छठ पूजा: लैंगिक समानताको प्रतिक

विमला दास

हरेक वर्ष जस्तै यसपटक पनि छठपर्व सुरु भैसकेको छ।यस पर्व कार्तिक महिनाको शुक्लपक्षको छैंठौं दिन पर्ने भएकोले यसलाई छठ पर्व भनिएको हो। तर, यसको महत्त्व र महिमा यत्तिकैमा सिमित छैन । छठ पर्व एकतर्फ पौराणिक कथा, गाथा र श्रुतिमाथिको आस्था, विश्वास, पवित्रता, भक्ति हो भने अर्को तिर सामाजिक, सांस्कृतिक, प्राकृतिक र आर्थिक पक्षको संरक्षण र सम्बर्द्धनमा केन्द्रित सुर्यदेव र उषा (षष्टी माता) को पूजा गरिने पर्व हो ।

वेदमा उल्लेख भए अनुसार छठीमाता सुर्य देवताको सहयोगी श्रीमतिको रुपमा रहेको भन्ने देखाईएको छ । विगतमा तराई मधेसको मात्रै महत्त्वपूर्ण चाड भनिने र सुनिने यो पर्व अब सबैको साझा पर्व बन्दै गएको छ। खासगरी नेपालको तराई भू-भागमा र भारतको बिहार, उत्तर प्रदेशको पूर्वी भाग झारखण्ड प्रदेशमा विशेष महत्वका साथ यो पर्व मनाउने गरिएकोमा अहिले संघीय राजधानी काठमाडौं लगायत देशका धेरै ठाउँमा नदी तथा पोखरीमा यो पर्व मनाईन्छ।
बिगत केही समयदेखि छठ पर्व तराईबाट उकालो लाग्दै मध्यपहाड सम्म उक्लिएको छ भने काठमान्डौं,पोखरा,चितवन,बुटवल लगायत पुर्वदेखी पश्चिम सम्मकै क्षेत्रमा खुशीका साथ मनाईन थालेको छ।त्यसमा पनि कोशी प्रदेश,मधेस प्रदेश र लुम्बिनी एवं सुदुरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा छठ मनाइन्छ ।भन्नैपर्दा जसरी सुर्यदेव सबैको साझा रहे जस्तै छठ पर्वपनि सबैको साझा पर्व भएको छ ।
यो पर्व दिपावलीको छैंठौं दिन देखि शूरु हुन्छ । उक्त पर्वमा सुर्य देवता र उनको पत्नी (षष्ठी माता)को पूजा गरिन्छ । यस जगतमा सूर्य देवता र उनको पत्नीलाई आशीर्वाद स्वरुप मानवरुपी जीवन प्रदान गर्नुभएकोमा साँझपख अस्ताउँदो सुर्यलाई र बिहानपख उदाउँदो सुर्य (षष्ठिमातालाई) अर्घ्य दिइन्छ। जसमा माटो तथा शु्द्ध हावापानीको समिश्रणमा उत्पादित सामग्रीहरु सर्मपण गरी पूजा अर्चना गरिन्छ । यसलाई प्रकृति पूजापनि भन्ने गरिन्छ ।

हिन्दु धर्म अनुसार छठी माताको पूजाअर्चनाले अनेक किसीमको रोग, व्याधा, दु:ख कष्टको अन्त्य भई जनको उन्नति, धनकोप्रगति हुन्छ भन्ने जनविश्वास छ । बिभिन्न समयकालको धार्मिक ग्रन्थीय श्रोत अनुसारको पौराणिक कथामा पनि छठको महत्त्वमा आधारित थुप्रै जनविश्वास रहेको सुनिन्छ ।धार्मिक ग्रन्थ रामायणका प्रमुख पात्रसुर्यवंशी राजालाई राम वनवासबाट अयोध्या फर्केर गएपछि राम र सीता दुबै मिलेर सुर्य देवता पूजा अर्चना गरेको जनविश्वास पनि छ । त्यस्तै द्वापर युगमा द्रौपदी र पाण्डवहरु संघर्षबाट बाहिर निस्केपछि र आफनो गुमेको राज्य फिर्ता पाउन द्रौपदीले षष्ठिमाताको पूजा गरेको समाजमा श्रुतिगाथा रहेको छ । अर्को, महाभारतमा उल्लेख भए अनुसार कौरवहरुको लाक्षा गृहको आगोमा पाण्डवहरुलाई मार्ने योजना बिफल गरी निस्किएपछि कुन्तिले छठ पूजा गरेको भन्ने उल्लेख छ ।

