जेन-जी आन्दोलन पश्चात लैंगिकताको सवाल

विमला दास

भनिन्छ, अति सर्वते वर्जित ( कुनैपनि कुराको अति सबै ठाउँमा वर्जित हुन्छ) अतिले खती अर्थात क्षति पनि गर्छ भन्ने उखानै छ।

गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनले जन्माएको अपत्यारिलो घटना नेपाल र नेपालीका लागि अप्रत्याशित, अकल्पनीय र अविश्वसनिय छ । जुन सत्तामा बस्नेले मात्रै होइन सत्तामा जान खुट्टा उचाल्दै गरेकाले समेत कल्पना नगरेको उथलपुथल थियो।

जेन-जी पुस्ताले सामाजिक संजाल बन्द नगर अनि भ्रष्टाचारको अन्त्य गरेर सुशासन देउ भन्दै प्रदर्शन गरेको ठाउँमा राज्यको दमन र त्यसपछि मच्चिएको वितण्डामा देखिएका दृश्य अवश्य पनि सबैका लागि अकल्पनिय, अविश्वसनिय तथा अविश्मरणिय छ । दुई दिने आन्दोलनको ३६ घण्टामा स्कुल, कलेजको पोशाकमै जुलुस प्रदर्शनमा सहभागी भई महिला, पुरुष तथा अन्यको सहभागिता लैंगिक समानता भन्ने यन्त्रकै कडीभित्र रहेको देखिन्थ्यो । हुन पनि हो, स्वस्फुर्त निक्लेको जुलुस वा प्रदर्शन र सभा आदिमा समानताको आभास हुन्छ,किनभने त्यहाँ सबैको एउटै लक्ष्य हुन्छ जिम्मेवार निकायबाट समसामथिक मुद्दाको सम्बोधन गराउनु ।

तर,जब मुद्दा शक्तिसंग आबद्ध हुन जान्छ, लिंग सम्बद्ध लैंगिकतामा ठोक्किन गई शारिरीक, मानसिक तथा सामाजिक संस्कार, मान्यताले उब्जाएका परिस्थितिजन्य भिन्नता देखाई असमानताका स-साना छिद्रहरु देखिन थाल्छन् ।

सामाजिक सांकृतिक अर्थमा लैङ्गिक (जेन्डर) वा सामाजिक लिंग समाजले बनाएको पहिचान हो। जसले समाजमा पुरुष र महिलाको भुमिका, जिम्मेवारी, अवसर र अपेक्षाहरुलाई निर्धारण गर्छ । लिंगको आभारमा महिला र पुरुषको छुट्याइएको भुमिका, व्यवहार, अधिव्यक्ति तथा सम्पुर्ण व्यक्तित्वमा झल्किने भिन्नतालाई सामाजिक लिंग भन्ने बुझिन्छ । जसअनुसार महिला भएर जन्मेको होइन, बरु समाजले महिलालाई रुपान्तरण गर्दछ । (One is not born but rather a woman, Simon de beavoir, 1997, p २६७ ) अरुलाई दबाउने शक्तिको ( ओभर पावर) आडमा पुरुष द्वारा स्थापित र प्राय पुरुषकै अधिनमा रहने गरेको देखिन्छ । प्राकृतिक, कानुनी, तथा विधिको शासन अनुरुप विभेदरहित समाजमा सबैको समान अधिकार र सबै समान छन् भन्ने अवधारणा रहेको छ ।

वर्तमान समयमा बिभिन्न अर्न्तराष्ट्रिय अनुबन्धहरु, मानव अधिकारका घोषणा पत्र आदिमा उल्लेखित लैंगिक समानता, सबैको समान हक, अधिकारका साथै स्वतन्त्रपुर्वक बाँच्ने अधिधाज्य, नैसर्गिक, अधिकारको सर्वव्यापी स्वीकारोक्तिलाई आधारस्तम्भ बनाई नेपालले पनि संवैधानिक र कानुनी रुपमै आत्मसात गरेको छ । बिभिन्न कालखण्डमा समाजशास्त्री तथा समाजको संरचना बारे अध्ययन र अनुुसन्धानहरुमा पितृसत्तात्मक सोच, परम्परातगत सामाजिक मुल्यमान्यता जसमा महिलाको प्रजनन शक्तिसँगै मातृत्वपन, कोमलता , नरमपन जस्ता विशेषणसँग बाँधिएको कारण घरभित्रै रहने तथा पुरुष शारिरिक कर्मठता, सबलता र घर बाहिरको उत्पादनशील कार्यबाट आय आर्जन गर्ने भएको हुनाले शक्तिको श्रोत पनि पुरुष वर्ग मै निहित भयो । यसरी समाजले निर्धारण गरेको व्यवहारिक जीवनशैली शक्तिको सम्बन्ध (पावर रिलेशन) ले गर्दा पुरुषवादी, हैकमवादी, पितृसत्तात्मक सोचको व्यापकता फैलियो ।

समय र समाज परिवर्तनशील छ। । लिंगको आधारमा बिभेदपुर्णबाट मानवीय तथा कानुनी बाटो अपनाई सामाजिक रुपान्तरणका लागि अघि सर्दै गरेको समाजमा सबैको दैनिक अवस्था, रहनसहन शिक्षादिक्षाले गर्दा वर्तमान समयमा पुर्णरुपेण शिक्षित समानमा महिला र पुरुष हरेक कार्यमा समानतालाई अवलम्वन गरी सहजरुपमा शक्ति संतुनका साथ अगाडी बढीरहेको देखिन्छ । तर पनि समाजमा जरा गाडेर बसेको पुरुषको प्रधानता, शक्तिको होडवाजी, शक्ति कै आडमा दमन गर्नु आदि कार्यहरुको प्रभावले राजनैतिक, सामाजिक स्तरमा र संस्थागत रुप मै देखिन्छ । महिलालाई शुरुदेखि नै उनीहरु शरिरीक रुपले कमजोर, भावनात्मक र बाहिरी काममा अयोग्य रहेकोले श्रीमति, सिमोन डि विभर ले महिलाहरु जन्मिंदै महिला भएर जन्मेकी होइनन बरु सामाजिक रुपमा महिला बनाईन्छ । ( सेकन्ड सेक्स, सिमो डि बिभर, १९४९ , पृ २६७ , The Second Sex, Somon De Beauvoir, 1949 , p- 269) पुरुषवादी महिलाको पहिचान पुरुषले आफनो आकांक्षा अनुरुप र मातृत्वपनको झलक देखिने स्वरुपमा हुनुपर्छ भन्ने सोच मात्र रहेको देखिन्छ । वर्तमान परिपेक्ष्यमा शक्ति भन्नाले पुरुषवादी, पितृसत्तात्मक सोच कै वरिपरी चक्र झैं घुमिरहेको प्रतित हुन्छ ।

नेपालको संविधानले समानताको वैधानिक र अविछिन्न बाटो खोलिदिएको दशक पार हुनै लाग्दापनि सोचमा पविर्तन खासै नदेखिएको अवस्था छ । संविधानको मर्म अनुरुप नाम मात्रका लागि महिलाको उपस्थिति, सहभागिता देखिन्छ । यदि कतै नयाँ शक्ति स्वरुप तकनीकी, प्रविधिको पहुँचले गर्दा सशक्त भएपनि यहि पित्तृसत्तात्मक सोच हावी रहेको देखिन्छ । समयको माग र काल चक्रको बदलिंदो परिवेशमा पनि उक्त सोच सामाजिक, राजनैतिक व्यवहारमा छर्लङ्ग देखिन्छ । यसको ज्वलन्त उदाहरण भर्खरै नेपालमा भदौ २३ र २४ गते २०८२ को (जेनरेशन जी ) जेन जी आन्दोलनमापनि देखियो। यो जेन जी पुस्ताले सबै लिंग, जातजाति, धर्म, वर्ग आदिलाई समावेश गरेको छ । ३६ घण्टाको जेन जि युवाहरुको आन्दोलनमा पनि युवा बहिनी हरुले स्कुल, कलेज कै पोशाकमा जुलुसमा सहभागी भई प्रदर्शन देखि रणनैतिक योजना बनाउने, वकालत (एडभोकेसी) गर्ने, बहस छलफल गर्ने आदिमा व्यापक रुपमा सकृय सहभागिता थियो । जस्तै तनुजा पाण्डे, रक्षा बम, आकृति घिमिरे, युक्ता पौडेल, आदि । कुनै कुनै मिडिया हाउस र रिपोर्टस क्लवले बोलाएर जेन-जी युवाहरुको माग बारे स्पष्ट धारणा राख्न मंच प्रदान गरे । तर खासै महिला युवा नेतृहरुको चर्चा परिचर्चामा आम जनता सामु मिडियामा महिला अनुहार देखिएन ।

यो जेन-जी पुस्ताको आन्दोलनमा राज्यको निकायबाट पाँच हजार गोली खर्चेको र त्यसमा ७८ जनाको ज्यान गएको, झन्डै दुई हजार ब्यक्ति घाईते भएको आंकलन गरिएको छ । पुरुष घाईतेहरुको सबैको नाम, ठेगाना, सहित सबै विवरण तथा मिडिया कभरेज पनि छ,जसले गर्दा उनीहरु समक्ष पुग्न सजिलो भएको छ । त्यस्तै आन्दोलनको दाश्रो दिन २४ गते प्रहरीको गोली लागी घाईते भएको कक्षा ११ मा पढने बौद्ध महांकाल की १६ वर्षिय सृजना थामीको तीनवटा गोली लागेको घटनाबारे धेरै दिनसम्म कसैले जानकारी पाएनन।संचार माध्यममा पनि महत्त्व नदिइएको र नसमेटिएको यो एउटा मात्रै घटनाले पनि लैङ्गिक विभेद वा मानसिकता के हो ! भन्ने प्रश्न चाहिँ उब्जाएको छ । देशैभरि फैलिएको जेनजी आन्दोलनबाट प्रभावित घाईतेहरुकोे अवस्था संघिय राजधानी काठमान्डौं भन्दा अन्यत्र झन भयावह देखिन्छ । तर, संचार माध्यमको प्राथमिकता संघीय राजधानी केन्द्रित नै देखिन्थ्यो भने तीन तहको हाम्रो सरकार पनि यस्ता कुरामा बेखबर नै रहेको तितो अनुभव देखियो।

केहिदिन अगाडि संघ र मधेस प्रदेश सरकारले बिरामीहरुको औषधोपचार बापत सहयोग गर्ने घोषणा गरेतापनि त्यो सहायता बिरामीसम्म तत्कालै पुग्ने छाँटकाँट देखिदैन । पलस्वरुप, उनीहरुको आवश्यकता अनुरुप समय मै उपचार हुन नपाई गप जटिल समस्याको मारमा परिरहेका छन् । जस्तासुकै आन्दोलन, हडताल भएपनि, आखिरमा दुख कष्ट भोग्ने चाहिँ कुनै धनाढ्य परिवार वा नेताका परिवार होइन सामान्य गरिब, किसान र निमुखाहरु नै हुन् ।

गोली लागेपछि उपचारार्थ खर्च जुटाउन नसकेका कारण घाईते र त्यसमा पनि युवा भाई बहिनीहरुको अवस्था झन्  दयनीय देखिन्छ । यिनीहरु कुन अवस्थामा कहाँ छन, कसरी उपचार भैरहेको छ, त्यसको खोजखबर न त जिम्मेवार निकायसँग छ, न त कहलिएका नागरिक समाज वा सामाजिक अभियन्ता र राजनैतिक दलहरु नै अगाडि आएर पीडित सम्म सहयोग पुर्‍याउन पहल नै गरका छन् । यिनीहरु सबैको चासो वा चिन्ता विषय भनेको सरकार निर्माणमा सैद्धान्तिक पक्ष जस्तै समावेशीता, लोकतान्त्रिक अध्यास, संविधानको मर्म, समानता आदि शब्दमा प्रयोग गरी बचाउने अभ्यास र वकालत गर्नु मात्रै  हो । ठुला र पुराना दल भन्नेहरू त झन् यो अवस्थामा गुप्तवास बसे जस्तै देखिन्छ। एकाध नेता बाहेक कसैले पनि घटनामा दु:ख व्यक्त गरेको सम्म देखिएन । यो अनौठो र लाजमर्दो विषय हो।

मुलुकको यस्तो विषम परिस्थितिमा पनि सामाजिक अभियन्ता, राजनैतिक दलका नेता, कार्यकर्ता आदिको नगन्य उपस्थिति देखियो। लोकतान्त्रिक व्यवस्था भएको देशमा नागरिक माथी अन्याय हुँदा,गोली लाग्दा सरकार र राजनीतिक दल यति धेरै गैरजिम्मेवार हुनु हुँदैन थियो। उनीहरु भन्दा बढी त बरु एक साहसिक महिला आशिका तामाङलाई सलाम गर्नुपर्ने देखियो। सामाजिक मान्यता विपरित एक निडर साहसी, र उदारवादी कर्मठ महिला सकृयताका साथ रणभुमिदेखि भाईतेहरुलाई भेट्न अस्पताल,अनि घर र कोठामा गई आर्थिक सहयोग गर्दै मानवीय कार्य आशिका तामाङबाट भयो। यो एकदम स्वागतयोग्य र तारिफयोग्य काम हो। यस्ता कर्मठ सहयोगी हात अगाडि आएर जनतालाई आन्दोलन पिडित मात्र हैन, आवश्यकता अनुरुप उनीहरुलाई दु:ख सुखमा साथ दिने जस्ता उदाहरणिय कार्यहरु गर्दा पनि उनलाई कुनै संचार माध्यम वा सरकारी पक्षले सघाउने तत्परता देखाएनन् । त्यतिमात्र होइन कुनै तारिफ सम्म पनि गरेनन् । यही ठाउँमा कुनै धनाढ्य ब्यापारी वा कुनै नेताले गरेको भए सायद मिडिया उनको पछि लागेर वाह ! वाही हुन्थ्यो र राज्यको तर्फबाट सम्मान पाइसक्थ्यो होला !

त्यति मात्र हैन, नेपालको संविधानले मानवीय आवश्यकतालाई पुरा गर्दै सबैको समान, हक, अधिकार हुने परिकल्पना गरेको छ । नेपालको कानुन, अर्न्तराष्ट्रिय मानव अधिकार, मानवीय कानुन, तथा बिभिन्न अर्न्तराष्ट्रिय अनुबन्धहरुले समताको आधारमा समानता ल्याउने, समान अधिकार सबैले पाउने भन्ने कुराको प्रत्याभुति गर्दछ । हरेक निकायमा महिलाको अधिकार उल्लेखनीय छ । वर्तमान सहकारले विगतमा भएका त्रुटि, कमी कमजोडीहरुलाई निकाली केहि राम्रा प्रशंसनीय निर्णय तथा तदनुरुप कार्यहरु गरिरहेका छन् । ता पनि परम्परागत पितृसत्तात्मक सोच अहिले सम्म बोकी हिंडेको देखिन्छ । शक्ति संचय तथा सर्वसत्तावादीहरुको अवचेतन मनमस्तिष्क मै लैंगिक विभेद , विरोधावास झल्किन्छ । अर्को ज्वलन्त उदाहरण स्वरुप, डा संगीता मिश्रको स्वास्थ्य मंत्री बनाउने र सपथ रोक्ने प्रकरणलाई लिन सकिन्छ ।

वास्तवमा भन्ने हो भने संविधिान र नेपालको कानुन, अर्न्तराष्ट्रिय मानव अधिकार, मानवीय कानुन, तथा बिभिन्न अर्न्तराष्ट्रिय अनुबन्धहरुको पक्षधर रहेतापनि मुल मर्मलाई छोडी आ-आफना सोच अनुसार नै काम कारवाहिमा अगाडि बढिरहेको छ ।

समय बदलियो, पुस्ता र पुस्तैनी सोच विचार पनि बदलियो । नयाँ पुस्ताको जायज मांगलाई नकार्न सकिन्न । जेन जिले उठाएको माग भ्रष्टाचार निवारण, युवा उर्जा, ज्ञान सिप अँगाली आफुलाई रुपान्ततरण गरी नवीन पथ अपनाई संवैधानिक प्रावधान अनुसार सबैलाई समेट्दै आगाडि बढे देशले अवश्य पनि फड्को मार्नेछ । यसरी नयाँ सिप र उर्जाका साथ काम गर्यौं भने विकासको बाटो मा जेन जि आन्दोलन अविश्वसनीय हुनेछ ।

 (लेखक लैंगिकता सम्बन्धी प्रशिक्षक एवं अनुसन्धान कर्ता हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय