज्ञा पत्र सार्वजनिक गरेसँगै दलका उम्मेदवारले पनि आ-आफ्ना योजनाहरु सार्बजनिक गरिरहेका छन् ।
यस्तैमा काठमाडौं ३ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका रमेश अर्यालले पनि आफ्नो निर्वाचन क्षेत्रका विविध बिषय समेटेर ‘बाचा,भरोसा र अठोट’ भन्दै १० बुँदे बाचापत्र सार्वजनिक गरेका छन् । उनले शिक्षा,स्वास्थ, कृषि,पर्यटन,भौतिक पूर्वाधार र खानेपानी जस्ता कुरालाई समेटेर ल्याएको अठोट पत्रको शारांश यस्तो छ ;-

१.नेपाली कांग्रेसले भन्दै आएको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अभियान अन्तर्गत दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानी मुक्त सेवा प्रवाहसँगै अग्रज
पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयत्नबाट तपाईं हाम्रो सपना साकार पार्न म प्रतिबद्ध छु। युवाशक्तिलाई शासन र विकासका साझेदार बनाउने, उज्यालो भविष्य खोज्ने नवयुवाले परिवारसँग रमाउँदै मर्यादित र आकर्षक अवसर
पाउने कुराको ग्यारेन्टीका लागि संसदमा मेरो उपस्थिति रहनेछ।संसारभर छरिएका नेपालीको ज्ञान, सिप र पुँजीवृद्धि गरि रोजगारीका अवसर दिलाउन यस क्षेत्रका जनतासँगै हातेमालो गर्दै अघि बढ्ने छु । हामी सबै मिलेर जीवन्त देश बनाउने हो, त्यही अठोट सहित यस क्षेत्रलाई पनि सोही बाटोमा डोहोर्याउन म पुर्ण प्रतिबद्ध रहनेछु।
२.गर्भावस्थादेखि वृद्धावस्थासम्मका नागरिकका स्वास्थ्यलाई मौलिक अधिकार ठानेर खर्चको अभाव नहुने र भयरहित वातावरणमा उपचार एवं औषधिको ग्यारेन्टी गर्ने कुरामा मेरो साथ रहनेछ। रोग लाग्ने बित्तिकै अस्पतालको शुल्क कसरी तिर्ने ? भन्ने भय र त्रासदीबाट मुक्त हुन म आफैंले सहजीकरणको पहल गर्नेछु। यस क्षेत्रमा बसोबास गर्ने सबै नागरिकका परिवारलाई औषधि र अस्पतालको सेवा बारे जानकारी हुनुपर्छ। अहिले गोकर्णेश्वर नगरपालिकाले स्वास्थ क्षेत्रमा गरेको उदाहरणीय कार्यलाई आत्मसात गर्दै क्षेत्रभर स्वास्थ्य बिमा,जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ सेवा र औषधि जस्ता कुरा मेरो प्राथमिकता हुनेछ।
३. छोराछोरी पढाउन जुन आर्थिक भार नागरिकले ब्यहोर्नुपरेको छ, त्यसलाई राज्यको पनि दायित्व हो भन्ने कर्तव्यबोध गराउनु र तपाईंको नानिबाबुको शिक्षामा सरल र सहज पहुँच पुर्याउन आवश्यक मेरो तर्फबाट ठोस कदम चाल्नेछु । बालबालिकाले आर्थिक अभावले पढ्न नपाउने कुराको अन्त्य सँगै विद्यालयको भौतिक संरचना, तालिम र गुणस्तरीय शिक्षाका लागि राज्यलाई दबाब बढाउन म प्रतिबद्ध छु।
४.बेथिति र हैरानी मुक्त विधिको शासन भएको नेपाल तपाईं हामी सबैको चाहना हो। स्थानीय स्तरमा झन्झटिलो र पट्यारलाग्दो सेवालाई छिटोछरितो कसरी बनाउन सकिन्छ भन्नेमा म पनि चिन्तित छु। सरकारी सेवाका ढोका सबैका लागि समान हुन् । वडा तहदेखि नगरपालिकासम्म होस् अथवा राज्यका संवैधानिक निकाय, अदालत,प्रहरी र प्रशासन जस्ता संस्थामा यस क्षेत्रका नागरिकको समान पहुँच पुर्याउन म प्रतिबद्ध छु।