सबैको समान प्रतिष्ठा, सम्मान रहने उद्येश्य लिएको अन्तर्राष्ट्रिय मान्यता पालन गरेको तथा नेपालको संवैधानिक र कानूनी मर्मलाई यो पर्वले प्रष्ट रुपमा अँगालेको छ । छठी मैयाको व्रत निकै कठिन मानिन्छ किनभने यसमा पानी पनि नखाई २४ घण्टा निराहार व्रत बस्नु पर्छ । सुर्यदेवको आर्शीवादले बिहान र बेलुका पानीमा उभिई प्रार्थना वा अर्घ्य दिएमा छाला सम्बन्धि रोगहरु निको हुने जन विश्वास छ । छठ पूजा एउटा मात्र हिन्दु चाड हो जसमा सबै धार्मिक संस्कार, विधिविधानका वैज्ञानिक कारणहरु छन्। यस पर्वका सम्पूर्ण प्रकृयामा स्वास्थ्य र विषाक्त वातावरणलाई वैज्ञानिक तवरले शुद्धिकरण गर्ने कठिन प्रकृया हो । सडक, बाटोघाटो, नदिनाला र पोखरीहरुको सरसफाईले यस पर्वको वातावरण संरक्षणमा उल्लेखनीय योगदान रहेको छ ।

छठ पूजामा सबै जात, क्षेत्र,उमेर, लिंगका महिला, पुरुष तथा बालबालिकाको समान रुपले सहभागी हुन्छन् । वर्तमान समयमा विधि विधानमा पवित्रता, शुद्धता, र सहजता अपनाई प्रकृयागत रुपान्तरण पनि देखिन्छ । जस्तै निराहार व्रत बसी आफनै हातले पकवान, मिठाई बनाउन सके सफा, शुद्ध शाकाहारी पसलबाट मिठाई ल्याई, फलफुल ल्याई अन्य व्रतालुलाई प्रसाद चढाउन दिने, भाकल पूरा गर्न वा कोहि कोहि भाकल पुरा भएपछि नरिवल लिई पानीमा अस्ताउँदो सूर्यलाई प्रार्थना गर्ने गर्छ । बृहत रुपमा छठ पर्व मनाउने क्षेत्रहरुमा प्राकृतिक, हरियो साग सब्जी देखि उखु, केरा, अन्नका पकवानहरु, तथा श्रृंगारका सामग्रीहरु प्रसादको रुपमा चढाईन्छ । घरेलु उत्पादनको बिक्रि वितरणले राष्ट्रिय स्तरको आयमा बृद्धि हुन्छ जसको फलस्वरुप देशमा आर्थिक रुपले योगदान पुग्छ ।

पूजाको विधिः

छठ पर्वमा सुर्यदेवको अराधना चार दिनसम्म गरिन्छ :

१. पहिलो दिन व्रतालु पवित्र जलले स्नान गरिन्छ जसलाई नहायखाय भनिन्छ । यसको एकदिन अघि माछ, मरुवा (माछा र कोदो), लसुन, प्याज र अन्य अशुद्ध खाना बार्ने गर्छन् ।
२. दोश्रो दिनलाई खरना भनिन्छ । खरनामा व्रतालु दिनभरी व्रतालु निराहार वर्त बसी साँझ परेपछि आफैं सख्खर र चामलको खीरको प्रसाद चढाई खीर खाने चलन छ ।
३. छठ पूजाको तेश्रो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिनुलाई पहिलो अर्घ भनिन्छ । यो दिन सबभन्दा कठिन दिन हो किनकि यो दिन व्रतालु निराहार व्रत गरी ठेकुवा, भुसुवा, खाजा, मिठाई, खजुरी आदि हरियो बाँसको चोयाले बनेको भाँडा (ढाकी, नाङ्लो, कोनीयाँ )मा राखी नजिकको तलाउ, पोखरी, घाटमा गई अस्ताउँदो सुर्यदेवलाई अर्घ दिई प्रार्थना गरिन्छ । कतिपयले सामानहरु नउठाई रातभरी घाट मै जाग्राम बसी भजन किर्तन गरी रमाईलो गर्ने गर्छन् ।
४. अन्त्यमा चौथो दिन बिहान पुनः छठ परमे्श्वरी, छठी माता, षष्ठिमाताको स्पमा चिनिने उदाउँदो सुर्यलाई अर्घ दिईन्छ ।
१९५० को दशकको एक अमेरिकन समाजशास्त्री तालकोट पार्सन्सको परिवारको सामाजिक संरचना भन्ने सैद्धान्तिक व्याख्यामा परापूर्वकाल देखि महिला र पुरुष दुबैको लैंगिकतामा आधारित कार्य विभाजन भएता पनि दुबैको भूमिकामा समान अस्तित्व र महत्व रहेको भन्ने बुझिन्छ । दुबैको परस्पर सहकार्यले घर, परिवार व्यवस्थित रुपमा अगाडि बढछ जसको प्रत्यक्ष रुपमा समाजमा पर्छ । लैंगिकतामा आधारित कार्य विभाजनमा कुनै मतचेद वा वादविवाद थिएन । महिलाले परिवारमा समय दिएर अवैतनिक, सेवामूलक कार्य गर्नृु, कठिन समयमा पुरुषलाई आवश्यकतानुसार पारिवारिक वातावरण मिलाई भावनात्मक रुपले सहयोग गर्नु जस्ता निकै उल्लेखनीय काम गर्दै आएको छ । महिलाले घरको काम र पुरुषले बाहिरको काम शारिरीक संरचना अनुसार गर्नुपर्छ भन्ने मान्यता बोकेको विचारधारामा आधारित हाम्रो सामाजिक संरचना अहिले पनि विद्यमान छ । त्यहि संरचनागत परम्पराको कसी भित्रको संस्कार अनुरुप छठ पूजामा पनि बाहिरको सबै किनमेल, तयारी जस्तै बाटोघाटो, नदि तलाउको घाट सफागर्ने घाट बनाउनेआदि काममा पुरुषको संलग्नता रहन्छ भने घरभित्रको पकाउने र किनेर ल्याएको सामान मिलाउनृ, पूजाआजाको को सामान मिलाउने, व्रत बस्ने आदि जिम्मेवारी महिलाको छ । यसरी दुबैको परस्पर कार्यमा सहयोग र सहकार्य हुन्छ ।
समय, काल, परिस्थिति आदिमा रुपान्तरण र परविर्तन भएसँगै छठ वर्तको परम्परागत चलन अनि व्यवहारमा पनि परक आएको छ । पर्वको मौलिकतालाई कायम राख्न नदि, पोखरी ,तलाउ आदिमा जान नसकेको खण्डमा आफनै घरको कौसीमा प्लाष्टिकको कृत्रिम पौडी पोखरी (स्वीमिङ पुल) मा पानी राखी पूजा गर्ने गरिन्छ।

छोटकरीमा भन्ने हो भने, छठ पर्व मानवतालाई सम्मान गर्ने, सबैले समानको समान स्थान मा उभिई एकसाथ मनाउने चाड हो । अर्कोतिर यो पर्व सँगै तराई मधेसको महत्त्वपूर्ण ठूला चाडहरुको पनि अन्त्य हुने भएकोले यसलाई धूमधामका साथ मनाउने चलन छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय