आँखी झ्यालबाट मल्लकालीन भाषा–साहित्य हेर्दा
प्रा. खगेन्द्रप्रसाद भट्टराई
प्राध्यापक रामावतार यादवबाट उपहारको रुपमा पाएको भुपतिन्द्र मल्लको पुस्तक परशुरामोपाख्यना-नाटक (Bhupatindramalla’s Parsuramopakhyana सरसर्ती पढें । यो नाटक भक्तपुरका राजा भूपतिन्द्र मल्ल (सन् १६७२–१७२२) ले आफ्नो छोरा रणजीत मल्लको मुण्डन संस्कारको उपलक्ष्यमा देवीदेवतालाई उक्त शुभकार्यको सफलताको लागि प्रार्थना गर्दै राजकीय अतिथिहरुलाई मनोरंजन प्रदान गर्नका लागि लेखेका हुन् ।
यो मैथिली नाटक नेवारी लिपिमा लेखिएको छ । यसलाई प्राध्यापक यादवले देवनागरी लिपिमा मैथिली भाषामा र रोमन लिपिमा अंग्रेजीमा लिप्यन्तरण गरेका छन् । उनले यसलाई अंग्रेजी भाषमा अनुवाद पनि गरेका छन् । ३३१ पृष्ठको पुस्तक ५ खण्डमा विभाजित छ ।
पुस्तकको परिचयमा प्राध्यापक यादवले धेरै कुराहरु उल्लेख गरेका छन् । जर्ज ग्रियरसनले सबभन्दा पहिले मैथिली भाषाका ठूला कवि विद्यापतिका कृतिहरु सहित अन्य कृतिहरुको अनुवाद गरेपछि अरु विद्वान्हरुले पनि मैथिली भाषामा लेखिएका कृतिहरु अध्ययन गर्न थालेको कुरा उल्लेख छ ।
तर मूल पाठ कमै मात्रामा देखा पर्यो । त्यसैले प्रा.यादवले नाटकको हुवहु लिप्यन्तरण देवनागरी र रोमन लिपिमा गरेका हुन् । अंग्रेजीमा गरिएको अनुवाद पनि त्यस्तै किसिमको छ । उनको यो कार्यले त्यस बेलाको मैथिली भाषाको स्वरुप/संरचना र लेखन विधि माथि अध्ययन गर्न चाहने अनुसंधानकर्ताहरुलाई उपयुक्त सामग्री उपलब्ध हुनेछ ।
मैथिली भाषा नेपाल र भारतको सिमानामा प्रचलनमा रहेको भाषा हो । यो करीव ३ करोड व्यक्तिहरुले प्रयोग गर्ने भाषा भनेर पुस्तकमा उल्लेख छ । नेपाल–तिरहुत–मिथिलाको सम्बन्ध धेरै पहिलेदेखि भएको देखिन्छ ।
नेपालको इतिहासमा सन् १२०० देखि सन् १७६९ सम्मको समयलाई मल्लकालीन समय मानिन्छ । मल्ल राजाहरुको समयमा वंगाली, मैथिली, संस्कृत, नेवारी र हिन्दी भाषाहरु नेपाल उपत्यकामा प्रचलनमा रहेका थिए । सुरुमा बंगाली भाषा दरवारिया भाषा थियो र साहित्य सृजनाको पनि । पछि नेपाल उपत्यकाका राजाहरुले आफ्ना पूर्खाहरुको खोजी गर्दै जाँदा उनीहरुको संबन्ध भारत–तिरहुतको कर्नाटा वंशसँग जोडिन पुग्यो । खास गरी जगज्योतिर्मल्ल (सन् १६१४–१६३७) को समयमा उक्त तथ्यको आधिकारिक जानकारी भयो । त्यसपछि मल्ल राजाहरुले मैथिली भाषालाई बढी प्राथमिकता दिन थाले र साहित्य सृजना पनि विशेष गरी मैथिली भाषामा नै हुन गयो ।
सिमरौनगढका राजाहरुले नेपाल उपत्यकाका मल्ल राजाका छोरीहरु विवाह गर्न थालेपछि मैथिली भाषा अझ बढी प्रचलनमा आएको बुझिन्छ । मैथिलीलाई सम्मानपूर्वक राजकीय भाषा तथा सरकारी भाषाको रुपमा प्रयोग गरिएको देखिन्छ ।
