कुर्सीको लत : सत्ता, कर्म र जीवनको अन्तिम सत्य
नारायण बहादुर बस्नेत‘हैन नेतालाई कस्तो बसेको कुर्सीको लत,
आ–आफ्ना टाउका गनेर घोषणा गर्छन् बहुमत,
मिल्दैन कुर्सी लिएर आर्यघाट जान साथ,
कुर्सीकै लागि धर्ती आएका होइनौं जन्मजात!’
यी चार पंक्तिहरू केवल राजनीतिक व्यङ्ग्य होइनन्, जीवन र मानवीय स्वभावको गहिरो दार्शनिक दृष्टि हुन्। कुर्सी यहाँ केवल सत्ताको प्रतीक होइन — मोह, लोभ र दम्भको प्रतिरूप हो। मान्छे जन्मिएपछि केही समयसम्म सेवा गर्छ, तर जब सत्ताको स्वाद चाख्छ, त्यही स्वाद उसलाई जीवनकै उद्देश्य लाग्न थाल्छ।
तर सत्ताको कुर्सी स्थायी हुँदैन, त्यो पनि ऋतुजस्तै परिवर्तनशील छ। आज जसले घोषणा गर्छ “मसँग बहुमत छ”, भोलि उसले नै अर्कोको घोषणामा पराजय बेहोर्छ।
सत्ताको खेलमा सच्चा जनताको पीडा, नीतिको मर्यादा र देशको विकास मात्र दर्शक बनेर रहन्छ। कुर्सीको लत लागेपछि मन अन्धो हुन्छ।
त्यसपछि धर्म, कर्म, निष्ठा र इमानको अर्थ हराउँछ। सत्ता जोगाउन र शक्ति बढाउन मानिस कर्मभन्दा पनि छलकपटको बाटो रोज्छ। तर संसारका सबै धर्मशास्त्र र दर्शनले यही चेताउँछन् ।
‘कर्मको हिसाबबाट कसैलाई भाग्न सकिँदैन।’
चित्रगुप्तको रातो किताब केवल धार्मिक प्रतीक होइन, मानव विवेकको दर्पण हो।

त्यहाँ लेखिन्छ — कसले कसरी आफ्नो शक्ति प्रयोग गर्यो, कसले जनताको भरोसा तोड्यो, कसले दान र धर्मको नाममा स्वार्थ छोप्यो। त्यो लेखा मेटिँदैन, किनकि त्यो बाहिरी किताब होइन, आत्माको अभिलेख हो।
धन, सत्ता र कीर्तिको मोह अस्थायी हो। जसरी कुर्सीको काँधमा उठेको शरीर अन्ततः आर्यघाटमा काठको चुलोमा टेकिन्छ, त्यसरी नै सत्ताको दम्भ पनि समयको आगोमा खरानी हुन्छ।
तर जसले निष्ठा, सेवा र सत्यका आधारमा कर्म गर्छ, उसको नाम कालभन्दा पर पुग्छ — त्यो नै स्वर्ग हो, त्यो नै मोक्ष हो।
राजनीतिको मूल मर्म सत्ता होइन, सेवा हो। तर जब कुर्सी धर्मभन्दा ठूलो देखिन्छ, तब नीति हराउँछ, अनि राष्ट्र कमजोर हुन्छ। कुर्सीमा बस्नेहरूलाई बुझ्न जरुरी छ — ‘हामी कुर्सीका लागि धर्ती आएका होइनौं, हामी कर्मका लागि जन्मेका हौं।’
जीवनको अन्त्यमा साथ जाने कुरा पद, धन वा परिचय होइन — केवल कर्मको सुगन्ध हो। त्यसैले सत्ता हातमा हुँदा नम्र बनौं, धन हुँदा दान गर्न सिकौं, र जनताको विश्वासलाई धर्म ठानी संरक्षण गरौं।
त्यो नै साँचो नेतृत्व हो, त्यो नै कुर्सीको पवित्रता हो। कुर्सी अस्थायी हो, कर्म स्थायी।
चित्रगुप्तको रातो किताबमा सत्ताको होइन, कर्मको लेखा राखिन्छ।
आर्यघाटसम्म कुर्सी नपुग्ने हो- कर्म चाहिँ पुग्छ।