५.यसक्षेत्रका ऐतिहासिक,सांस्कृतिक,धार्मिक र मानव निर्मित संरचनालाई संरक्षण र सम्बर्द्धन गर्दै सबै जातजाति, उनीहरूको भाषा,धर्म, परम्परा,संस्कृति, कला र रीतिरिवाजहरूको सम्मान र संरक्षणका लागि म प्रतिबद्ध रहनेछु। विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको बौद्ध स्तूप,गोकर्ण मन्दिर,उत्तरगया र कागेश्वरी धाम संगै शिवपुरी धाप ड्याम, विपि संग्रहालय,तारेभिर जस्ता धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासमा हातेमालो गर्नेछु ।
६.गोकर्णेश्वर र कागेश्वरीका कृषीयोग्य भूमिलाई उच्चतम प्रयोग गरि यस क्षेत्रका किसानसँग हातेमालो गर्ने, आधुनिक कृषि प्रणाली मार्फत कृषक पहिचान र रोजगारी एवं स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण गर्ने अवसर दिलाउन म प्रतिबद्ध हुनेछु । यसक्षेत्रको उत्पादनलाई विश्व बजार सम्म ‘ब्राण्ड’ बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई आवश्यक साथ दिन म प्रतिवद्ध छु।कृषकको लागि सहुलियतपूर्ण कृषि ऋण, अर्गानिक खेतीलाई प्रश्रय, पशुपालन र कृषि बिमालाई प्रोत्साहन अनि मल तथा बिउ बिजनको लागि सरोकार पक्षसंग समन्वय र सहकार्य गर्नेछु
७.भौतिक पूर्वाधारको बिकासका लागि यस क्षेत्र भित्रका आवश्यकतालाई पहिचान गर्दै प्राथमिकताको आधारमा काम गर्नेछु । यस क्षेत्र भित्रका सडक, खानेपानी, बिजुली, ढल, विद्यालय,अस्पताल र सामुदायिक भवन लगाएतको भौतिक संरचना निर्माणमा केन्द्र, प्रदेश र स्थानीय सरकार बीच समन्वय र सहकार्य गरि नीति निर्माण र कार्यान्वयन गरिनुपर्ने कुरा म प्रतिनिधि सभामा जोडदार ढंगले उठाउन र कार्यान्वयन गराउन प्रतिवद्ध छु ।
८. यस क्षेत्रलाई पर्यटन र साहसिक खेलको माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने र पर्यटन मार्फत आय-आर्जनको प्रमुख स्रोतको रुपमा बिकास गर्नेछु। नेपाल आउने पर्यटकलाई गोकर्ण मन्दिर,सुन्दरीजल,मणिचुड हुँदै धापड्याम,कागेश्वरीधाम लगायत ठाउँमा लगेर बसाई लम्ब्याउन सकिन्छ। खेल पर्यटन, इको टुरिजम,साइकिल ट्रेलको लागि पनि पहल गर्न प्रतिबद्ध छु।
९. नवयूवा तथा महिलाको हकमा पूर्ण स्वरोजगार बनाउने अभियान स्वरुप उद्यमशिल तालिम, क्षमता वृद्धि र अभिमुखिकरणका साथमा सीप सिकेर स्वदेशमै उद्यम गर्न चाहनेका लागि आवश्यक पहल गर्नेछु। त्यसका लागि स्थानीय उत्पादन र यहीँका कच्चापदार्थ प्रयोग गरि घरेलु उद्योग संचालन गर्ने वातावरण मिलाउन प्रतिबद्ध छु।
१०.‘स्वच्छ र सफा वाग्मती’ भन्ने कुरालाई नारामा मात्रै सिमित नराखी वाग्मती नदिलाई सधैं स्वच्छ राख्न धापड्यामको ताल र मेलम्ची खानेपानीको स्रोतबाट केही पानी वाग्मतीमा मिसाइ प्रदुषण मुक्त बनाउन पहल गर्नेछु। त्यसैगरी वातावरण जोगाउन र यहाँ उत्पादित फोहोर एवं प्लास्टिकजन्य सामाग्रीलाई पनि पुनः प्रयोग गरि उत्पादन र रोजगारीसँग जोड्न प्रयत्न गर्नेछु।