धेरै मल्ल राजाहरु साहित्य पढ्दथे र साहित्य सृजना पनि गर्दथे । उनीहरुले लेखेका नाटकहरु धेरैजसो मैथिली भाषामा हुन्थे । भक्तपुरका राजाहरुमध्ये भूपतिन्द्र मल्ल सबभन्दा शक्तिशाली र लोकप्रिय थिए । उनको साहित्यमा ठूलो योगदान छ । उनले मैथिली भाषामा २६ वटा, नेवारी भाषामा ४ वटा र संस्कृत भाषामा १ वटा गरी ३१ वटा नाटकहरु लेखेको कुरा उल्लेख छ ।
प्राध्यापक यादवले राजा भूपतिन्द्र मल्लले लेखेको नाटक पर्शुरामोपाख्यानलाई विभिन्न कोणबाट हेरेका छन् । त्यस बेला नाटकमा प्रयोग गरिएको मैथिली भाषाको गहिरो अध्ययन गरी त्यस भाषाको व्याकरण उतारेका छन् ।
मैथिली भाषाको वर्णविन्यास, ध्वनिशास्त्र, ध्वनि विज्ञान, भाषाको स्वरुप, वाक्य विन्यास, अर्थ विज्ञान आदि विभिन्न पक्षको विस्तृत विश्लेषण गरेका छन् । मैथिली भाषाको चिरफार गरेका छन् । उनको अनुसन्धानको मुख्य उद्देश्य मैथिली भाषाको व्याकरण अध्ययन गर्नु नै हो ।
प्राध्यापक यादवले नाटकका अन्य पक्षहरुलाई पनि केलाएका छन् । नाटक लेख्नुको उद्देश्य, नाटकको मूल कथा र सहायक कथाहरु, नाटकका पात्रहरु, अंक र दृश्यहरु, रंगमञ्च निर्देशन आदिका बारेमा पनि समीक्षात्मक टिप्पणी गरेका छन् ।
नाटक पौराणिक कथामा आधारित छ । कथा यस प्रकार छ – कनौज देशका राजा रेनुकी रेनुका नाउँ गरेकी एक सुन्दर कन्या थिइ्न् र रेनुकाको विवाहको उमेर भएपछि राजाले छिमेकी देशका राजा/राजकुमारहरुलाई बोलाएर आफ्नी छोरीलाई मन परेको पुरुषलाई स्वयंवर गर्नको लागि भने । रेनुकाले उपस्थित राजाहरु/राजकुमारहरुमध्ये कसैलाई पनि नछानी एक ऋषिका पुत्र जमदगनीलाई आफ्नो पति स्वीकार गरी माला लगाइदिइन् ।
यस्तो भएपछि त्यहाँ उपस्थित सबै राजाहरुले आफ्नो अपमान भएको ठानी राजा रेनुको विरुद्धमा लडाईं गरे । राजा रेनु र जमदगनी भएर ती सबैलाई परास्त गरे ।
त्यसपछि धुमधामसँग रेनुकाको जमदगनीसँग विवाह भयो । स्वर्गका राजा इन्द्रले रेनुकालाई कामधेनु गाई उपहारको रुपमा दिए । रेनुका र जमदगनीका तीन छोराहरु भए । स्वयं विष्णु भगवानको रेनुकाको गर्भबाट कान्छो छोराको रुपमा अवतार भयो र परशुराम नाउँ राखियो । परशुरामले महादेव र गणेशसँग शस्त्र ज्ञान हासिल गरी कुशल योद्धा भए ।
जमदगनीलाई एक चोटि आफ्नो पत्नीको सतित्वमाथि शंका लाग्यो । त्यसैले उनले आफ्ना जेठा र माहिला छोरालाई आफ्नो आमाको हत्या गर्ने आदेश दिए । तर उनीहरुले मानेनन् । त्यसपछि उनले परशुरामलाई सोही आदेश दिए । परशुरामलाई पनि आफ्नी आमाको हत्या गर्ने कुरा सजिलो थिएन, तर पनि बाबुको आदेश पालना गरे । जमदगनीले परशुरामको आज्ञाकारिताबाट प्रशन्न भएर रानी र दुवै छोराहरुलाई पुनः जीवित गरे ।
एक दिन महिस्मती देशका राजा सहस्रार्जुनले जमदगनीको कुटीमा आएर उनीसँग रेनुकाले उपहारको रुपमा पाएको कामधेनु गाई मागे । जमदगनीले यो स्त्रीधन भएकोले दिन नमिल्ने भन्ने जवाफ दिए । सहस्रार्जुनले जवरजस्ती गाई लैजान खोज्दा लडाईं भयो र जमदगनी मारिए । आफ्ना पति विना कारण मारिएकोमा रेनुका अति दुःखित भइन् । उनले परशुरामलाई बाबुको हत्याको बदला लिन आग्रह गरिन् । परशुराम एक कुशल योद्धा थिए । उनले सहस्रार्जुनसँग लडे र उनलाई मारे । कथा यहीं समाप्त हुन्छ ।
यसरी नाटकले आफ्नो समय अनुसारको कथावस्तुलाई लिएको छ । त्यो समयमा संसारभरि नै देवीदेवता र राजामहाराजाहरुको बारेमा नाटक तथा अन्य साहित्यिक कृतिहरु लेखिन्थे । नाटकमा मैथिली, संस्कृत, नेवारी र प्राकृत भाषाको प्रयोग गरिए तापनि धेरैजसो लेखन मैथिली भाषामा छ । सबै संवादहरु र गीतहरु मैथिलीमा छन् । मैथिली पछि संस्कृतको प्रयोग छ । संस्कृतमा भगवान शिवको स्तुति गर्दै नाटक शुरु हुन्छ र नाटकको अन्त्यमा पनि संस्कृत भाषामा आशीर्वचन छ । बीचबीचमा पनि संस्कृतको प्रयोग गरिएको छ । नाट्यमंचको निर्देशन नेवारी भाषामा छ भने केही ठाउँमा प्राकृत भाषाको पनि प्रयोग गरिएको छ ।
मलाई मल्ल कालको राज्य व्यवस्थाको बारेमा सामान्य ज्ञान थियो । तर मल्ल कालमा लेखिएका साहित्यिक कृतिहरुको बारेमा थाहा थिएन । यो पुस्तक पढेपछि मात्रै केही जानकारी भयो । हामी विद्यालय र विश्वविद्यालयहरुमा नेपाली साहित्य र अन्य मुलुकका साहित्यिक कृतिहरु पढ्दछौं र पढाउँछौं । तर हामीले आफ्नै मुलुकको केही महत्वपूर्ण साहित्यिक पाटोलाई विर्सेका रहेछौं । मल्ल कालमा लेखिएका साहित्यिक कृतिहरुले हाम्रो साहित्यलाई अझ बढी धनी बनाउने देख्तछु म । त्यसैले मल्लकालीन महत्वपूर्ण कृतिहरुलाई विद्यालय तथा विश्वविद्यालयहरुका पाठ्यक्रममा समावेश गरी विद्यार्थीहरुलाई ज्ञान दिन आवश्यक छ ।
प्राध्यापक रामावतार यादवले लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेर बिताए । केही समय नेपाल सरकार शिक्षा मंत्रालयको प्रशासनमा रहेर काम गरे । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति भए । उनी अंग्रेजी विषयका अत्यन्त सफल प्राध्यापकहरुमध्ये एक हुन् । अनुसन्धानमा विश्वास गर्दछन् । भाषाशास्त्रमा उनको विशेष दखल छ । उनले मैथिली भाषाको राम्रो अध्ययन गरी पुस्तकहरु लेखेका छन् ।
यो पुस्तक तयार गर्न उनले निकै मिहिनेत गरेको देखिन्छ । मल्लकालमा लेखिएको नाटकमा प्रयोग गरिएको मैथिली भाषाको गहन अध्ययन गरिएको छ । त्यस बेलाको नाट्यविद्याको बारेमा पनि पुस्तक पढ्दा जानकारी पाइन्छ । यो महत्वपूर्ण कार्यको लागि प्राध्यापक यादवलाई हार्दिक धन्यवाद र बधाई ।

