बिरामी बोकेको विमान दुर्घटना,सबैको मृत्यु

काठमाडौं । भारतको झारखण्डमा विमान दुर्घटना हुँदा बिरामी सहित सबैको मृत्यु भएको छ।
सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो। चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीको रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी ९० (भिटी-एजेभी) विमान दुर्घटना भएको हो।
विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए। दुर्घटनामा सातै जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार विमान साँझ ७ बजेर ११ मिनेटमा राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो।
कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित गरेपछि मौसमका कारण मार्ग परिवर्तन (डिभिएसन) को अनुरोध गरिएको थियो। तर साँझ ७ बजेर ३४ मिनेटमा वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको सञ्चार र रडार सम्पर्क एकाएक विच्छेद भएको थियो।
कोलकातासँग सम्पर्क टुटेपछि विमान वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्कमा आएको थिएन। वाराणसी रडार रिप्ले परीक्षण गर्दा अन्तिम रडार सम्पर्क साँझ ७ बजेर २२ मिनेटमा देखिएको बताइएको छ।

