आत्मवृतान्त : वीपीको बाल्यकालदेखि वकालत पेशासम्म
प्रा. खगेन्द्रप्रसाद भट्टराईविश्वेश्वर प्रसाद कोइराला (वी.पी.) को आत्मवृतान्त उनको जीवनी हो । तर उनले यसलाई आफैंले लेखेका होइनन् । उनी क्यान्सरबाट पीडित भएर जीवनसँग संघर्ष गरिरहेको बेलामा उनले बोलेका कुराहरुलाई वरिष्ट अधिवक्ता गणेशराज शर्माले रेकर्ड गरी यो जीवनी तयार गरिएको हो ।
यस पुस्तकले वी. पी. को बारेमा धेरै कुराहरुको जानकारी गराउँदछ – उनको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, निर्वासनमा बस्दाको आर्थिक कठिनाई र दुःख, उनको औपचारिक शिक्षा र अध्ययन, वकालत पेशा, राजनीतिक जीवन र जेल बस्दाको अनुभव, साहित्यिक लेखन आदि ।
यस लेखमा चाहिं उनको बाल्यकालदेखि कानूनी पेशामा रहुञ्जेलसम्मको कुरा मात्र समावेश गरिएको छ ।
वी. पी. को परिवार विशेष किसिमको परिवार थियो । उनको परिवारको उनीमाथि ठूलो प्रभाव परेको थियो । पितापूर्खाको असाधारण व्यक्तित्वले वी. पी.लाई गर्वको महसूस हुन्थ्यो । उनी भन्दछन् :
‘यसो त सबैलाई आफ्नो परिवारको बारेमा अभिमान होला र आफ्ना मातापिताका बारेमा सबैलाई
गर्व होला । तर मलाई के लाग्दछ भने मेरो परिवार विलक्षण थियो र मेरा आमा–बाबु पनि बडो
विलक्षण हुनुहुन्थ्यो । मेरा हजूरबाको बारेमा त मैंले आफ्नो हजूरआमाबाट मात्र सुनेको छु, वहाँ पनि
बडो विलक्षण व्यक्ति हुनुहुन्थ्यो । वहाँहरुको ममाथि ठूलो प्रभाव परेको छ, मेरो पिताजीको प्रभाव
परेको छ — हजूरबा र हजूरआमाको ममाथि प्रभाव परेको छ ।’ (पृष्ठ १)
वी. पी. ले आफ्ना पिता कृष्ण प्रसाद कोइरालाका बारेमा पुस्तकमा धेरै बोलेका छन् । उनका पिता बालिक भएपछि आफ्नो जन्मस्थान दुम्जा छोडेर मधेश झरेका थिए । त्यसपछि उनले आफ्नी आमाको प्रेरणाले अध्ययन शुरु गरे । संस्कृत, फारसी र अंग्रेजी भाषा सिके । उनलाई समय अनुसार अंग्रेजी भाषा सिक्नुपर्दछ भन्ने लाग्यो । भारतबाट हिन्दी, अंग्रेजी भाषामा छापिएका पत्रपत्रिकाहरु झिकाएर पढ्थे । विश्वपरिस्थितिसँग आफूलाई परिचित गराउँथे । कृष्ण प्रसाद लाउने, खाने कुरामा अत्यन्तै सौखिन थिए । उनी बारम्बार कलकत्ता जान्थे र आफूले लगाउने लुगा उहीं सिलाएर ल्याउँथे ।
कृष्ण प्रसाद कोइरालाले देशभरका भन्सार अड्डाहरुको ठेक्का लिए र निकै राम्रो कमाई गरे । तर उनलाई पैसा कमाएर मात्र संतोष भएन; उनीभित्रको सामाजिक भावना छट्पटाउन थाल्यो । त्यसैले उनले विराटनगर शहर बसाले, अस्पतालको स्थापना गरे, स्कूल खोले, विद्यार्थीहरुलाई आफ्नै खर्चमा पढाउन थाले, काली मन्दिरको स्थापना गरे आदि । कृष्ण प्रसाद बेलाबेलामा कचहरी जान्थे, कतिपय कचहरीमा वी. पी. पनि आफ्नो पिताजीसँगै जान्थे र त्यहाँ भएका गतिविधि देख्तथे र छलफल सुन्दथे । यी सबै कुराले वी. पी. माथि प्रभाव पारेका थिए ।
सिरहा जिल्लामा पर्ने चन्द्रगञ्ज भन्ने बजारमा कृष्ण प्रसाद कोइरालाले एकचोटि पहाडबाट झरेका केही ढाक्रेहरुलाई देखेछन् । उनीहरुले फाटेका लुगा लगाएको देखेर उनको मन कुँडिएछ । उनीहरुलाई नयाँ लुगा किनेर लगाइदिएछन् र एउटाको लुगा (फाटेको टोपी र दउरा) चाहिं पार्सल गरेर राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाइदिएछन् । फाटेको लुगाले नेपाली जनताको अवस्थाको चित्रण गर्दथ्यो । यो एउटा ठूलो व्यंग्य थियो । यो कुरा चन्द्र शमशेरलाई मन परेन ।
केही समयपछि उनले ठेक्काको कुरालाई लिएर कृष्ण प्रसादलाई गिरफ्तार गर्ने आदेश दिए । त्यस बेलाका विराटनगरका बडाहाकिम कर्णेल जीत बहादुरको सहायताले कृष्ण प्रसाद गिरफ्तारीबाट जोगिई भारतको कलकत्ता पुगेछन् । कृष्ण प्रसादका नातेदारहरुलाई पनि गिरफ्तार गर्ने आदेश भएपछि भागारेभाग भयो । पछि सबै जना वनारस गए । वी. पी. भन्दछन्, ‘४५ जनाको डफ्फा थियो । ठूलो घर लिनुभयो त्यहाँ पिताजीले ठठेरी बजारमा … अनि त्यहाँ शुरु भयो हाम्रो १२ वर्षको वनवासजस्तो कठोर प्रवास’ (पृष्ठ ६) ।
वनारसमा कृष्ण प्रसाद कोइरालाको घर केन्द्र जस्तो भयो । त्यहाँ विभिन्न किसिमका मान्छेहरु आउँथे — राजनीतिकर्मीहरु, प्राध्यापकहरु, वकीलहरु, नातेदारहरु, नेपाली परिवारका सदस्यहरु आदि र विभिन्न विषयमा छलफल हुन्थे । त्यति बेला भारतमा गान्धीजीको नेतृत्वमा अंग्रेज विरुद्धको आन्दोलन चलिरहेको थियो । गान्धीजीको व्यक्तित्वले वी. पी. लाई सानै उमेरदेखि प्रभावित पारेको थियो ।
गान्धीजीले चलाएको आन्दोलनको बारेमा, टर्की साम्राज्यको शासक कमाल आतातुर्कले मुलुकलाई समृद्ध बनाउन लिएको कठोर नीतिको बारेमा, चीनमा शुरु भएको विशाल आन्दोलनका बारेमा अमेरिकाले प्रविधि तथा आर्थिक क्षेत्रमा गरेको प्रगतिको बारेमा, जापानले गरेको विकासको बारेमा, रुसमा भएको क्रान्ति र त्यसको प्रभावको बारेमा छलफल भइरहन्थे । अखवारहरु पढ्ने र विश्लेषण गर्ने काम हुन्थ्यो । विश्वपरिस्थितिका बारेमा छलफल र चर्चा हुन्थे । यी सबै कुराले वी. पी. मा प्रभाव पार्थे । उनको ८/९ वर्षको उमेरमा यसरी राजनीतिक पृष्ठभूमि बनेको पाइन्छ ।
वी. पी. को परिवार वनारसबाट भागलपुर जिल्लाको टेढी भन्ने गाउँमा गएर बस्यो र यति बेला कोइराला परिवारलाई ठूलो आर्थिक संकट थियो । त्यसको बारेमा उनी भन्दछन्, ‘वनारसबाट हामी भागलपुरको एउटा गाउँमा गयौं । कसरी गयौं भन्ने पनि बडो अनौठो छ । मलाई एकदम सम्झना हुन्छ हामीहरु गर्मीको बखतमा छतमा बसी भिजाएको चना खाएर छाक टार्दथ्यौं । त्यतिका मान्छे थिए, आमाहरुले माटोका ठूल्–ठूला भाँडामा चना भिजाएर, नून र गुँड हालेर — गुँड सबैलाई पुग्दैन थियो — सबै जनालाई लहरै बसाएर खुवाउनुहुन्थ्यो ।’ (पृष्ठ ९)

केही समयपछि वासुदेव वर्मा नाउँ गरेका एक सज्जन व्यक्तिको आर्थिक सहयोगमा टेढीमा कृष्ण प्रसादले जग्गा दिने र मचान जस्तो घर बनाए । वी. पी. लाई दुवैपट्टि कोशी नदी भएको, टापुजस्तो टेढी गाउँ खुबै मन पर्यो । कृष्ण प्रसादले त्यहाँ केटाकेटीहरुलाई पढाउनका लागि एउटा स्कूल पनि स्थापना गरे । घरमा मानिसहरुको जमघट भइनैरहन्थ्यो र विभिन्न विषयमा छलफल हुन्थे — कला, साहित्य, राजनीति आदि । प्रत्येक साँझ जस्तो कुनै एक शीर्षकमाथि वादविवाद हुन्थ्यो । वी. पी. भन्दछन्, वादविवाद नै भए पनि उनी सत्यको पक्षमा मात्र बोल्थे, तर मातृका कुनै पनि विषयमा बोल्थे/बोल्न सक्तथे ।
टेढीको बसाई सधैं सुखद् हुन सकेन । कोशीको बाढीले दुःख दिन थाल्यो । यस बारेमा वी. पी. भन्दछन्, ‘टेढीमा हामी ५/७ वर्ष बस्यौं । अनि कोशीको बाढीले सताउन शुरु गर्यो । करिब तीन महिना हामीले नाउमा बस्नुपर्दथ्यो । घरबाट भान्सा जाँदा पनि नाउबाट, दिसापिसाब गर्न जाँदा पनि नाउबाट, कहीं जाँदा पनि नाउबाट जानुपर्दथ्यो तीन महिनासम्म’ (पृष्ठ १३) ।
कोइराला परिवार टेढीबाट बेतिया सर्यो, तर जहाँ गए पनि आर्थिक संकटले छोडेन । बेतियाको बसाइ कति कष्टपूर्ण थियो भन्ने बारे वी. पी. भन्दछन्,
‘हाम्रो घरमा भोकभोकै बस्नुपर्दथ्यो, खाना थिएन । त्यस ताका हाम्रो परिवार बेतिया थियो; कोही
कहाँ, कोही कहाँ थिए । अखबार बेच्थे हाम्रा मान्छेहरु । अखबार बेचेर आएको पैसाले किनमेल गरी
कुँडो बनाउँथे; धेरै पानीमा पीठो तरकारी सबै थोक हालेर पकाएर खान्थे । मेरो भाइ थियो हरिहर,
ऊ हैजाले मर्यो । उसलाई घाट लैजान कात्रो किन्ने पैसा समेत छैन । … मैंले पनि अखबार बेचेको छु । सुशिलको पिता वोध प्रसाद एउटा दुकानमा काम गर्नुहुन्थ्यो । बेलुका अखबार बेच्न जानुहुन्थ्यो,
म पनि जान्थें अखबार बेच्न । यो अवस्था थियो हाम्रो ।’ (पृष्ठ १७)
वी. पी. का पिता कामको खोजीमा विभिन्न ठाउँमा भौंतारिए । कलकत्तामा मान्छेले तान्ने रिक्सा पनि ताने, ट्राममा चढेर सानासाना सामानहरु पनि बिक्री गरे दुई चार रुपियाँका लागि । एक चोटि आतंकवादीको सम्पर्कमा पनि आउनुपर्यो उनलाई । खूबै मिहिनेत गरे घर चलाउनको लागि, तर घर चल्न सकेको थिएन । बाबुले गरेको दुःख वी. पी. ले आफ्नै आँखाले देखेका थिए । उनी भन्दछन्, जति सुकै दुःख भए तापनि उनका पिताको नैतिक आचरण सधैं उच्च रह्यो ।
पिताका बारेमा वी. पी. भन्दछन् —
‘पिताजी सात्विक रुपमा नास्तिक (नन्–कन्फर्मिस्ट) हुनुहुन्थ्यो, धर्मको मामलामा पनि धार्मिक
हुनुहुन्थ्यो तर कर्मकाण्डी हुनुहुन्थेन । उहाँ सुधारवादी हुनुहुन्थ्यो । यथार्थमा उहाँ क्रान्तिकारी
हुनुहुन्थ्यो । राजनीतिलाई मात्र संहाल्ने होइन, शिक्षा र सामाजिक जीवनका अरु पक्षहरुलाई पनि
राजनीतिमा लागेका मानिसले संहाल्नुपर्छ भन्नुहुन्थ्यो । उहाँ कताकता गान्धीजीको जस्तो विचार
राख्नुहुन्थ्यो । … पिताजीलाई बडो अभिरुचि थियो दासप्रथाको समाप्तिमा । कमाराहरुको मुक्तिमा ।’
(पृष्ठ ५०–५१)
वी. पी. आफ्ना पिताले दास प्रथाको अन्त्यका लागि राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई बारम्बार अनुरोध गरेको कुरा गर्दछन् । उनी (कृष्ण प्रसाद) आधुनिक सोचका थिए । त्यो बेलामा पनि उनी छोरी बुहारीहरुलाई सुरुवाल लगाउन र घोडा चढ्न प्रोत्साहित गर्दथे ।
भीम शमशेर प्रधानमन्त्री भएपछि मात्रै उनले कृष्ण प्रसाद कोइरालालाई नेपाल बोलाए (६४) । नेपाल आएपछि उनले व्यापार शुरु गरे र आफ्नो आर्थिक अवस्थालाई सुधारे । भीम शमशेरसँग कृष्ण प्रसादको राम्रै सम्बन्ध थियो । तर भीम शमशेरको छोटो कार्यकाल रह्यो र त्यसपछि जुद्ध शमशेर प्रधानमन्त्री भए । जुद्ध शमशेर प्रधानमन्त्री भए तापनि, त्यस बेलाको चाकडी प्रथा अनुसार, कृष्ण प्रसाद जुद्धलाई भेट्न गएनन् । वी. पी. भन्दछन्, पछि जुद्धले नै उनलाई बोलाउन पठाए । त्यति बेला पिताजीले देखाएको साहसको वी. पी. प्रशंसा गर्दछन् । जुद्धले सोधे, ‘अब म प्रधानमन्त्री भएँ, के ठान्छौ ? म के गरुँला ?’ (पृष्ठ ६६) ।
जुद्धले यसरी सोधेपछि उनले भनेछन्, ‘सरकार, आजसम्म प्रधानमंत्रीहरुले के गरे ? आफ्ना छोराहरुको, आफ्नो घरमात्रै त इन्तजाम गरे, देशको त गरेनन् । अब त भय जनतालाई के छ भने सरकारका २१ जना छोराहरु छन् । अब त, सरकार, जनता तवाह हुने भयो’ (पृष्ठ ६६) । यसरी कृष्ण प्रसाद देश र जनताको पक्षमा बडो साहसका साथ बोल्दथे ।
सन् १९४२ को ‘भारत छोडो’ आन्दोलनमा अंग्रेज सरकारले आन्दोलनकारी नेताहरुलाई समाउन थाल्यो । नेताहरु भागाभाग भए । कति नेताहरु भागेर नेपाल आए । कृष्ण प्रसाद कोइरालाले तिनीहरुलाई खानेबस्ने व्यवस्था मिलाइदिएर सहयोग गरे । कृष्ण प्रसादको यो कुरा राणा प्रधानमन्त्रीलाई मन परेन र उनलाई पक्रिएर जेल हालियो । कृष्ण प्रसादले जेलमा कठोर यातना सहनुपर्यो र पछि जेलमा नै उनको देहावसान भयो । यो सबै वी. पी. ले देखेका, भोगेका थिए ।
वी. पी. मा कष्ट सहनसक्ने अद्भूत क्षमता थियो । उनी मानसिक तथा शारीरिक दुवै रुपले निकै दृढ थिए, यद्यपि उनको शारीरिक अवस्था र स्वास्थ्य त्यति राम्रो होइन । उनी ७/८ वर्षको छँदा उनको बस्ने ठाउँमा एउटा ठूलो खटिरा निस्कियो । त्यस बखत उनको परिवार वनारसमा नै थियो । आर्थिक कारणले गर्दा उनीहरु विरामी पर्दा आधुनिक औषधि नगरी आयुर्वेदिक औषधिको प्रयोग गर्दथे, जुन सस्तो पर्दथ्यो । तर वी. पी. को घाउले यति दुःख दियो कि अपरेशन नगरी भएन । अपरेशन गर्न एनेस्थेसिया किन्नको लागि परिवारसँग पैसा थिएन । वी. पी. एनेस्थेसिया विना नै अपरेशन गर्न तयार भए र अपरेशन भयो । अत्यन्त कठोर पीडा भयो तर उनले सहे । पछि मोहन शमशेरले वी. पी. लाई कठोर शारीरिक यातना दिंदा पनि उनी आफ्नो कुरामा अडिग रहे । यहाँ पनि उनको विश्वासप्रतिको प्रतिबद्धता र शारीरिक कष्ट सहनसक्ने दृढता देखिन्छ ।
साहित्यमा वी. पी. पात्रहरुको मनोविश्लेषण गर्दछन् । नारी पात्रहरुले उनलाई बाल्यकालदेखि नै अत्यन्तै प्रभाव पारेका थिए । उनी नारी पात्रको वात्सल्य, साहस र विद्रोहको प्रशंसा गर्दछन् । उनका पिता कृष्ण प्रसाद कामको खोजीमा कलकत्ता हुँदा उनी पनि उपचारको लागि कलकत्ता गए । त्यति बेला कृष्ण प्रसाद सुब्बा तारानाथको घरमा बसेका थिए । तारानाथका दुई वटी श्रीमतीहरु थिए । उनीहरु दुवैले केटाकेटी वी. पी. लाई अत्यन्तै माया गरे । मीठो–मीठो पकाएर ख्वाए, नुहाइदिए, लुगा धोइदिए, तेल लगाइदिए । यसरी उनीहरुले मनैदेखि माया गरे । वी. पी. भन्दछन्, ‘ती दुइटी तारानाथका पत्नीहरुले मलाई यति माया गरे कि कलकत्ता छोडेर जब म आउन लागेको थिएँ, उनीहरु डाको छोडेर रोएका थिए । मलाई अंगालो मार्दै, मेरो म्वाइँ खाँदै डाको छोडेर रोएका थिए उनीहरु । हुन त यो पहिलो पटक थिएन, एक पटक अघि पनि वात्सल्य मैंले पाएको छु ।’ (पृष्ठ ५५)
वी. पी. का महिलाबाका चार वटी श्रीमतीहरु थिए । कान्छी माहिली आमा महिलाबासँग बस्न सकिनन् । उनले आफ्ना पतिबाट सम्मानको व्यवहार नपाएको ठानेर नेपालबाट भागेर वनारस गइन् । केही समयपछि त्यहीं आफ्नै दिदीको श्रीमान् अर्थात् भिनाजुसँग दोस्रो विवाह गरिन् । वी. पी. आफ्ना पिताजीसँग उनलाई नेपाल फर्काउन जाँदा सो कुरा थाहा भयो । ती माहिली कान्छी आमाले भनिन्, ‘मैले आफ्नो पति वरण गरिसकें, आफ्नो दिदीको पतिका साथ बसिसकें । त्यो मलाई ज्यादा सम्मानजनक लागेको छ, करकापसँग कसैसँग बस्नुभन्दा । त्यो त (करकापसँग कसैसँग बस्नु) व्यभिचार लाग्छ मलाई । … दुलाहासँग व्यभिचार हुनसक्तछ स्वेच्छासँग नबसेमा भन्ने कुरा मलाई बडो घत लागेको थियो ।’ (पृष्ठ ५७–५८) उनले वी. पी. लाई अत्यन्तै माया गरेर केही दिन आफैंसँग राखिन् ।
नारीहरुले साहसी पुरुषलाई नै मन पराउने उनको अनुभव छ । यस सन्दर्भमा टेढीमा बस्दा उनको नाता पर्ने एक महिलाले डाकूहरुसँग लडेर उनीहरुलाई भगाएको थाहा पाए । उनको लोग्ने सहित अरु लोग्ने मान्छेहरु डराएर भागे र ती महिलाले बहादुरीका साथ लडेर डाकाहरु भगाइन् । पछि तिनले कातर लोग्नेलाई छोडेर अर्कैसँग विहे गरिन् । वाल्यावस्थामा देखेका यस्ता महिलाहरुले वी. पी. को महिलाप्रतिको धारणा बन्न मद्दत गरे ।
परिवार बेतिया हुँदा वी. पी. पढ्नको लागि वनारस आए । तर उनलाई स्कूलको फिस तिर्न निकै कठिन भयो । परिवारका महिलाहरुले आफ्नो सुन दिएर पठाए र उनले त्यही सुन बेचेर काम चलाए । एस. एल्. सी. (म्याट्रिक) पास गरेपछि वी. पी. र मातृका आतंकवादी संगठनमा आबद्ध भएको भनी दुवै जना समातिए र उनीहरुलाई मोतिहारी जेल लगियो । जेलको ३/४ महिनाको कष्टपूर्ण जीवनपछि उनीहरु छुटे । त्यसपछि वनारस आएर वी. पी. कलेजमा भर्ना भए ।
वी. पी. आफ्नो भाषाको बारेमा अलि अलमलमा परेको कुरा गर्दछन् । नेपाली, हिन्दी, अंग्रेजी र अन्य भाषाहरुको प्रयोगको बीचमा उनलाई सो अनुभव भएको हो । उनी भन्दछन्, ‘भाषाका सम्बन्धमा मेरो समस्या के थियो भने, जो पछिसम्म रह्यो, घरमा एकदम नेपालीमा बोल्नुपर्ने, स्कूलमा सबै कुरा अंग्रेजीमा पढ्नुपर्ने, त्यसभन्दा बाहिर फेरि बजारतिर साथीहरुसँग हिन्दीमा बोल्नुपर्दथ्यो । साथीहरुको घरमा जाँदा उनीहरु कहीं भोजपुरी र कहीं अवधी बोल्दथे, त्यो म जान्दैन थिएँ ।’ (पृष्ठ २२)
स्कूलमा पढ्दादेखि नै वी. पी. लाई साहित्यमा रुचि थियो । उनले नेपालबाट उनका पिताका लागि आउने पुस्तहरु पढ्दथे । सानै उमेरमा महाभारतलाई केलाएर पढे । हिन्दी साहित्यका पुस्तकहरु पढ्दथे । टल्सटायका कथा तथा कविताहरु पढेर विश्लेषण गर्दथे । भिक्टर ह्यूगोको ला मिजरेबल पढेर उनी रोएका थिए । रामकृष्ण दासको उपन्यास कंगाल, जयशंकर प्रसादको आँसु स्कूलमा हुँदै पढे । मैथिलीशरण गुप्ता, रामकृष्ण दास र जयशंकर प्रसाद जस्ता साहित्यिक व्यक्तिहरुको सम्पर्कमा उनी आए र साहित्यिक छलफलमा सहभागी हुन्थे । उनको आर्थिक अवस्थाले गर्दा आफूलाई मनपरेको किताब किन्न सक्तैनथे । त्यसैले उनी पुस्तकालयको सहयोग लिन्थे ।
कलेजमा पढ्न थालेपछि वी. पी. को केही कम्युनिस्टहरुसँग सम्पर्क हुनगयो र उनी कम्युनिस्ट विचारधाराबाट प्रभावित भए । त्यसपछि उनले कम्युनिज्म सम्बन्धमा लेखिएका पुस्तकहरु अध्ययन गर्न थाले । कम्युनिस्ट पार्टीको नजीकै भएर काम गर्न थाले र द सोसलिस्ट भन्ने पत्रिकाको सम्पादक नै भए । मार्क्सवादको क्रान्तिकारी दर्शनले उनलाई प्रभावित पार्यो । तर विस्तारै भारतीय कम्युनिस्ट पार्टीको व्यवहार उनलाई मन परेन । वी. पी. गान्धीबाट निकै प्रभावित भएको मान्छे, तर उनीहरु गान्धीलाई ‘दलाल’ भनेर गाली गर्दथे । भारतीय राष्ट्रिय आन्दोलनको उनीहरु कटु आलोचक थिए, जब कि वी. पी. को सम्पूर्ण परिवार नै त्यो आन्दोलनमा सकृय रुपले संलग्न थियो ।
पछि वी. पी. को जयप्रकाश नारायण र नरेन्द्रदेव जस्ता समाजवादी नेताहरुसँग सम्पर्क भयो र उनी काँग्रेस सोसलिष्ट पार्टीको सदस्य भए । जयप्रकाश नारायणको सरल व्यवहारले उनलाई निकै प्रभावित गर्यो । काँग्रेस सोसलिष्ट पार्टी भारतीय राष्ट्रिय काँग्रेसद्वारा सञ्चालित राष्ट्रिय आन्दोलनकै अंग रहने किसिमले गठन गरिएको थियो जसमा गान्धीजीको ठूलो प्रभाव थियो ।
साथीहरुको माध्यमबाट वी. पी. पुस्तकहरु पाउँथे र पढ्थे । अहिले उनी प्रयोगात्मक साहित्यको अध्ययन गर्न थाले । टी. एस्. एलियट, बब्स फ्लेचरका कृतिहरु, काफ्काका उपन्यासहरु, जेम्स ज्वायसका उपन्यास युलिसिस, बर्नाड शाका नाटकहरु आदि पढे । उनलाई शाका नाटकहरु खुबै मन पर्यो ।
पछि काँग्रेस सोसलिष्ट पार्टी र गान्धीवादीहरुको बीच मतभेद हुनथाल्यो । यस बारेमा वी. पी. को भनाई यस प्रकार छ :
‘जयप्रकाशजीको नेतृत्वमा काँग्रेस सोसलिष्ट पार्टी गठन भएपछि एउटा छुट्टै सुसंगठित सोसलिष्ट आन्दोलन चल्न थाल्यो । त्यहाँ गान्धीवादी र समाजवादीहरुमा मतभेद जस्तो थियो र त्यो मतभेद पछिसम्म रह्यो । गान्धीको सम्पूर्ण भाषा धार्मिक किसिमको हुने, रामराज्यको कुरा गर्ने, वर्ग संघर्षलाई नमानेर वर्ग समन्वयको कुरा गर्ने, पूँजिपतिहरुलाई ट्रष्टी हो पनि भन्ने । यी सबै धारणाहरु मार्क्सवादी सिद्धान्तका खिलाफ थिए । यसमा गान्धीजीसँग सोसलिष्टहरुको मतभेद थियो, यद्यपि गान्धीजीलाई बडो आदर गर्थे, नेता मान्थे समाजवादीहरु । जवाहरलाल नेहरु बीच–बीचमा कुरा गर्न गइरहन्थे जयप्रकाश नारायणजीसँग । मलाई त्यो व्यवहार राम्रो लाग्थ्यो ।’ (पृष्ठ २५)
कलकत्ता विश्वविद्यालयबाट कानूनको अध्ययन सकेपछि वकालत गर्ने हिसाबले वी. पी. दार्जीलिङ गए । त्यही बेला उनको हरिप्रसाद प्रधानसँग सम्पर्क भयो । हरिप्रसाद प्रधान वकालत पेशामा निकै सिनियर थिए र उनले वी. पी. लाई मुद्दा मिलाइदिएर सहयोग पनि गरे । दार्जीलिङमा नै वी. पी. को साहित्यकार सूर्य विक्रम ज्ञवालीसँग भेट भयो । उनले वी. पी. लाई नेपाली भाषामा आफ्ना रचनाहरु लेख्नको लागि आग्रह गरे । त्यसपछि वी. पी. ले नेपालीमा लेख्न थाले । त्योभन्दा पहिले उनी हिन्दीमा लेख्तथे ।
वी. पी. दार्जीलिङमा हँुदै दास्रो विश्वयुद्ध शुरु भयो । भारतमा स्वतन्त्रताको आन्दोलन जारी नै थियो । नेपालमा टंक प्रसाद आचार्य लगायत केही युवाहरुले प्रजातन्त्रको लागि संघर्ष शुरु गरेका थिए । टंक प्रसाद र उनका केही साथी–सहयोगीहरुलाई राणा सरकारले समातेको थियो । यी सबै परिस्थिति अध्ययन गरी वी. पी. ले वकालत पेशा छोेडी राजनीतिमा प्रवेश गर्ने निर्णय गरे ।
सन्दर्भ सामग्री : कोइराला, वी.पी. (२०५५) आत्मवृत्तान्त । जगदम्बा प्रकाशन, पाटनढोका, ललितपुर – माघ ५, २०८१

