निर्वाचनमा शिर्ष नेता : थोरै ‘डर’ धेरै ‘त्रास’ !

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सबैजसो दलका शिर्ष नेतृत्व चुनावी नतिजा आफ्नो पक्षमा आउला कि नआउला भन्ने त्रासमा मैदानमा छन् । अरुको अगाडि देखाउन नहुने तर, आफैंभित्र डर र त्रासमा शिर्ष नेता भएपछि कार्यकर्ता भने झन् निरास देखिएका छन् ।
पुराना भनिएका पार्टीका शिर्ष नेता मात्रै होइन नयाँ र वैकल्पिक भनिनेको अवस्था पनि उस्तै छ। यसपटक देखिनेगरी कसैले कसैसँग गठबन्धन नगरेका कारण ‘पराजित हुने’ डर प्रायः सबैलाई छ। यद्यपि भाषणमा चाहिँ जितिसकेको जस्तो गरेपनी नतिजाको डरले कसैको पनि मुहार उज्यालो छैन । बुढेसकालमा पनि सत्ता र शक्तिका लागि चुनावी मैदानमा ओर्लिएका नेताहरू घरदैलोको नाममा दैनिक हिंडाई र थकाइ भोगिरहेका छन् ।
खासगरी यसपटक केही नेताको चुनाव क्षेत्रमा दलको मात्रै होइन मतदाताको पनि निकै चासो बढेको देखिन्छ । पूर्वको झापा-५ र झापा-३ देखि सुनसरी-१,सर्लाही-४,रौतहट-१,चितवन-२, काठमाडौं-३,रुकुम पूर्व र रुपन्देही-२ अनि दाङ-२ लाई बढी चासोपूर्वक हेरिएको छ। यसैगरी चितवन-३, सप्तरी-२ र सप्तरी-३, धनुषा-३, सर्लाही-३,मोरङ-६, तनहुँ-१,काठमाडौं-५ र धादिङ-१ पनि चासोका क्षेत्र हुन् । जहाँ दलका अध्यक्ष,संयोजक र शिर्ष नेतृत्व चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुको हारजितले भावी प्रधानमन्त्रीदेखि मन्त्री हुनेको पनि भाग्यको फैसला गर्नेछ।
झापा-५ मा यसपटक पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा बरिस्ठ नेता एवं काठमाडौं महानगरका पूर्व मेयर बालेन साहले टक्कर दिइरहेका छन् । यी दुबैलाई जुधाएर नेकपा उम्मेदवार रन्जित तामाङ पनि जित्ने आशामा छन् । यहाँको चुनावी भिडन्तले एकजना भावी प्रधानमन्त्रीलाई आउट गर्नेछ। एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्री घोषणा नै गरेर चुनावी दौडमा लागिरहेका छन्।
त्यसैगरी झापा-३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् । यसभन्दा अगाडि एमालेसँग गठबन्धन गरेर जित्दै आएका लिंदेन यसपटक एक्लै भिड्दैछन् । झापा-२ मा पनि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना आमने सामने छन् । उनीहरुलाई राप्रपाका स्वागत नेपालले टक्कर दिइरहेका छन् ।
सर्लाही-४ मा कांग्रेस सभापति गगनकुमार थापा मैदानमा छन् । काठमाडौं-४ छाडेर तराई झरेका सभापति थापालाई कांग्रेस कै पूर्व नेता अमरेशकुमार सिंहले रास्वपा मार्फत टक्कर दिइरहेका छन् । यहाँको चुनावी भिडन्त पनि रोचक छ। सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साङ्पाङ) चुनावी मैदानमा छन् । पार्टी अध्यक्ष नै मैदानमा उत्रिएपछि पार्टीको साख जोगाउन पनि यहाँ श्रम संस्कृति पार्टीलाई चुनौती नै छ।
हर्क साङ्पाङ जस्तै नयाँ पार्टी खोलेर चुनावी मैदानमा उत्रिएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं -३ मा उम्मेदवार छन् । त्यसैले यो क्षेत्र पनि सबैको नजर परेको क्षेत्र हो। यहाँ कांग्रेस र एमाले बीच टक्कर हुने भएपनी कुलमानको उपस्तिथितिलाई मतदाताले कसरी लिन्छन् हेर्न बाँकी छ। कांग्रेसका रमेश अर्याल र एमालेका रामेश्वर फुयाललाई प्रतिस्पर्धामा पछि पार्न कुलमानलाई चुनौती नै छ । काठमाडौं-५ मा एमाले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,कांग्रेस महामन्त्री प्रदीप पौडेल र राप्रपा नेता कमल थापा चुनावी मैदानमा छन् । यहाँ पनि शिर्ष नेताकै बिचमा टक्कर हुँदा दुई नेता बाहिरिने पक्का छ। कसले कसलाई पछि पार्छ हेर्न बाँकी छ।
उता सुरक्षित निर्वाचन क्षेत्र खोज्दै रुकुम पूर्व पुगेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि जितमा ढुक्क छैनन् । यहाँ प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सहिद पुत्र सन्दिप पुनले प्रचण्डलाई टक्कर दिइरहेका छन् । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा मैदानमा छन् । रुकुम पूर्वमा प्रचण्डलाई हराउने देखि पश्चिममा आफुले जित्नैपर्ने दबाब उनिमाथी छ। त्यसैले जनार्दन पनि आफ्नो जितप्रती ढुक्क छैनन् ।
नेकपाकै सह-संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको अवस्था पनि उस्तै छ। रौतहट-१ बाट उम्मेदवार रहेका नेपाललाई सद्भावना पार्टी छाडेर कांग्रेस पसेका अनिल झाले टक्कर दिइरहेका छन् । यहाँ नेपाल र झा बाहेक एमाले नेताले पनि बलियो मत ल्याउने अनुमान गरिएको छ। त्यसैले जित्नेमा माधवकुमार नेपाल पनि धरमर छन् । धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधि र रास्वपा नेता मनिष झा संगै एमाले नेतृ जुलि महतो चुनावी मैदानमा छन् ।
उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि जितमा ढुक्क छैनन् । चितवन-२ बाट उम्मेदवार रहेका रविलाई कांग्रेस नेतृ मिना खरेलले चुनौती दिइरहेकी छिन् । सहकारी प्रकरणमा करोडौं धरौटी र बिगो बुझाएर निस्केका रवि लामिछानेले यसअघि सहज जित हातपारेको चितवन-२ यसपटक गाह्रो देखिएको छ। यसपटक चितवन-३ मा पनि सबैको नजर परेको छ । यहाँ भरतपुर महानगर मेयर छाडेर मैदानमा पुगेकी प्रचण्ड पुत्री रेनु दाहाल र काठमाडौं-२ छाडेर चितवन पुगेकी रास्वपा नेतृ सोबिता गौतम बीच कडा टक्कर छ। उता रुपन्देही-२ मा पनि एमाले नेता बिष्णु पौडेललाई यसपटक गार्हो छ। पौडेललाई नेकपा युवा नेता सुभाष (विश्वदिप) पाण्डे र रास्वपा उम्मेदवार सुलभ खरेल संगै नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा र स्वतन्त्र डा.निकोलस भुषालले टक्कर दिइरहेका छन् ।
उता एमाले महासचिव शंकर पोखरेल पनि दाङमा रेड जोनमा छन् । उनलाई जिताउन एमाले नेतृत्वले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सहकार्य गरेको छ। यद्यपि पोखरेल ढुक्क छैनन् । यहाँ रास्वपा नेता विपिन आचार्य मैदानमा टक्कर दिन पुगेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई नहार्ने वातावरण बनाउन जुनसुकै कसरत जारी राखेका छन् ।
जनमत पार्टी अध्यक्ष सिके राउत पनि आफ्नै निर्वाचन क्षेत्रमा यसपटक रेड जोनमा परेका छन्। गत निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएको सप्तरी-२ बाट यसपटक पनि उम्मेदवार रहेका राउतलाई मधेशी दल र कांग्रेस-एमाले सबैतिरबाट चुनौती छ। यसपटक उनलाई आफ्नै पूर्व सहकर्मीबाट बढी खतरा छ। जनमत बाटै मधेस प्रदेशको मुख्यमन्त्री बनेका शतिस सिंह यसपटक सिके राउतको टाउको दुखाई बनेका छन् ।
उता,सर्लाही ३ मा नेकपा नेता नारायणकाजी श्रेष्ठ पनि जित्ने कुरामा ढुक्क छैनन् । मोरङ-६ मा कांग्रेस नेता डा.शेखर कोइराला,धादिङ-१ मा राजेन्द्रप्रसाद पाण्डे, लमजुङमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, तनहुँ-१ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले,काठमाडौं-९ मा रास्वपा उपसभापति डिपि अर्याल,गोरखा-१ मा नेकपा नेता हरि अधिकारी र गुल्मीमा कांग्रेस नेता चन्द्र भण्डारी समेत चुनाव जित्नेमा ढुक्क छैनन् ।

