वीपीको राजनीतिक पक्ष : सात सालको क्रान्तिदेखि १५ सालको निर्वाचनसम्म

प्रा. खगेन्द्रप्रसाद भट्टराई

विश्वेश्वर प्रसाद कोइराला (वी. पी.) एउटा राजनीतिक पृष्ठभूमि भएको परिवारमा जन्मेका थिए । उनका पिता कृष्ण प्रसाद कोइराला नै निरंकुश राणा शासनको विरुद्धमा थिए । उनको घरमा पढेलेखेका मानिसहरुको जमघट भइरहन्थ्यो र मुलुकको अवस्था तथा विश्वपरिस्थितिका बारेमा छलफल तथा विचारविमर्श भइरहन्थ्यो ।

स्कूलमा पढ्दा उनी गान्धीजीबाट प्रभावित भएका थिए । कलेजमा हुँदा केही समय उनलाई कम्युनिस्ट विचारधाराले प्रभावित गर्‍यो । पछि भारतीय समाजवादी नेताहरु जयप्रकाश नारायण, आचार्य नरेन्द्रदेव आदिसँग नजीक भए । जयप्रकाश नारायणको उनमाथि ठूलो प्रभाव पर्‍यो । उनी प्रजातान्त्रिक समाजवादमा विश्वास गर्न थाले र जीवनभर प्रजातान्त्रिक समाजवादी भएर रहे ।

वी. पी. ले कानूनको अध्ययन पूरा गरेपछि दार्जीलिङमा केही वर्ष वकालत गरेर बसेको कुरा मैंले अघिल्लो लेखमा लेखिसकेकको छु । त्यो बेला भारतमा गान्धीको नेतृत्वमा अंग्रेजविरुद्ध आन्दोलन चलिरहेको थियो । भारत अंग्रेजबाट स्वतन्त्र हुन चाहन्थ्यो । नेपालमा पनि केही जोशिला युवाहरुले राणाको एकतन्त्री जहानिया शासनको विरोधमा आवाज उठाउन थालेका थिए । राणाहरु उनीहरुलाई दबाउन चाहन्थे । गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई नागरिक अधिकार मागे वापत राणाले क्रुरतापूर्वक मारे भने टंक प्रसाद आचार्य, रामहरि शर्मा, गणेशमान सिंह आदि युवाहरुलाई जेलमा राखेर यातना दिइराखेका थिए । यो परिस्थितिमा वी. पी. को मन दार्जीलिङको वकालत पेशामा मात्रै सीमित भएर बस्न मानेन । त्यसैले उनले वकालत पेशा छोडी राजनीतिमा प्रवेश गरे ।

सन् १९४२ मा गान्धीजीले अंग्रेज विरुद्ध चलाएको ‘भारत छोडो’ आन्दोलनमा सहभागी भए वापत् वी. पी. पटनामा पक्राउ परे र उनलाई जेल चलान गरियो । वी. पी. लाई पठाइएको जेलमा डा. राजेन्द्र प्रसाद, जो पछि स्वतन्त्र भारतको राष्ट्रपति भए, पनि थुनिएका थिए । उनीहरु दुवै जना केन्द्रीय सरकारका बन्दी थिए । उनीहरुलाई विभिन्न जेलमा सारियो । जेलमा वी. पी. को धेरै नेताहरुसँग सम्पर्क भयो । विभिन्न विषयमा छलफल तथा विचार विमर्श हुन्थे । आन्दोलनको क्रममा अरु नेपालीहरु धरणीधर शर्मा, सूर्थ विक्रम ज्ञवाली, सूर्य प्रसाद उपाध्याय, डिल्लीरमण रेग्मी साथै अरु नेपालीहरु प्नि समातिएका थिए (पृष्ठ ३३) ।

दोस्रो विश्वयुद्ध (सन् ११९३९ — १९४५) समाप्त भएपछि र भारत स्वतन्त्र भएपछि वी. पी. लाई नेपालमा प्रजातन्त्र स्थापनाको कार्य अगाडि बढाउने सोच आयो । यसमा भारतीय नेताहरुले पनि सघाउनेछन् भन्ने उनलाई विश्वास थियो । किनभने उनीहरुले संसारको कुनै पनि मुलुकले स्वतन्त्रताको लागि गरेको संघर्षमा सहानुभूति राख्ने नीति लिएका थिए ।

वी. पी. ले सन् १९४६ अक्टूबर ४ तारिखमा एउटा वक्तव्य प्रकाशित गरेर (पृष्ठ ३४) नेपालमा प्रजातन्त्र स्थापनाको लागि एउटा प्रजातान्त्रिक संगठन बनाउन आवश्यक भएको कुरा गर्दै त्यसमा सहमति जनाउनेहरुले उनीसँग सम्पर्क गर्नको लागि आग्रह गरे । त्यसको धेरै राम्रो प्रतिक्रिया आयो, भारतमा रहेका नेपालीहरु तथा नेपालबाट । त्यसले वी. पी. लाई उत्साह प्रदान गर्‍यो र उनी प्रजातान्त्रिक संगठन निर्माण र विस्तारमा लागे । यसरी वनारसमा वी. पी., मातृका प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, गोपाल प्रसाद भट्टराई, डिल्लीरमण रेग्मीहरुले मिलेर २००३ साल माघमा ‘नेपाली राष्ट्रिय काँग्रेस’ नाउँको राजनीतिक पार्टीको स्थापना गरे । यसको सभापति टंक प्रसाद आचार्र्य भए, तर उनी नेपालको जेलमा भएको हुँदा वी. पी. ले कार्यवाहक सभापतिको हैसियतले काम गरे । कृष्ण प्रसाद भट्टराई महासचिव भए । उता कलकत्तामा सुवर्ण शमशेरको सकृयतामा नेपालमा प्रजातन्त्र स्थापनाका लागि २००५ साल पुस महिनामा ‘नेपाल प्रजातान्त्रिक कांग्रेस’ को स्थापना भयो । यसको सभापति महेन्द्र विक्रम शाह भए भने महासचिव सूर्य प्रसाद उपाध्याय । दुवै कांग्रेसले नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउने उद्देश्य राखेका थिए । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस दुवैको एउटै उद्देश्य भएको हुंदा २००६ साल चैत्र महिनामा दुवै पार्टी एक भए र पार्टीको नाउँ ‘नेपाली काँग्रेस’ राखियो । नेपाली काँग्रेसको पहिलो सभापति मातृका प्रसाद कोइराला भए भने महासचिव महेन्द्र विक्रम शाह ।

विराटनगरको मजदूर आन्दोलन र गिरफ्तारी

सन् १९४७ मा गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जूट मिलमा विरोधको कार्यक्रम शुरु भयो । मजदूरहरुमाथि मिल मालिकले शोषण गरेका थिए । उनीहरुको सुविधाको कुनै वास्ता गरिएको थिएन । उनीहरुलाई खानेपानीसम्मको व्यवस्था गरिएको थिएन । बस्ने व्यवस्था नाजुक थियो । त्यो मिलमा गिरिजा प्रसाद कोइराला, तारिणी प्रसाद कोइराला, मनमोहन अधिकारी आदि व्यक्तिहरु मिलका कर्मचारीको रुपमा काम गर्दथे । उनीहरुले मजदूरहरुको हकहितको लागि आवाज उठाउँदै हड्ताल शुरु गरे । ट्रेड युनियन बनाउन पाउनु पर्र्ने माग राखे ।

यो हड्ताल/आन्दोलनलाई जनताले व्यापक समर्थन दिए र यसले राजनीतिक रुप लियो । बीचमा वी. पी. ले भारतबाट आएर आन्दोलनलाई थप उचाई दिए । त्यसैले वी. पी., गिरिजा, तारिणी, मनमोहन लगायत अरु केहीलाई राणा सरकारले गिरफ्तार गर्‍यो । वी. पी. की आमा र भाइबुहारीहरु पनि समातिए । धनकुटामा यी सबै बन्दीहरुलाई राख्ने ठाउँ नभएको हुँदा वी. पी. र उनीसँग गिरफ्तारमा परेकाहरुलाई पहाडको बाटो गरी ३ हप्ता लगाएर काठमाडौं ल्याइयो । ३ हप्ताको पहाडी बाटोको हिंडाई र ठाउँठाउँको बसाईले वी. पी. लाई नेपालीहरुको जनजीवन, जीवनस्त्तर बुझ्नको लागि एकातिर काम गर्‍यो भने अर्कोतिर मुलुकको लागि राजनीतिक परिवर्तनपछिको आर्थिक खाका कोर्न । यसले नेपाली काँग्रेसलाई जनता समक्ष परिचित गराउने अवसर पनि मिल्यो भन्छन्‌, वी. पी. ।

काठमाडौं आएपछि तत्कालीन राणा प्रधानमन्त्री पद्य शमशेरको दरवार विशालनगर लगियो । गर्मीको समय थियो । केही विद्यार्थीहरु त्यहाँ उपस्थित थिए, तर उनीहरुले केही बोल्न सकेनन् । त्यस्तो त्रासको वातावरण थियो । एक जना ढोकेले अति अभद्र व्यवहार गरेकोमा वी. पी. लाई रिस उठ्यो र उनले त्यसलाई दुई चड्कन दिए । त्यसको दरबारमा ठूलै हल्ला भयो । त्यो देखेर विद्यार्थीहरु, जो टाढै बसेका थिए, अलि नजीक आए । उनीहरुलाई वी. पी. ले सम्बोधन गर्दै आँटिलो हुन सल्लाह दिए ।
वी. पी. लगायत उनीसँग आएकाहरुलाई बन्दी बनाइयो । बन्दी बसाइ ठीकै थियो, खानपान राम्रै थियो भन्दछन्, उनी । तर उनको घाँटीको समस्या बढेको हँुदा उनलाई छोडियो र उनी उपचारको लागि भारत गए ।

वी. पी. र वसन्त शमशेरको योजना

वनारसमा प्रधानमन्त्री पद्य शमशेरका छोरा वसन्त शमशेरसँग वी. पी. को भेटघाट र चिनजान भयो । वी. पी. भन्दछन् कि वसन्त शमशेर अलि साहसिला थिए र उनलाई नेपालमा राणाहरुले गरेको अत्याचार मन परेको थिएन ।

पद्म शमशेर, उनका बुवा, प्रधानमन्त्री भए पनि अरु राणाहरुले उनीहरुलाई निकै दुःख दिएका थिए । त्यसैले उनले वी. पी. लाई ५/६ वटा ग्रिनेडहरु उपलब्ध गराइदिए प्रमुख राणाहरुलाई सिध्याइदिने वचन दिए । वी. पी. ले उनले भने बमोजिम ग्रिनेडहरु उपलब्ध त गराए, तर काम हुनसकेन ।

वी. पी. फेरि काठमाडौंमा गिरफ्तार

भारतमा केही समय बसेपछि वी. पी. लाई काठमाडौं आउने इच्छा भयो । काठमाडौंमा त्रिभुवर सिंह र अन्य काँग्रेसीहरुसँग उनको सम्पर्क भइरहेको थियो । वी. पी. ले काठमाडौं आउने कुरामा गणेशमानजी, रुद्र गिरी, गोपाल प्रसाद भट्टराई र यस्तै अरु केही व्यक्तिहरुसँग सल्लाह गरेका थिए । यसरी वी. पी., कृष्ण प्रसाद भट्टराई र केदारमान व्यथित काठमाडौं आउने भए ।

त्यति बेला काठमाडौं आउन सजिलो थिएन । विभिन्न चेक पोस्टहरु पार गरेर आउनुपर्दथ्यो । राहदानीको आवश्यकता पर्दथ्यो । त्यसैले उनीहरु भेष बदलेर विभिन्न कठिनाईहरु झेलेर काठमाडौं आए । वी. पी. ले ब्राम्हणको रुप लिए भने किसुनजी उनको चेला बने । केदारमान व्यथित व्यापारी । पहिरन पनि सोही अनुरुपको । यो सन् १९४८ तिरको कुरा हो ।

काठमाडौंमा उनीहरु पूर्णबहादुरको घरमा बसे । सुरक्षाको समस्या थियो । त्यसैले वी. पी. ठाउँठाउँमा सरेर बस्नु पर्‍यो; लुकेर घर सर्नुपर्दथ्यो । केही समयपछि वी. पी. काठमाडौं आएको हल्ला चल्यो र उनको खोजी भइरहेको थियो । वी. पी. ले काठमाडौंको बौद्धिक व्यक्तिहरुबाट त्यति सकारात्मक कुराहरु पाएनन् । उनी भन्छन्, व्यर्थ र अनावश्यक बहस हुन्थ्यो उनीहरुसँग । ठूला कुरा गर्ने र सहयोग केही नगर्ने । उनीहरुले वी. पी. लाई ‘तिमी राजावादी हौ’ (८१) भनेर आलोचना गरेको कुरा गर्दछन् ।

तर विस्तारै काठमाडौं आएपछि वी. पी. ले जनसम्पर्क बढाए र उनी मानिसहरुलाई नागरिक स्वतन्त्रता र उत्तरदायी शासनको महत्वको बारेमा सम्झाउँथे । वी. पी. त्रिरत्नको घरमा बसिरहेको बेला कर्णेल चन्द्र बहादुर थापाले अचानक उनलाई र उनका केही सहयोगीहरुलाई गिरफ्तार गरे । उनीहरुलाई सिंहदरबार लगियो । राणा प्रधानमन्त्री मोहन शमशेरको आदेशमा उनलाई नेल र हत्कडी लगाइयो । त्यस बखत उनले भोगेको यातनाको उनी यसरी वर्णन गर्दछन् : ‘त्यो अडर आएपछि नेल लगाए, हतकडी लगाए, कम्मरमा जन्जीर लगाए । त्यसरी पनि मान्छेलाई राख्छन् भन्ने मलाई कल्पनासम्म पनि थिएन । जन्जीर लगाउँदा त उस्तो बुझिंदैनथ्यो, तर नेल लगाउनको लागि जब ठोक्नु पर्दथ्यो, कस्तो क्रूर, कस्तो अमानवीय थियो’ (पृष्ठ ८८) ।

पछि वी. पी. लाई सिंहदरवारभित्रै बयान गराउने ठाउँमा लगियो जहाँ हरि शमशेर, च्यान्टा गुरु, मरिचमान सिंह आदि व्यक्तिहरु बसिरहेका थिए । उनीहरुले वी. पी. लाई केरकार गर्न थाले । उनलाई ‘तिमी यहाँ राजाकाज उडाउन आएका होइनौं ?’ (९१) भनेर सोधियो । वी. पी. ले ‘हामीले राज्य ताकेका होइन । हामीले नागरिक स्वतन्त्रताहरु, वैधानिक र उत्तरदायी शासन हुनुपर्दछ भनेको हो’ भनेर जवाफ दिए । उनीहरुले उनका मतियारहरु जान्नलाई वी. पी. लाई धेरै दबाव दिए । तर वी. पी. ले जतिसुकै दबाव दिए पनि उनीहरुको बारेमा भनेनन् । ३ दिनपछि उनलाई कोर्रा लगाउने कुरा भयो, उनबाट सबै गोप्य कुरा थाहा पाउनका लागि । तर वी. पी. यति दृढ थिए कि कुनै हालतमा पनि उनले आफ्नो अडान छोडेनन् । उनलाई लाग्यो — होस हुञ्जेलसम्म सहन्छु, बेहोस भएपछि पीडाको अनुभव नै हुँदैन (९२) ।

वी. पी. जेलमा बडो दुःखले बसे । सानो र फोहर कोठा, आफू बस्ने कोठाभित्र एउटा प्वाल छ दिसा बस्नका लागि; त्यसैलाई ईंटाले छोपेर राख्नुपर्ने । दुर्गन्ध आइरहन्छ । दिएको दाउराले खाना पकाउन पुग्दैन, तरकारी खान पाइंदैन । कोहीसँग सम्पर्क छैन (९४/९५) । बडो जुक्ति पुर्‍याएर, सुरक्षाकर्मीको आँखा छलेर उनले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुलाई आफ्नो अवस्थाको बारेमा चिठी लेखे । उनी भन्दछन्, ‘जवाहरलालजी त्यो (चिट्ठी) पढेर रोएका छन्‌’ (पृष्ठ ९८) ।

अनसन

६ महिनासम्म बिना कसैसँग सम्पर्क भएर त्यसरी बस्नुपर्दा उनलाई ठूलो मानसिक तनाव भयो । निकै उकुसमुकुस भयो । बेचैनी भयो । केही नगरी मरिन्छ कि भन्ने लाग्यो उनलाई । त्यसैले केही गरेर राजनीतिक प्रभाव पार्न खोजे । त्यही सोचले उनले अनसन बस्ने निर्णय गरे । उनी भन्दछन्, ‘मलाई के लाग्यो भने यसरी म पागल भएर नै मरुँला । त्यसो हुनाले, एउटा अनसन बसेर, एउटा धमाका गरेर मर्नु नै असल होला र त्यसको राजनीतिक प्रभाव पनि पर्नेछ’ (पृष्ठ ९८) ।

यसरी वी. पी. अनसन बसे । यो सन् १९४८ तिरको कुरा हो । अनसनको ठूलो प्रभाव पर्‍यो देश विदेशमा । मोहन शमशेरले विभिन्न व्यक्तिहरु पठाएर अनसन तोड्नका लागि दबाव दिए । तर वी. पी. ले मानेनन् । २४औं दिनमा उनी मुर्छा परे । त्यसैले उनको ज्यान जोगाउनका लागि जवाहरलाल नेहरु, जयप्रकाश नारायण जस्ता भारतीय नेताहरुले मोहन शमशेरलाई दबाव दिए । त्यसको फलस्वरुप वी. पी. की आमा, श्रीमती सुशीला कोइराला र परिवारका अन्य सदस्यहरुलाई भारतबाट काठमाडौं ल्याइयो र उनीहरु मार्फत् अनसन तोड्नका लागि दबाव दिन खोजियो । यस सिलसिलामा वी. पी. की आमाको भेट मोहन शमशेरसँग भयो र त्यस बखत वी. पी. की आमाले देखाएको साहस प्रशंसनीय छ ।

मोहन शमशेरले अत्यन्त कमजोर अवस्थामा रहेका वी. पी. लाई उनकी आमाको जिम्मा लगाउन खोजे र भने, ‘अब तिम्रो जिम्मा छन् तिम्रो छोरा’ (पृष्ठ १०३) । आमाले भनिन्, ‘जबसम्म छुट्दैन, त्यो सरकारको जिम्मा हो । उ मर्‍यो भने सरकारको जिम्मा हुन्छ ।’ फेरि मोहनले भनेछन्, ‘त्यसो भए तिम्रो छोरा मर्छ ।’ यो भनाईमा आमाले भनिछन्, ‘मैंले यही ठाउँमा आफ्नो दुलाहालाई सेलाएँ, म आफ्नो छोरो यहीं सेलाउन आएकी छु । यो धम्की मलाई दिनुपर्ने जरुरत छैन’ (पृष्ठ १०३) ।

वी. पी. का पिता कृष्ण प्रसाद कोइरालालाई जुद्ध शमशेरले भारतको स्वतन्त्रता संग्रामको बेला भारतीय नेताहरुलाई खानेबस्ने व्यवस्था गरिदिए भनेर जेलमा हाले र उनको मृत्यु जेलमा नै भएको थियो ।

केही नलागेपछि बाहुनको छोरा, फेरि भारतीय नेताहरुको दबावका कारण मोहन शमशेरले वी. पी. लाई अनसन बसेको २९औं दिनमा जेलबाट मुक्त गरे ।
छुटेको केही दिनपछि वी. पी. को मोहन शमशेरसँग भेट भयो (पृष्ठ १०४) । मोहन शमशेरले उनलाई गाथगादी ताकेको भनेर आरोप लगाए । त्यसमा वी. पी. ले गाथगादी ताकेको नभएर नागरिक अधिकार र जनउत्तरदायी शासन व्यवस्था खोजेको कुरा गरे । मोहन शमशेर जनअधिकार दिने पक्षमा देखिएनन् । करीब आधा घण्टाको भेटमा सकारात्मक कुरा केही भएन ।

संगठन विस्तार

वी. पी. जेलमै भएको बेलामा छात्रावास सम्बन्धी केही माग राखेर ‘जयतु संस्कृतम्‌’ को आन्दोलन शुरु भएको थियो । त्यसमा काशीनाथ गौतम, श्रीभद्र शर्मा, राजेश्वर देवकोटा जस्ता विद्यार्थीहरुले नेतृत्व गरेका थिए । उनीहरुलाई छात्रावासबाट निकालियो र पछि उनीहरु नेपाली काँग्रेसमा समावेश भए । डा. के. आई. सिंह, जो त्यति बेला नौतनवामा प्राक्टिस गरेर बसेका थिए, पनि काँग्रेसमा आवद्ध भए । तराईबाट रामेश्वर सिंह, काशीप्रसाद श्रीवास्तवहरुले पनि वी. पी. लाई साथ दिए । यसरी देशभरि जस्तै जन अधिकारको पक्षमा प्रभाव र प्रसार बढ्दै गयो ।

सशस्त्र संघर्ष बारे

एक चोटि कलकत्तामा सुवर्ण शमशेर र वी. पी. को भेट हुँदा सुवर्ण शमशेरले गान्धीवादी भएर नेपालमा परिवर्तन गर्न नसकिने कुरा गर्दै सशस्त्र क्रान्ति गर्नु पर्ने कुरा राखे । पैसा जुटाउन सकिएको खण्डमा सशस्त्र क्रान्ति गर्न सकिने कुरा वी. पी. को रह्यो । सुवर्णले हतियार किन्न आवश्यक रकम व्यवस्था गर्ने भए र दुवै जना मिलेर हतियार संकलनको जिम्मा लिने भए । हतियार बर्माबाट किनेर ल्याउने कुरा भयो । राजाको नाउँबाट क्रान्ति गर्दा राणाले राजालाई बन्दी बनाउन सक्तथे । त्यसैले राजालाई पाल्पा लगेर नयाँ सरकार बनाउने योजना भयो; नयाँ सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने र क्रान्तिलाई अगाडि बढाउने कुरा भयो । त्यसैले पाल्पाका कमाण्डर–इन–चिफलाई विश्वासमा लिनको लागि वी. पी. पाल्पा गएर सबै व्यवस्था मिलाए (११०) ।

भारतले पनि नेपालको बारेमा चाख लिइराखेको थियो; भारतीय नेतृत्व राजाको सम्पर्कमा थियो । नेपाली काँग्रेसको राजालाई पाल्पा लैजाने प्रयास असफल भएपछि गणेशमान सिंह पक्राउ परे र उनलाई कारागारमा खूबै यातना दिइयो । यसै बेला राजा त्रिभुवन नेपालस्थित भारतीय दूतावासमा आफ्नो परिवार सहित शरण लिन पुगे र त्यहाँबाट दिल्ली उडे । त्यसपछि राजासँग वी. पी. हरुको सम्पर्क हुन छोड्यो । वी. पी. भन्दछन्, ‘राजा कसको नियन्त्रणमा हुन्छन् भन्ने कुरो बडो महत्वपूर्ण कुरा थियो’ (पृष्ठ ११३) । अब भारतको नियन्त्रणमा हुने भए । वी. पी. राजासँग भेट्न चाहन्थे, तर उनले राजालाई भेट्न पाएनन् । उनी भन्दछन्, ‘राजासँग भेट्न पाएको छैन । हिन्दुस्तानले पनि दिंदैन, राजाले पनि भेट्दैनन् । म कति पल्ट दिल्ली गएँ, राजाका छोरासँग भेट भयो, तर राजासँग भेट भएन’ (पृष्ठ ११५) ।

यसै अवस्थामा सशस्त्र क्रान्ति गर्ने निर्णय भयो । बर्माबाट हातहतियार ल्याइए । केही हतियार हिन्दुस्तानमा नै किनिए । ती हतियारहरुलाई बडो सावधानीपूर्वक नेपालको बोर्डरमा ल्याउने काम भयो । मुक्ति सेनाको नाउँमा सैनिकहरु भर्ती भए । हतियारको जिम्मा वी. पी र सुवर्णजीको भयो ।

क्रान्तिका लागि विभिन्न क्षेत्रमा खटिने इञ्चार्जहरु तोकिए । पूर्वी नेपालको इञ्चार्ज वी. पी. र सुवर्ण भए भने पश्चिम नेपालको महेन्द्र विक्रम शाह र सूर्य प्रसाद उपाध्याय ।
पूर्ण सिंह र थीरवम मल्लको नेतृत्वमा वीरगञ्जमा आक्रमण भयो । गोली दुवैतर्फबाट हानाहान । त्यस बेलाका वडाहाकिम सोम शमशेरको केही चलेन । उनले आत्मसमर्पण गरे । वीरगञ्ज कब्जा भयो । त्यहाँ भएका हातहतियार, पचास हजार रुपैयाँ र सुनचाँदी हात पर्‍यो । दुर्भाग्य चाहिं, वीरवम मल्लको ज्यान गयो । त्यसपछि कलैया कब्जा भयो ।

विराटनगरमा दोस्रो चोटिको प्रयासमा मुक्ति सेनाले विजय प्राप्त गर्‍यो । पूर्वका इलाम, धनकुटा, भोजपुर आदि सबै ठाउँमा विजय हासिल भयो । विराटनगर कब्जा भएपछि क्रान्तिकारीहरुको मनोबल निक्कै बढ्यो । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सप्तरी र उदयपुर सजिलै जितियो ।

पश्चिम नेपालमा भने हातहतियारको राम्रो परिचालन हुन नसकेको कुरा गर्दछन् वी. पी. । उनी भन्दछन् पश्चिम नेपालको जिम्मा लिएका इञ्चार्जहरुले राम्रो संयोजन गर्न सकेनन् । बालचन्द्र शर्मा र के. आई. सिंह हतियार उपलब्ध हुन नसकेकोमा केन्द्रीय नेतृत्वसँग निकै असन्तुष्ट भए । सुदूरपश्चिममा भरतमणिको नेतृत्वमा दाङ, देउखुरी र सल्यानका मान्छेहरु आन्दोलित भए र पुलीस चौकीहरुलाई आफ्नो कब्जामा लिए ।

काठमाडौंको वातावरण अलि भिन्ने थियो । गणेशमानजीलाई राणा सरकारले कठोर यातना दिएर थुनेको थियो । त्रिभुवनको अनुपस्थितिमा बालक ज्ञानेन्द्रलाई मोहन शमशेरले राजा बनाएका थिए र बेलायत सरकार उनलाई मान्यता दिन लागेको थियो । यसमा नेहरुले असहमति जनाउँदै बेलायतलाई मान्यता दिनबाट रोकेका थिए ।

त्रिभुवनको वक्तव्य

यसरी क्रान्ति चलिरहेको बेलामा अकस्मात क्रान्ति रोकी काँग्रेस र राणाले राजाको अध्यक्षतामा समस्याको समाधान खोज्नु पर्‍यो भनेर राजाको वक्तव्य आयो र त्यो देशैभरि छरियो । यो कुरा वी. पी. लाई असाध्यै मन परेन, विना जानकारी राजाले किन यसो गरे भनेर । त्यसपछि वी. पी. लगायत अरु नेताहरु दिल्ली गए । त्यहाँ पहिलो चोटि वी. पी. को राजासँग भेट भयो ।

वी. पी. ले सोचेका थिए कि अब सबै पक्षहरु बसेर वार्ता होला । तर त्यस्तो केही भएन । नेहरुले छुट्टा–छुट्टै भेट्ता रहेछन् । सबै जना मिलेर काम गरौं भन्ने । मोहन शमशेरको तर्फबाट खटिएका विजय शमशेर पनि वार्ताको लागि पर्खिरहेका । मातृका, वी. पी. र सुवर्ण शमशेर पनि क्रान्तिकारीहरुको तर्फबाट तयार भएर बसेका । तर वार्ता हुँदैन ।

वी. पी. भन्दछन् कि भारत सरकारको तर्फबाट सी. पी. एन् सिन्हाले त्यस बखत बडो सकृय भएर काम गरे । उनले राजालाई बारम्बार भेट्ने, मातृका, सुवर्ण र सूर्य प्रसादलाई पनि बेलाबेलामा भेट्दा रहेछन् । यी सब कुरा वी. पी. लाई थाहै छैन । अचानक राजाले शाही घोषणा गर्ने र मोहन शमशेरकै प्रधानमन्त्रीत्वमा राणा–काँग्रेस सरकार बन्ने कुरा वी. पी. ले थाहा पाए (पृष्ठ १३८) । यो कुरामा वी. पी. को आपत्ति थियो । दिल्ली सम्झौता भनेर बाहिर हल्ला भयो, तर त्यस्तो केही सम्झौता भएको होइन, उनी भन्छन् । वी. पी. भन्छन्, ‘दिल्ली सम्झौता बारे जो भन्दछन्, त्यो सम्झौता यही हो । हामीहरुको मोहन शमशेरको ग्रुपसँग कुनै कुरा भएन सम्झौता गर्ने प्रकृयामा । कुराहरु जवाहरलालजी मार्फत् भए । जवाहरलाल नेहरुले पनि कुनै ठोस कुरा गरेका होइनन् । राजाले त्यसमा कुनै भाग लिएका होइनन् । … एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको’ (पृष्ठ १४२) ।

राणा–काँग्रेस सरकार
दिल्लीबाट कुनै सम्झौता नगरी एउटा सामान्य समझदारी गरेर राजा त्रिभुवन, वी. पी. र अन्य नेताहरु नेपाल फर्किएको कुरा गर्दछन् वी. पी. । नेपाल फर्किएपछि मोहन शमशेरकै नेतृत्वमा राणा र काँग्रेसको सरकार बन्यो । त्यो सरकारमा वी. पी. गृहमन्त्री भए । देश क्रान्तिमय थियो । क्रान्तिको समयमा ठाउँठाउँमा मिलिटरी गभर्नरहरु बनाइएका थिए । उनीहरु केन्द्रलाई नमानी आफैं स्वतन्त्र हुन खोजिरहेका थिए । कुनै कुनै ठाउँमा लुटपाट मच्चिएको थियो । गृहमन्त्रीको हैसियतले वी. पी. को काँधमा देशको शान्ति सुरक्षाको चुनौती थियो । गृहमन्त्री भएपछि वी. पी. त्रिपुरेश्वरको गेष्ट हाउसमा बस्न थाले । उनको अफिस पनि त्यहीं नै राखियो, अन्त राख्ने ठाउँ नभएर ।
त्यसै बेला भरत शमशेरको नेतृत्वमा ‘गोरखा दल’को निर्माण भयो र यसले वी. पी. लाई असफल बनाउन खोज्यो भन्दछन्, वी. पी. । भरत शमशेरको बारेमा आएका सूचनाहरुको आधारमा वी. पी. ले उनलाई जेल हाले । तर उनका समर्थकहरुले जेल तोडेर उनलाई बाहिर ल्याए र वी. पी. को निवासमा गएर तोडफोड गरे । वी. पी. ले सम्झाउँदा पनि उनीहरुले मानेनन्, शान्त भएनन् । उनीमाथि आक्रमण गर्ने प्रयास भयो, त्यसैले सुरक्षाका लागि उनले गोली चलाउनुपर्‍यो । वी. पी. को निवास सबै तोडफोड र अस्तव्यस्त भएको थियो । यो कुरा राजा त्रिभुवनले थाहा पाए र उनले वी. पी. लाई दरवारमा नै बस्नको लागि बोलाए । वी. पी. केही समय राजाको पाहुना भएर बसे । भरत शमशेरलाई थुनेको कुरामा वी. पी. र मोहन शमशेरको बीचमा भनाभन र बाझाबाज भयो ।

पछि राजाको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बस्यो र बैठकमा वी. पी. ले मोहन शमशेरको राजीनामाको प्रस्ताव राखे । उपस्थित सबैले अब राणा–काँग्रेसको सरकार चल्न नसक्ने देखे । मोहन शमशेर राजीनामा दिने तयारीमा पनि थिए, तर त्यसमा सी. पी. एन्‌. सिन्हालाई प्रयोग गरी भारतले रोक्यो भन्ने कुरा वी. पी. ले गरेका छन् (पृष्ठ १५४) । तर मोहन शमशेर बसेको सिंह दरबारबाट पल्टन (बिजुली गारद) हटाउने कुरा भयो । यो वी. पी. को सल्लाह अनुसार नै भएको हो तर उनलाई पछि महसूस भयो कि यो गलत भयो भनेर । उनी भन्दछन्, ‘त्यस दिनदेखि राजाको हात माथि पर्‍यो, प्रजातन्त्रको हात तल पर्‍यो । मोहन शमशेर कहाँ पल्टन रहिरहेको भए हाम्रो एउटा महत्वपूर्ण भूमिका रह्ने थियो । यो पल्टन यिनको हातमा आयो, आउने बित्तिकैदेखि राजाको प्रवृत्ति अर्कै भयो । त्यस दिनदेखि राजा बलिया भए’ (पृष्ठ १५६) ।

वी. पी. उनलाई आक्रमण गरेपछिको अवस्थाबारे भन्दछन्, ‘मलाई आक्रमण गरेको बेलुकादेखि म नेपालको सबभन्दा शक्तिशाली व्यक्ति भएँ । केवल मसँग पल्टन थिएन । अब हिन्दुस्तानले त्यस दिनदेखि मलाई खत्तम गर्ने कोसिस गरेको छ । एक त पहिलेदेखि नै राम्रो थिएन’ (पृष्ठ १५६–१५७) । वी. पी. को प्रभाव बढेको देखेर भारतले मोहन शमशेरलाई नै मद्दत गर्ने नीति लियो र भारत भ्रमणको लागि निम्ता पनि पठायो ।

मुलुक अझै शान्त थिएन । हतियार लिएर मानिसहरु खुलेयाम हिंडिरहेका थिए । कतैकतै लुटपाट पनि मच्चिएको थियो, अराजकता थियो । क्षेत्रीय भावना तीव्र रुपमा देखिन्थ्यो मानिसहरुमा । इलाम र झापा मिलाएर छुट्टै स्वतन्त्र राज्यको माग भइराखेको थियो । त्यस्तै अरु ठाउँहरुमा पनि । वी. पी. ले गृहमन्त्रीको हैसियतले मुलुकमा शान्ति कायम राख्नु पर्ने थियो । त्यसैले उनले पूर्वी नेपालमा पर्ने इलाम, झापा, धनकुटा, भोजपुर आदि ठाउँको भ्रमण गरेर त्यहाँको अराजक अवस्थालाई ठीक पारे । राष्ट्रिय भावना र सामाजिक सद्भाव कायम गरी काठमाडौं फर्किए ।

वी. पी. भन्दछन् कि मुलुकको विकास तथा सुधारका लागि क्रान्ति गरिएको थियो; भूमि सुधार जस्ता क्रान्तिकारी कार्यक्रमहरु ल्याउनु पर्ने थियो; तर अहिले आएर उनलाई गणेशमान सिंह र सुवर्ण शमशेरबाहेक अरुले साथ दिएनन् । मोहन शमशेर र राजासँग दूरी बढ्दै गयो । आफ्नै दाजु मातृकाले विरोधीले गर्ने जस्तो काम गर्न थाले । उनले गृहमन्त्रीले पाएको सुविधा देखेर ईर्ष्या गर्न थालेको कुरा पुस्तकमा उल्लेख छ । वामपन्थीको संख्या कमै भए पनि उनीहरु पनि वी. पी. को विरोधमा थिए । भारतसँग पनि वी. पी. को राम्रो थिएन ।

वी. पी. गृहमन्त्री भएकै बेला विद्यार्थीहरुको आन्दोलन भयो । आन्दोलन हिंसात्मक हुँदै गएको हुँदा प्रहरीले गोली चलाउनु पर्‍यो र चिनियाकाजी मारिए । त्यसले ठूलो हलचल ल्यायो । दरबारमा राजाको अध्यक्षतामा असाधारण क्याबिनेट बैठक बस्यो । धेरैले वी. पी. लाई नै दोषी ठाने । यसरी सबैतिरबाट विरोध मात्रै भएको हँुदा वी. पी. ले गृहमन्त्रीको पदबाट राजीनामा दिए र राणा–काँग्रेसको संयुक्त सरकार ढल्यो ।

मातृका र वी. पी.

संयुक्त सरकार ढलेपछि मातृका प्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए । नेपाली काँग्रेसको एकमना सरकार भयो, तर दाजुभाइको बीचमा राम्रो सम्बन्ध हुन सकेन । काँग्रेसभित्र ठूलै मतभेद थियो; कति वी. पी. को पक्षमा थिए भने कति मातृकाको ।

अब वी. पी. सरकारमा छैनन् । उनी देश भ्रमणमा निस्के र विराटनगरबाट पाल्पासम्म पुगे । प्रत्येक ठाउँमा उनलाई ‘हत्यारा’ भनेर विरोध गरियो । उनी भन्दछन्, काठमाडौंको सभामा त उनलाई आफ्नै दाजु मातृकाले पिटाए (पृष्ठ १७८) ।

पछि वी. पी. र मातृकाको बीचमा मेल गराउने कुरा भयो । अहिलेसम्म मातृका पार्टीको सभापति तथा प्रधानमन्त्री दुवै थिए । अब वी. पी. लाई सभापति दिने र मिलेर जाने कुरा भयो । पछि जनकपुरमा आयोजना गरिएको महाधिवेशनले वी. पी. लाई पार्टीको सभापति चुन्यो । तर वी. पी. र मातृकाको बीचमा समझदारी हुन सकेन । झगडाका निम्न लिखित कारणहरु थिए (पृष्ठ १८६) :
१) मातृका सरकारले राजाबाट अधिकार पाएको हुँदा, सम्पूर्ण शक्ति राजामा निहित छ भन्थे भने वी. पी. अहिलेदेखि नै राजालाई संवैधानिक राजाको रुपमा अभ्यस्त गराउनुपर्दछ भन्दथे ।
२) मातृका हिन्दुस्तानसँग अलि बढी सम्बन्ध राख्ने पक्षमा थिए भने वी. पी. हिन्दुस्तानलाई उसको थान्कोमा राख्नुपर्दछ भन्थे ।
३) वी. पी. सरकार पार्टीप्रति उत्तरदायी हुनुपर्दछ भन्थे भने मातृका राजाप्रति ।
४) वी. पी. तुरुन्तै भूमि सुधारको कार्यलाई अगाडि बढाउन चाहन्थे तर मातृका यो काम निर्वाचित सरकारलाई नै छोड्नुपर्दछ भन्थे ।
यसरी वी. पी. र मातृकाको बीचमा मतभेद भयो र विस्तारै यस्तो अवस्था भयो कि पार्टी नै फुट्यो । मातृकाले ‘राष्ट्रिय प्रजा पार्टी’ नाउँको पार्टी खोले र त्यसको अध्यक्षको हैसियतले फेरि प्रधानमन्त्री भए । नेपाली काँग्रेस विरोधी दल भयो अब ।

महेन्द्र राजा भए

२०११ साल फागुन महिनामा राजा त्रिभुवनको स्वीट्जरल्याण्डमा उपचार हुँदाहँुदै मृत्यु भयो । त्यसपछि महेन्द्र राजा भए । महेन्द्रको अभिव्यक्ति केही समय पहिलेदेखि नै प्रजातन्त्र विरोधी लागेको थियो वी. पी. लाई । नभन्दै उनी राजा भएको केही समयपछि मातृकालाई प्रधानमन्त्रीको पदबाट बर्खास्त गरी सबै अधिकार आफैंले लिएर प्रत्यक्ष शासन गर्न थाले ।

अब वी. पी. फेरि देश भ्रमणमा निस्किए । मुलुकभरि विभिन्न ठाउँमा ठूला–ठूला आमसभाहरुको आयोजना गरियो । परिस्थिति बदलिसकेको थियो । मानिसहरुको ठूलो उपस्थिति हुन्थ्यो उत्साहका साथ । काँग्रेसका कार्यकर्ताहरु जनतासँग निकै भिजेका थिए । ती आमसभाहरुमा वी. पी. ले प्रत्यक्ष शासनको अन्त्य, किसानहरुको हकहितका कुरा, भूमि सुधारका कुरा, चाँडो निर्वाचन गर्नुपर्ने कुरा, विदेश नीति आदि बारे आफ्ना धारणाहरु राखेर जनतालाई सुसूचित र दीक्षित गर्दथे । यो बेला पार्टीको संगठन विस्तार र सुदृढीकरण राम्रोसँग हुनगयो ।

केही समयको प्रत्यक्ष शासनपछि महेन्द्रले टंक प्रसाद आचार्यलाई प्रधानमन्त्री बनाए । राजा त्रिभुवनले दिल्लीबाट आएपछि संविधान सभाको निर्वाचन हुने र त्यस सभाले निर्माण गरेको संविधानको आधारमा आम निर्वाचन हुने कुराको घोषणा गरेका थिए । तर टंक प्रसादले संविधान सभाको चुनाव नभई संसदको चुनावको लागि घोषणा गरे । त्यसको काँग्रेसले विरोध गर्‍यो तर पछि चुनावमा चाहिं भाग लियो ।

वी. पी. र राजा महेन्द्रको बेलाबेलामा भेट भइरहन्थ्यो र उनीहरुको बीचको मतभेद सार्वजनिकरुपमै बाहिर आउँथ्यो । एक चोटि राजाले वी. पी. लाई भने, ‘तपाईंको राष्ट्रिय भावनाको बारेमा त मलाई शंका छैन । र तपाईं प्रजातन्त्रवादी पनि हो, त्यसमा पनि शंका छैन । तर मेरो हितको कुरा त तपाईं हेर्नुहुन्न’ (पृष्ठ १९३) । राजाले त्यसो भनेपछि वी. पी. ले भने, ‘सरकारको राष्ट्रिय भावनाको बारेमा पनि शंका छैन तर सरकार प्रजातन्त्र विरोधी हो ।’

टंक प्रसादबाट केही काम गराएपछि राजाले उनलाई पनि बर्खास्त गरे । त्यसपछि उनले वी. पी. लाई प्रधानमन्त्री बन्नको लागि आग्रह गरे तर वी. पी. ले आफूलाई नभई सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउन अनुरोेध गरे । राजाले हुन्छ भने तर सुवर्णलाई प्रधानमन्त्री बनाएनन् । डा. के. आई. सिंहलाई प्रधानमन्त्री बनाए र तीन महीनापछि उनलाई पनि हटाए । यसरी राजाले विभिन्न व्यक्तिहरुको प्रयोग गरिरहेका थिए । आखिरमा चुनाव गराउने शर्तमा अरु पार्टीहरुको पनि सहभागिता हुने गरी काँग्रेसका तर्फबाट सुवर्णलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाए ।

आम निर्वाचन

सुवर्ण शमशेर मन्त्रिपरिषद्को अध्यक्ष भएपछि सुनिश्चितता भएको हुँदा चुनावको तयारी जोडतोडले भयो । चुनावमा नेपाली काँग्रेसले दुई तिहाई बहुमतले विजय हासिल गर्‍यो । नेपाली काँग्रेसले त्यति धेरै सिट ल्याएर चुनाव जित्छ भने कसैलाई लागेको थिएन । राजालाई लागेको थिएन । उनी वी. पी. ले हारुन् र नेपाली काँग्रेसले थोरै मात्र सीट जितोस् भन्ने चाहन्थे (पृष्ठ २०६) । काँग्रेसको यति ठूलो विजय देखेर उनी छक्क परे ।

निर्वाचन सकिएको धेरै दिन बितिसक्ता पनि राजाले वी. पी. लाई सरकार बनाउन बोलाएनन् । वी. पी. को विचारमा राजाले सैनिक अधिकार पूर्ण रुपले आफ्नो अधीनमा ल्याउनका लागि ढिलाई गरेका रहेछन् । सेना ऐन बनाएर उनले त्यो काम पूरा गरे (पृष्ठ २०६) । त्यसपछि उनले वी. पी. लाई मन्त्रिमण्डल बनाउनका लागि आमन्त्रण गरे । पार्टीले सम्पूर्ण अधिकार वी. पी. लाई दिएको हुँदा उनलाई मन्त्रिमण्डल बनाउन खासै अप्ठ्यारो परेन । सबै कुरा विचार गरेर, सन्तुलन मिलाएर, सरसल्लाह गरीकन मन्त्रिमण्डल बनाए ।

सन्दर्भ सामग्री
कोइराला, वी.पी. (२०५५) आत्मवृत्तान्त । जगदम्बा प्रकाशन, पाटनढोका, ललितपुर

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय