प्रेम र विवाहभित्र घुसेको पिआरको घनचक्कर: ‘बेहुली फ्रेम मेघौली’
३० वर्षीय मिना न्यौपाने (स्वस्तिमा खड्का) चितवन मेघौलीको मध्यम परिवारमा जन्मिएकि हुन् । जसरी उनको उमेर तीस र उन्तीसमा कन्फ्युज छ त्यसरी नै उनको प्रेम, विवाह र भविष्य पनि घनचक्करमा घुमिरहेको छ। परिवार र छिमेकी पनि मिनाकै विवाहको पछाडी लागिरहेका छन्। मिना भने परिवारको दबाबमा पनि ७ वर्षदेखि अष्ट्रेलियामा रहेका प्रेमीलाई कुरेर बसेकी छन् । तर, ७ वर्षपछि नेपाल फर्किएका प्रेमीले भने उनकै घरमा पुगेर मीनालाई विवाह गर्न नसक्ने बताउँछन्।
कथासँग जोडिएर आएको पटकथा र संवाद अनि त्यसलाई अगाडी बढाउन कलाकारको अभिनय, भेषभूषा, परिवेश र साथमा हाँस्यव्यङ्गको संयोग पनि भैदियो भने कुनै पनि सिनेमाले सफलता प्राप्त गर्न सक्दछ भन्ने कुरा घटस्थापनादेखि प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रेम मेघौली’ले पुष्टि गरेको छ।
प्रायः नेपालीको घर-घरको कथाहरूलाई लिएर दुरुस्तै सिनेमाको पर्दामा उतारिएको यो सिनेमाले नेपाली समाजको वैवाहिक संस्कृति मात्र प्रस्तुत नगरेर नेपालीहरूको परिवर्तित मनोदशालाई पनि सुन्दर ढंगले प्रस्तुत गरेको छ। ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र बेहुली फ्रम मेघौलीलाई साजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन्। दुवै सिनेमाका लेखेक समेत हुन्। यो उनीहरु दुबैको डेब्यु चलचित्र हो।
सिनेमाको कथा लेखनमा दुई भाइले कथाकारको रुपमा त्यति धेरै मेहनत गर्नुपरेको छैन। तर कथा छनोट र पटकथाका लागि उचित सचेतताका कारण कथा सलल्ल बग्न सकेको छ। यसले दर्शकलाई हलमा बस्दा पट्यार लाग्न दिदैन। समयावधिसम्म दर्शकलाई चलचित्रको कथा,पटकथा र पात्रको अभिनयले बाँधेर राख्न सफल छ।
सधैँजसो मुख्य भूमिकामा पुरुष कलाकारलाई हिरोको रुपमा प्रस्तुत गर्दै उसैको वरिपरि कथा घुम्ने र महिला कलाकारको भूमिका ज्यादै फितलो हुने प्रवृत्तिलाई चटक्कै छोडेर महिला पात्रलाई मुख्य भूमिका दिएको यो चलचित्रले पुरुष कलाकार सहित नयाँ पुराना सबै कलाकारलाई पनि न्यायोचित भुमिका दिन सक्नाले प्रस्तुति राम्रो भएको छ।
सिनेमामा पुराना कलाकारहरू स्वस्तिमा खड्का,निश्चल बस्नेत,बिजय बराल,बसुन्धरा भुषाल,टीका पहारी,अमिर गौतम,लोकेन्द्र लेखक,सिरु बिष्ट,रक्षा थापा,लुनिभा तुलाधर लगायतले अभिनयमा कुनै कसर छोडेका छैनन् भने केही नयाँ कलाकारहरुले समेत निखारिएको अभिनय पस्केर सिनेमालाई सफल बनाउन सघाएका छन्।
नेपाली समाजमा लङ डिस्टेन्स लव अफेयर्सका कथा अनगिन्ती छन् ।कसैको बाल्यकालदेखिको प्रेम सम्बन्ध कुनै एक जना विदेश गएपछि अर्कोले वर्षौं कुरेर पछि विदेश गएकाले अर्कै जोडी खोज्ने, कतै डिभी र पिआरको चक्करले अर्कै जोडि रोजेर विवाह गर्ने र विदेश गएपछि छुट्टाछुट्टै बस्न सुरु गर्ने, कतै बिदेश गएर फर्कदा आफ्नो जोडी अर्कैसँग रिलेसनमा बसिसक्ने जस्ता थुप्रै कारण देखाएर चलचित्र बनेका छन् । अझ कतै बाल्यकाल देखिको प्रेम बिदेश गएपछि पिआर र धनसम्पत्तिका कारण सम्बन्ध टुङ्गिने गरेका उदाहरण बग्रेल्ती छन् । यस्तै कथाहरु मध्ये एउटा कथा छानेर निर्देशकले ‘बेहुली फ्रम मेघौलीमा’ पस्केका छन् । जसले समाज, परिवार, प्रेम, बिछोड सबै देखाइदिएको छ।
कुनै पनि सम्बन्धमा चिसोपना देखिनुमा बिशेषगरी केटाकेटी बिचको बुझाइमा भिन्नता,पारिवारिक,सामाजिक र घरेलु हिंसा कारण पनि हुने गरेकोमा अहिले आर्थिक हैसियत तथा पिआर पाउनका लागि वा कमाई र रमाई पनि कारण हुन थालेको छ। यहि विषयमा यो सिनेमाले राम्ररी प्रस्तुत गरेको छ।
कथाको अर्को पाटो अझ मर्मस्पर्शी छ। अहिले युवा युवतीहरू १२ कक्षा पास गर्ने बित्तिकै विदेश जानका लागि तयारी गर्ने उपल्लो कक्षामा भर्ना हुने तर पढ्न चाहिँ नपढ्ने, विदेश नै गए पनि पढाइलाई भन्दा बढी त्यहाँको भौतिक सुविधा तथा पैसालाई बढि महत्व दिने तथ्यलाई समेत यो सिनेमाले दरिलो झापड हानेको छ। कर्मशीलता र अध्ययनशीलतालाई मानिसले कहिले छोड्नु हुँदैन भन्ने कुरा सहज ढंगले सिनेमामा प्रस्तुत भएको छ।
अधिकांश छायांकन चितवनको मेघौलीमा गरिएको यो सिनेमाले छायांकनस्थल छनोटमा खासै ध्यान दिनुपरेको छैन र आउटडोर सुटिङ गर्दैमा पुग्ने भएपछि आर्थिक बचत पनि भएको छ। धेरैजसो दृश्य घर बाहिरका छन्। केही भित्रका दृश्यलाई पनि सरल ढङ्गले खिचिएको छ। अर्को कुरा धेरैजसो सिनेमामा हुने भौतिक द्वन्दहरूबाट टाढा रहेर यो सिनेमाले समाजभित्रकै ठट्यौली र हस्यौलीलाई समेटेको छ। जस्तै दु:ख परेपनी ‘सास चाहिँ फेर्दै गर्नुस् है भिनाजु…….भन्ने बिजय बरालको प्रस्तुति होस् वा छोरीलाई बेहुला खोज्ने क्रममा कोइराला, देउवा र ओलीनै भएपनि हुन्न……भन्ने लोकेन्द्र लेखकको पन्च लाइनहरू दमदार छन् ।
तर,सिनेमामा मानसिक द्वन्द र उथलपुथल भने भरपुर देख्न सकिन्छ। विवाहको उमेर भइसक्दा पनि विवाह नहुँदा महिलालाई हुने मानसिक दुःख, हुनलागेको विवाह भाँडीने र बिग्रीने, त्यसमाथि समाजले कुरा काट्ने चलन,घरकालाई पनि छोरी बोझ भएजस्तो लाग्ने र आफूले मन पराएको जोडीसँग नभएर अर्कैसँग जोडी बाँधिन बाध्य हुनुपर्ने जस्ता पारिवारिक झमेलाहरुलाई यथार्थवादी रुपमा सिनेमामा प्रस्तुत गरिएको छ|
सिनेमामा मुख्य पात्रको भूमिका निर्वाह गर्ने स्वस्तिमाको अभिनय र डायलग डेलिभरी उत्कृष्ट छ भने उनकै वास्तविक तथा सिनेमाका जोडि निश्चल बस्नेतको अभिनय पनि पात्र सुहाउँदो नै छ। बुबाको भुमिका निर्वाह गर्ने लोकेन्द्र लेखकले पनि अभिनयमा कुनै कमि देखाएका छैनन्। आमाको भुमिकामा रहेकी सिरु बिष्टको अभिनयले भने अलि मन छुन सकेन।मामा पात्र खेल्ने बिजय बरालको अनुपस्थितीमा त सिनेमा नै निरस हुने थियो। अन्य सिनेमा जस्तै उनले आफ्नो उत्कृष्ट अभिनयद्वारा भूमिकालाई न्याय गरेका छन्। हजुरआमा पात्र बसुन्धरा भुसालले आधुनिक हजुरआमा बनेर जीवन्त अभिनय गरेकी छन्। नयाँ कलाकार लाग्ने बहिनी पात्र र छिमेकीको छोरो पात्रहरूको प्रेम जस्तै देखिने चञ्चले वाला अभिनयले पनि सिनेमालाई हेरिरहुँ झैं लाग्ने बनाएको छ।छोटो भुमिकामा हजुरबा बनेर अभिनय गरेका टिका पहाडीको इन्ट्री जसरी शानदार लाग्छ तर, पछिका वार्तामा फितलो लाग्न सक्छ।
समग्रमा भन्नुपर्दा विषयका हिसाबले बेहुली फ्रम मेघौली तारिफयोग्य सिनेमा बनेको छ। उमेरमै छोरीको विवाह हुनुपर्छ र गर्नुपर्छ भन्ने मान्यताका साइडइफेक्ट प्रस्तुत गर्दै विवाह व्यक्तिको एकल स्वतन्त्रता र रोजाइको विषय हुनुपर्छ अनि छोरीलाई घर बाट बिदाई नै गर्नुपर्छ भन्ने कुरालाई निशेध गर्न सकेकोले पनि सिनेमाले सकारात्मक सन्देश पनि छाडेको छ।
समग्रमा बेहुली फ्रम मेघौलीले झटारो हानेको अर्को बिषय के हो भने छोरा होस् वा छोरीको विवाह अब सामाजिक र पारिवारिक सम्बन्ध र चासोको विषयमात्र रहेन । अब यसले अर्को डरलाग्दो र भयानक बिषयपनी बहसमा ल्याएको छ। त्यो भनेको विवाह एउटा पूँजीवादको नाफा-नोक्सानको हिसाबसमेत हुन थालेको छ। पिआर,डिभी वा वैदेशिक कमाइले पनि विवाहलाई प्रभावित पार्न थालेको कुरालाई बेहुली फ्रम मेघौलीले प्रस्तुत गरेको छ।