एमाले फर्किनेका कुरा : ‘पद चाहिन्न, हाँसेर बोलिदिए पुग्छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किने तयारी गरेका नेताहरू रामकुमारी झाँक्री,किसान श्रेष्ठ लगायतले आफूहरुलाई कुनै पद नचाहिएको बताएका छन् ।
आज पत्रकार सम्मेलन गरेर उनीहरुले अब एकीकृत समाजवादी सकिएको र साेंचे जस्तो केही गर्न नसकिएको पनि स्वीकार गरे। त्यतिबेला जुन उदेश्य र लक्ष्य बोकेर एमाले पार्टी बिभाजन गरियो त्यसमा पछुतो छ भन्दै उनीहरुले अब हाँसेर एमाले हौं भन्न कुनै अफ्ट्यारो नहुने प्रष्ट्याए।
समाजवादीको पूर्व सचीव र पूर्वमन्त्री समेत रहेकी नेतृ झाँक्रीले नेकपा एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा पत्रकार सम्मेलन मै गरेकी थिइन् । उनले माओवादीसँग पार्टी एकताको निर्णयसँगै नेकपा एस विसर्जन भएको बताइन् ।
त्यसैगरी नेता श्रेष्ठले अब एमाले प्रवेश नभएर मुलघर फर्किन लागेको भन्न रुचाए। ‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मुलघर एमालेमा फर्किन लागेका छौं’ उनले भने-,मुलघर फर्किने क्रममा एमालेसँग वार्ता संवादमै छौं,पद मागेका छैनौं। हामीलाई हाँसेर बोलिदिए मात्रै पुग्छ।’
पूर्वमन्त्री तथा नेता श्रेष्ठले अगाडि थपे, ‘हामीलाई मुलघरमा केही चाहिएको छैन । हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौं। हामीलाई निशर्त फर्किनका लागि एमालेले वातावरण बनाइदेओस्।’
पद चाहिन्न भनेर पत्रकार सम्मेलन गरेपनी नेकपा एमालेले भने झाक्री र श्रेष्ठलाई पोलिट्ब्युरो सदस्य बनाउने भएको छ। समाजवादीमा पूर्व सचीव र हाल स्थायी कमिटीमा रहेकी झाक्री एमाले फर्किने कुराले एमाले नेताहरू महेश बस्नेत,योगेश भट्टराई लगायतले स्वागत गरेका छन् ।

