अधिकांश राजनीतिक नेतृत्वहरू नै बेठीक

मनोज कुमार कर्ण

नेपालमा हाल पुरानै र नेताहरूमा पुनरावृत्त भैरहने एउटा घटनाबरे मान्छेले चर्चा गर्दैछन् र त्याे हाे, गत २०७९ मंसिर ४ गतेकाे संसदीय निर्वाचनकाे पूर्वसंन्ध्यामा उपेन्द्र यादवको मधेश केन्द्रीत क्षेत्रिय दल जसपाबाट उछिट्टिएर बनाएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे माओवादी केन्द्रमा विलय हुने तर नाम भने ‘एकता’काे ।

डा. भट्टराई २०७२ साल असोज ३ गते अर्थात्, नेपालकाे वर्तमान संविधान घाेषणाकाे ठिक भाेलिपल्ट प्रचण्ड नेतृत्वकाे माओवादी पार्टीलाई ‘भूईंचालाेले भत्केकाे घर’ अनि ‘नेपालमा कम्युनिस्ट पार्टीकाे काम छैन’ भनेर नयाँ शक्ति पार्टी (चुनाव चिन्ह ‘आँखा छाप) गठन गरेका थिए जसमा कलाकार करिष्मा मानन्धरदेखि ब्यूराेक्रेट तात्कालीन नेपाल सरकारका स्वास्थ्य सचिव डा. प्रविण मिश्राहरूलगायत अन्य दलका बाैद्धिक व्यक्तित्वहरूसमेत उनलाई पत्याएर गएका थिए ।

साे अघिदेखि नै भने डा. भट्टराईकै सहयाेगकाे लागि मेराे बुझाईमा डम्बर खतिवडालगायत ४-५ जनाकाे टीमले नेपालमा अन्य दलबाट ‘वैकल्पिक शक्ति’ निर्माणकाे नाममा सानाेतिनाे दलहरूलाई कन्भिन्स गरी मर्ज गर्ने तथा काँग्रेस, एमाले, माओवादी जस्ता ठूला दलका मान्छेलाई भेटेर भित्र्याउने ‘अभियान’मा ।

मनोज कुमार कर्ण

यसकाे प्रमाण स्वरूप वैकल्पिक शक्तिकाे नाममा ‘कार्यदल एकता’ गर्न डम्बर खतिवडाकाे ४-५ जनाकाे टाेलीले अनामनगर, काठमाडाैं (बानेश्वर बैंक्वेट)काे ठिक सामुन्नेकाे एऊटा मिडिया हाउसमा काैशलकुमार कुशवाहा ओबिसी एउटा गुटकाे अध्यक्ष तथा तात्कालिन् लाेक दल (चुनाव चिन्ह ‘सिलाई मेशिन’ छाप) का अध्यक्ष रहेकासँग गरेका घण्टाैंकाे कुराकानी तथा उक्त कुराकानीमा डा. बाबुराम भट्टराईनै कुराकानीकाे केन्द्रविन्दू रहेकाबाट बुझ्न सकिन्छ ।

हाल लाेक दल गत मंसीरकाे संसदीय चुनावघि महन्थ ठाकुर नेतृत्वकाे लाेसपामा समायाेजन भएकाे छ । मिति २०७९ पाैष २४ गते आइतबारको ‘प्रभाव दैनिक’ तथा ‘मध्यान्ह’ दैनिककाे मुख्य पृष्ठकै समाचारलाई आधार मान्ने हाे भने ‘प्रभाव दैनिक’ कै भाषामा ‘चुनावपछि नयाँ सरकार गठन भएसँगै चारवटा समाजवादी दलले एकता प्रकृयालाई एकाएक अघि बढाएका छन्’, जसकाे लागि माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराकाे संयाेजकत्वमा महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवहरू गिरिराजमणि पाेखरेल, जनार्दन शर्मा अनि शक्तिबहादुर बस्नेत संलग्न कार्यदल गठन गरिएकाे छ । उद्देश्य भने नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी (डा. बाबुराम भट्टराई) पार्टीहरूलाई चरणबद्ध एकता गरी पछि ‘वाम एकीकरण’मा जाने हाे ।

माथिकाे घटना भने एउटामात्र हाे । यसअघि अलि हलचल ल्याउने गरी काँग्रेसबाट तत्कालीन मधेशी जनअधिकार फाेरम नेपाल उपेन्द्र यादव नेतृत्वकाे पार्टीमा जेपी गुप्ता र विजय गच्छेदारहरू मधेश आन्दोलन २०६४ पछि गएकाहरू मध्येबाट गच्छेदारले ‘मधेशी’बाट पनि ‘थारू’काे नाममा जति सेन्टिमेन्टल भाेट र अवसर तान्न सकिएजति भाेग गरेर पछि ‘थारू’ कार्ड नचल्दा उनी पुन: नेपाली काँगेसमै उपसभापतिसहितकाे हैसियतमा २०७४ सालताका फाेरम लाेकतान्त्रिक पार्टीलाई विलय गराएका थिए ।

२०६९ सालतिर नै तात्कालिन सगाेल तमलाेपा (हाल महन्थ ठाकुरकाे लाेसपा छ भने उनै वृषेशले ‘तमलाेपा’ पुनर्गठन गरी अध्यक्ष हुन्) का वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल (काँग्रेसमा गिरिजाप्रसाद काेईरालानिकटका युवा नेता) यस स्तम्भकारलाई भनेका थिए- याे तमलाेपामा भएका विविध विचारका र अधिकाँश अनुशासनहीन नेता तथा कार्यकर्तालाई चलाउन गाह्राे नै भएकाे छ हामीलाई । हामीले काँग्रेसबाट मधेशमा माओवादीको जनयुद्धपछि कम्युनिस्ट नै फेरि उपेन्द्र यादव फाेरमकाे नाममा मधेश कब्जा गर्न उदय हुँदा स्ट्रैटेजिकली नै हामी मधेशमा डेमाेक्रेटिक पकड हाेल्ड गर्नलाई नै काेहि फाेरममा भने काेहि नयाँ पार्टीकाे नाममा आएका हाैं । गिरिजाबाबुमा अद्भुतकाे रणनीति हुन्थ्याे, एकै चाेटी ४-४ भिन्न समूहलाई कुनै माग लिएर अनि विराेधमा अनि मारपिट गराउनेहरूलाई सडकमा उतार्नु हुन्थ्याे तर साे बारे कसैले थाहा पाउँदैनथे तर गिरिजाबाबु बित्नु भएपछि त्याे रणनैतिकवाला न सभापति सुशील हुन्, नै त शेरबहादुरहरू । हामीहरूलाई पुन: काँग्रेसमा फर्काउने पुरानै रणनीति गिरिजाबाबु जीवित भएकाे भए हुन्थ्याे तर सुशील-देउवाले हामीलाई पहिलाे वा दाेस्राे रामचन्द्र पाैडेलसम्मका कम्तिमा नेतालाई पार्टी एकीकरण गर्नलाई वार्तामा नपठाएर कृष्ण सिटाैलाजस्तालाई पठाउँछन् त्यसैले हामी अपमानित महसुस गरेका छाैं !

यस्ता दलपतिहरू कहिले उपेन्द्र यादव भने कहिले राजेन्द्र महताे अनि महिन्द्र यादव वा अशाेक राईहरूलगायत नेपालका अधिकांशले कति चाेटी क-कससँग सिद्धान्तहीन र अप्राकृतिक गठबन्धन वा पार्टी एकीकरण गरेर भूलाभट्का भई अहिले काे-कहाँ छन्, ती सबै छर्लङ्ग छ । यस लेखमा उठाउन लागेकाे मुख्य विषयवस्तु भनेकाे नेपालमा गणतन्त्रपछि कसरी मधेश र मधेशी अधिकार खासगरी ‘ब्राण्ड’मा परिणत भई अन्य क्षेत्रका मान्छेले पनि आ-आफ्ना जायज मुद्दा उठाएर उल्टै मधेशी, आदिवासी, जनजाति, महिला तथा दिव्याङ्गहरूकाे तुलनामा छिट्टै र उत्तिकै अथवा साे बढी नै सफलता हासिल गरिपनि सके तर मधेशवादी दलमाथि पुराना राष्ट्रिय ठूला पार्टीका ‘खेलाडी’हरूबाट कसरी उचाल्ने, थचार्ने अनि पछार्ने कामहरू भई आज अस्तित्व नै ती मधेशवादी दलहरूकाे संकटमा पर्न गएकाे हाे र यसकाे साथै उनिहरूले उठाएका संघीयता, समानुपातिक-समावेशी, आरक्षण, राज्य पुनर्संरचनाद्वारा जनताका सवालमा चाँडै र सहजमा नै गम्भिर धक्का पुग्न गएकाे छ, त्यतातिर र त्यसका केही पात्रहरूबारे अलिकति भएपनि प्रमुख घट्नासहित चर्चामा ल्याउनु हाे ।

प्रस्ट पाराैं, मधेशवादी दलहरू सद्भावना, फाेरम, तमलाेपाहरूले संघीयता, समान हैसियतकाे नागरिक अधिकार, संविधान समस्या हल, समानुपातिक समावेशीकाे एजेण्डा, आत्मनिर्णयकाे अधिकार सहित ‘समग्र मधेश-एक स्वायत्त प्रदेश’ जस्ता आदि मुद्दाहरू उठाएर आफूहरू सत्तामा पकड जमाएका केही सिमित परिवार र एउटा गैह्रमधेशी समुदायका तर्फबाट विखण्डनवादी, देशद्राेही आदिका बिल्ला भिडाईएपनि आज यथार्थमा भने सत्तामा सधैंदेखिका त्यहि तर मारेर खाने तरमारा वर्ग खस समुदायका मान्छेहरूले ‘आरक्षण’ आफ्नाे मात्र नभई मधेशमा जन्मेकै कारणले पनि आफूलाई पनि मधेशीमा पहुँच भएका सिडियाेकाे सहयाेगले दर्रेर मधेशी आरक्षित सिटसमेत खाईदिएका थुप्रै घट्नाहरू सञ्चारमाध्यममा आईसकेका छन् ।

याे गल्ती र सत्ताकाे आडमा अपराध पनि हाे किनकि म मानाैं मधेशमा जन्मेर २०५६ सालदेखि काठमाडाैंमा बसेर उच्च शिक्षा हासिल गरि हाल जागिर खाईरहँदा र सधैं कुपण्डाेल एरियामै रहँदा कसैले मलाई कुपण्डाेलकाे स्थानिय बासिन्दाकाे पकड नेवार वा समग्र काठमाडाैंकाे पकड जात अधिकतम नेवार वा तामाङ मानेर नेवार वा तामाङकाे आरक्षण मलाई दिनेछ ? वा, खस पहाडी समुदायकै दिन सक्छन् ? हैन, यदि मलाई दिन मिल्दैन भने बाँकीलाई मधेशमा जन्मेकै आधारमा वा बसाई सरेकै आधारमा शारीरिक रङ्ग, भाषा, चाडपर्व, संस्कृति नमिल्ने खस पहाडीलाई मधेशी कसरी भनेर वास्तविक मधेशीकाे आरक्षण दिन सकिन्छ ? तसर्थ, यस्ताे मधेशमा गर्नेहरू दण्डनीय अपराधीहरू मधेश र देशकै संविधानकाे हाे ।

त्यस्तै, मधेशीले उठाएकाे मानाैं नागरिकता समस्या समाधानकाे मुद्दाले साेहि साथ महिलाका विभिन्न समस्याहरू प्रकाशमा आई सम्बाेधन भईरहेका छन् अनि समानुपातिक समावेशीकाे मधेशवादी दलहरूकै अजेण्डाले आज फेरि महिलालगायत सबै क्लस्टरमा दलहरूले समानुपातिक सांसदसमेत पुर्याउनुपर्ने बाध्यता छ । तर मुद्दा उठान गरेर लाभ पुर्याईदिने तिनै मधेशवादी दलहरूलाई क्षेत्रिय वा विखण्डनवादी भनेर मास्नलाई नै खासगरी कम्युनिस्ट एमाले र माओवादीहरू कथित् एकीकरणकाे नाममा उद्धत छन् । हामीले बिर्सन हुन्न कि २०६४ सालकाे बेला मधेशवादी दलहरूलाई काउन्टर दिनलाई नै चुरे-भावर पार्टीपनि केशव निराैला, बद्री न्याैपाने आदिहरूलाई उचालेर साे बेलाका एमाले माधव नेपालहरू ‘डिजाईनर’ बनेका थिए तर राजनैतिक र आर्थिक दर्शन भए पाे ती ऐंजेरू पार्टीहरू राजनैतिक मैदानमा टिक्ने हुन् तसर्थ, ती सबैकाे विधिवत् विसर्जन भैसकेकाे छ ।

अब, कुराे उठ्छ कि के नेपालमा हाल कट्टर मधेश र मधेशी अधिकार विराेधीकाे पगडी आफ्नै क्रियाकलाप अनि मधेशीमाथि रङ्गभेदी टिप्पणी गरिरहने एमाले अध्यक्ष केपी ओलीहरूले चाहेअनुसार ‘देशमा दुई पार्टी पद्धति; ठिक छ ? तत्काल उत्तर हाे, अधिकारवञ्चित समुदाय मधेशी, आदिवासी, दुर्गमका जनता, दिव्याङ्ग आदिकाे तर्फबाट याे गैरउचित (गलत) हाे भने शदियाैंदेखि अधिकार कब्जामा राखेर सत्ता शयर गर्ने तरमारा वर्गकाे लागि याे दुई पार्टीकाे कथित् अवधारणा उनीहरूकाे भाषामा ‘देशमा अस्थिरता र महंगाे प्रादेशिक संरचनाकाे खर्च घटाउन’ लाई सहि हाे ।

तर यहिंनेर बुझ्नुपर्ने के हाे भने जसरी प्रचण्ड-केपी ओलीहरू सत्तामा तरमारा वर्गहरूले देशमा ‘काँग्रेस-कम्युनिस्ट’ गरी केवल दुईवटा पार्टीकाे औचित्य अब देख्छन् त्यसरी नै अहिलेपनि थुप्रै मधेशीहरूले डा. सीके राउतकाे जनमतकाे एमालेका उनै केपी ओलीसँगकाे सम्झाैतारूपी समर्पणले नेपालमा केवल खस पहाडीकाे लागि एउटा र अर्काे मधेशीका लागि अर्काे गरि केवल दुई पार्टीकाे औचित्य देख्छन् र देख्न बाध्यपनि पारिएका छन्, यस्तै अधिकार विराेधी केही ओली, राजेन्द्र लिङ्देन, सिपी मैनाली, चित्रबहादुर केसी वा नारायणमान बिजुक्छेंहरूकाे समाजिक विभेदकारी साेचले । अब माथिका डा. बाबुराम भट्टराईहरूका कथित् एकीकरणहरूकाे औचित्यमा मधेशीलगायत अधिकार वञ्चित समुदाय अन्यका प्रसङ्गमा जाेडाैं र चिनाैं यिनी ‘विद्वान’हरूलाई !

२०६६ सालतिर माओवादीबाट डा. बाबुराम भट्टराईले सरकार बनाउँदासम्म मधेशवादी दलहरूले मधेशी जनताकाे भयले ‘एक मधेश-एक प्रदेश’काे मागमा अडिग रहेकामा तात्कालिन उपेन्द्र यादवकाे फाेरमबाट जेपी गुप्तालाई अनि तत्कालिन सगाेल महन्थ ठाकुर नेतृत्वकाे तमलाेपाबाट हृद्देश त्रिपाठीहरूलाई बाेलाएर माओवादीका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारमा समर्थन लिन ‘तपाईंहरूले एक मधेश माग लिंँदा उपेन्द्रले यादवलाई मुस्लिम वा अन्य बढी जनसंख्या भएकाे मानाैं मण्डल जातसँग मिलेर सधैंभरी मुख्यमन्त्री खाईरह्ने छन्, जबकि नारायणी नदी पूर्व र पश्चिम गरी समग्र मधेश-दुई प्रदेशकाे मागमा पार्टीलाई लिएर जाने हाे भने गुप्ताजी मधेशकाे पूर्वी राज्यकाे अनि त्रिपाठीजी पश्चिम भागकाे मुख्यमन्त्री खान सक्नु हुन्छ ।’

डा. भट्टराई चतुर ‘बाहुनका मुख्यमन्त्री भविष्यमा खाएर फाेरम र तमलाेपाबाट ‘एक मधेश-प्रदेश’काे माग डगमगाएर पार्टीसमेत फाेड्ने जयप्रकाश गुप्ता साेहि डा. बाबुरामकाे सञ्चारमन्त्री छँदै सर्वाेच्च अदालतबाट नै प्रहरीकाे भ्यानमा भ्रष्टाचार सावित भई डिल्लीबजार चारखाल जेलकाे मुख्यमन्त्री खाए भने आज हृद्देश त्रिपाठी २०७४ सालमा एमालेकाे सूर्य छापबाट चुनाव लडी हाल जनता प्रगतिशिल पार्टीबाट यसपाली चुनाव हारेर मधेशकाे कुन खेत वा कुनामा मुख्यमन्त्री खाँदै छन्, त्याे अज्ञात हाे । अवश्यपनि डा. बाबुराम भट्टराईकाे दिमाग अति तेज हाे तर आफूलाई सत्तामा जानबाट राेक्ने नेता र दलकै विराेधमा तथा मधेशी अधिकारकाे विराेधी नकारात्मक दिशामा मात्र प्रयाेग हुने गरेकाे याे कुनै काेर्रा आराेप नभई तथ्यगत उनकै घट्नाहरू हुन् ।

उदाहरणकाे लागि, २०७२ सालकाे अशाेज २ गतेसम्म प्रधानमन्त्री रहिसकेका माओवादीका डा. बाबुराम भट्टराई एउटा शक्तिशाली पार्टीका उपाध्यक्ष तथा संवैधानिक समितिका सभापति थिए तर अधिकार वञ्चित समूहहरू मध्ये खासगरी मधेशीका पहिचान, नागरिकता आदि आधारभूत अधिकारहरूलाई संविधानमा समेटेनन् मात्र हैन कि उनले संविधान घाेषणा अशाेज २ गते नहुञ्जेल खस पहाडी बाहुण-क्षेत्री बर्चस्वकाे पार्टी माओवादीमा पदासीन रहे र संविधान घाेषणाकाे भाेलीपल्ट नै उनी मधेशकाे जनकपुरमा गाेपाल धर्मशालामा ‘मधेशी पक्षधर’ बनेर अशाेज ३ गते ‘वैकल्पिक शक्ति’ अन्तर्गत ‘नयाँ शक्ति पार्टी’ खाेल्ने, नेपालमा कम्युनिस्ट पार्टीकाे काम छैन, मधेशीका मागलाई संविधानमा सम्बाेधन गरिएन नानाभाँती नाटक गरेर पार्टी खाेले । अर्थात्, त्रेतायुगमा श्रीराम जतिकै तेज मस्तिष्क रावणले आफ्नाेपनि रहेकाे तर्क र आदि मार्फतले सावित गर्न खाेज्थे तर रावण आफू अन्याय, कपटी, दुष्ट रहेर नकारात्मक दिशामा केवल तेज मस्तिष्क लगाईरहेकाे कुरा नबुझेरै अन्त्यमा श्रीरामद्वारा मारिन पुगे !

अवश्यपनि, माओवादीबाट डा. बाबुराम भट्टराई वा काँग्रेसबाट विजय गच्छेदारहरूलाई मधेशमा मधेशी मागलाई क्रस गरेर पुराना राज्यसत्ता एकल खसवादीहरूलाई टिकाउनलाई ‘काज मिसनमा नै पठाईएकाे थियाे र साेहि ‘काज’ सकिएकाे महशूस गर्दै र आ-आफ्ना पद यस्ताे मिसनमा लाग्दा सधैंका लागि गुम्ने खत्तरा रहेकाले उनिहरू काज फीर्ता हुँदै पुरानै आ-आफ्ना पार्टीमा फर्कंदै छन् । अब एक्लै फर्कंदा ‘शक्तिहीन’ काे बिल्ला लागेर थन्क्याईने हुँदा डा. बाबुरामले पनि माथि उल्लेखित पहिला पार्टी गठन गरे अनि अब माओवादीमै फिर्ता हुने भए भने विजय गच्छेदार त २०७४ सालताका नै फाेरम लाेकतान्त्रिक नामक पार्टीमार्फत काँग्रेसमा पसे भने अब मधेशमै रहेका प्रभु साहहरूकाे हुन लागेकाे गठन ‘नेपाली जनता पार्टी’ कुन गतिमा प्रचण्डकाे माओवादीमा कति हैसियत र भागवण्डामा एकिकरणकाे नाममा विलय हुने हाे, त्याे हेर्न धेरै कुर्नु पर्दैन ।

जनताले भने यी मधेशी, आदिवासी, जनजाति, महिला, दिव्याङ्ग, राजधानीभन्दा सुदूर निवासी आदिहरूका अधिकार, छिट्टाे जनसेवाकाे चाहना आदि विपरीत लागेका चेसका यी गाेटीहरूलाई नजिकबाट नियालीरहेका छन् । यिनीहरूले संघीयता र प्रदेश संरचनालाई खारेज गरी केवल काँग्रेस-कम्युनिस्ट दुई दलकाे अवधारणामा अधिकारका नाममा कम्तिमा २०६३ सालपछि नै भएका मधेश वा अन्य आन्दाेलनहरूलाई बिर्संदा वा अपमान गरेर क्रस गरी अघि बढ्दा भने देशमा उत्पन्न हुने थेग्नै नसक्ने सामाजिक विग्रहकाे कि त कल्पणै गरेका छैनन् वा, राेम जलिरहेकाे बेला रूखमा चढेर बाँसुरी बजाईरहेका मूर्ख राजा निराेका वर्तमान नेपाली ‘वंशज’हरू हुन् ।

(लेखक पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय