रामचन्द्रलाई गुन तिर्दै देउवा

काठमाडौं, २३ फागुन । २०५१ साल मंसिर १६ गते नेपाली कांग्रेस संसदीय दलको नेता चुन्ने तयारीमा थियो । गिरिजाप्रसाद कोईरालाले आफ्नै बहुमतको सरकार ढालेर मध्यावधि चुनाव गराएका कारण उनको पक्षमा राम्रो माहोल थिएन ।

काङ्ग्रेस संसदीय दलमा नेता चुन्ने बैठक भैरहदा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यसहित ८ जना आकांक्षी थिए । त्यस मध्यमा बलियो सम्भावना रामचन्द्र पौडेलको थियो । तर, गिरिजाप्रसादले भान्जि शैलजालाई दलको नेता बनाउने र तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले देउवालाई सघाउन सक्ने रामचन्द्रलाई शंका लाग्यो ।

छलफल चल्दै गर्दा कोइराला र भट्टराईको मुड देखेपछि रामचन्द्रले हतारमा आफ्नो दाबी छाडे। पछि शैलजाले पनि दाबी छाडिन् र देउवा सर्वसम्मत दलको नेता चुनिए । त्यहाँ सम्म खासै आश्चर्य भएन तर, एमालेको अल्पमतको सरकार जब ढल्यो अनि काङ्ग्रेसको पोल्टामा सरकार बनाउने जिम्मेवारी आयो । देउवाको भाग्यले दिएको उनी राप्रपाको समर्थनमा प्रधानमन्त्री भए । त्यो बेला २०५ जनाको प्रतिनिधि सभामा एमाले ८८, काङ्ग्रेस ८३, राप्रपाको २० सिट थियो । सरकार बनाउन आवस्यक १०३ सिट काङ्ग्रेस र राप्रपाबाट नै पुग्यो ।

२०५१ को मध्यावधि चुनावमा ८८ सीट जितेको नेकपा एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाएको थियो । त्यसको आयु ९ महिना मात्रै रह्यो । काङ्ग्रेस संसदीय दलको चुनावमा पौडेलले हतारमा उम्मेदवारी फिर्ता नगरेको भए देउवा भन्दा बलिया दावेदार पौडेल त्यै बेला देशको कार्यकारी प्रधानमन्त्री हुने थिए ।

त्यो बेलाको गलत निर्णयले अहिलेसम्म पार्टी र सरकार दुवैतिर कार्यकारी बन्न नसकेका पौडेल फागुन २५ को राष्ट्रपति निर्वाचनमा विजयी भएमा देशको ‘सेरोमोनियल’ राष्ट्रपति बन्नेछन् । त्यै बेलाको गुन तिर्ने सहि मौका देउवालाई पनि मिलेको छ । त्यसो त रामचन्द्रले १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने भनिरहदा एकाएक उम्मेदवारी नदिएर सक्रिय राजनीति समेत नगर्ने बताए । तर, देउवाले त्यो कुरालाई ‘क्यास’ गर्न घरमै गएर महाधिवेशनमा सघाए त्यसपछिको अवसर आउँदा केही गर्ने वचन सहित ‘स्वास्थ राम्रो राखेर बस्नु मुख्य जिम्मेवारी आइपर्न सक्छ’ भनेर गुलियो चटाएर फर्के । त्यसैको फलस्वरूप रामचन्द्र महाधिवेशनमा कतै खुलेनन । यसको मत्लब देउवालाई अफ्ट्यारो पारेनन । त्यसको पनि गुन देउवाले यसपटक तिर्ने भएका छन् ।

२०५१ मा प्रधानमन्त्री बन्ने बाटो बन्द भएपछि पौडेल सभामुख भए । त्यसअघि नै २०४८ को निर्वाचन जितेपछि उनी मन्त्री भैसकेका थिए । २०५१ मा सभामुख भएपछि २०५६ मा फेरि चुनाव जितेर २०५७ मा मन्त्री भएका पौडेल पार्टीको कार्यकारी पद भने महामन्त्री र उपसभापतिसम्म भए । २०७२ मा सुशील कोइरालाको निधन भएपछि केही समय कार्यवाहक सभापति त भए तर महाधिवेशनबाट निर्वाचित भएर कार्याकारी सभापति बन्ने मौका भने मिलेन । उनै देउवासँग उनी पराजित भए ।

२००१ सालमा तनहुँमा जन्मेका पौडेल वीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि १६ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए । वीपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरे पनि वीपीका भाई जीपी अर्थात गिरिजाप्रसादसँग भने उनको न टाढा न नजिकको सम्बन्ध बन्यो ।

भन्नेले कोइराला पक्ष भन्ने गरेपनि पौडेलले कोईराला पक्षको समर्थन पाएको देखिएन । सायद गिरिजाप्रसादले मात्रै होइन पौडेललाई पछिल्लो समय कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला, सुजाता कोइरालाले समेत सहयोग गरेको देखिएन ।

उनी २०१९ देखि ०४६ सालसम्मको राजनीतिक जीवनमा पटक–पटक गरी १३ वर्ष जेल जिवन विताएका नेता हुन् । उनी फागुन २५ मा राष्ट्रपति चुनिए भने राजनीतिमा झण्डै ‘वनवास’ जाने अवस्था भएकामा उनी सिधै शितलनिवास जानेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय