नयाँ पुराना सबै पार्टीमा गुटै गुट !

काठमाडौं, १३ बैशाख । नेपालका जुनसुकै राजनीतिक पार्टीमा नेता पिच्छे गुट र उपगुट देखिनु नौलो होइन।त्यसमाथि कम्युनिस्ट नामधारी पार्टीहरुमा त यो समस्या दशकौंदेखि ‘घातक क्यान्सर’जस्तै फैलिदै आएको देखिन्छ ।

दलभित्रका नेताको गुट उपगुट हुनु सामान्य लागेपनी यतिबेला नयाँ भनिएका र पुराना सबै दलमा दुई लाइन वा दुई धार देखिनु चाहिँ संयोग मात्रै हो वा यो पनि ‘सरुवा रोग’ हो भन्ने चाहिँ छुट्याँउनै मुस्किल हुन थालेको छ।

आफुलाई सबैभन्दा जेठो दल बताउने र लोकतन्त्रको हिमायती भनिएको नेपाली कांग्रेसदेखि पछिल्लो पटक खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत यो रोगबाट सताइएको छ। कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन गुट र नेता डा.शेखर कोइरालाको संस्थापन इतर गुट सक्रिय छन् । यी बाहेक महामन्त्री गगन थापा, पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला,पुर्व महामन्त्री डा.शशांक कोइराला र पुर्व महामन्त्री प्रकाशमान सिंहका अरु उपगुटले कांग्रेसलाई गुटैगुटको पार्टी बनाएको छ। केन्द्रिय तहमा भएका यी गुटसंगै प्रदेश र जिल्लासम्म पुग्दा अझै बढी उपगुट झाङ्गिएको देख्न सकिन्छ।

उता,कम्युनिस्ट मध्यको ठूलो दल भनिएको नेकपा एमाले भित्र माधवकुमार नेपाल,बामदेव गौतम र झलनाथ खनाल बाहिरिएपछि देखिनेगरी केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीको मात्रै गुट देखिन्छ। यद्यपि एमालेभित्र केन्द्रमै नेता भिम रावलको छुट्टै गुट छ। ओलीसङ्ग अध्यक्षमा चुनाव हारेपछी रावल आफैं सक्रिय छैनन् तर उनको गुट कायम छ।

रावल बाहेक एमाले भित्र पुर्व राष्ट्रपति बिद्या भण्डारीको गुट पनि सक्रिय छ। एमाले भित्र भण्डारीको झण्डै ३० प्रतिशत नेताकार्यकर्ता रहेको बुझिन्छ ।यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष रामबहादुर थापा बादल,बिष्णु पौडेलको छुट्टै उपगुट सक्रिय छ। त्यसैगरी माधवकुमार नेपालको पक्षमा लागेर अन्तिममा उनिसङ्ग नगएका अमृतकुमार बोहोरा,सुरेन्द्र पाण्डे,योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतको अर्को गुट छ भने पुर्व माओवादी धारका नेताको अर्को गुट छ।

त्यस्तै सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा पनि अध्यक्ष प्रचण्ड र बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको छुट्टाछुट्टै गुट सक्रिय छ। यद्यपि श्रेष्ठको गुट धेरै कमजोर छ। त्यसको ठाउँमा अहिले प्रचण्ड गुटलाई टक्कर दिन उपमहासचिव जनार्दन शर्माको अर्को गुट सक्रिय छ। जनार्दन गुटमा युवाको आकर्षण बढी छ। उनिसङ्ग बाबुराम भट्टराई समुहका नेताकार्यकर्ता सहित विप्लव र मोहन बैद्दबाट फर्केकाहरु समेत जोडिएका छन् । त्यसबाहेक माओवादीमा बर्षमान पुन र देव गुरुङको छुट्टाछुट्टै गुट छन् ।

उता एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी भित्र पनि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालका छुट्टाछुट्टै गुट सक्रिय छन् । नेता खनाल र अध्यक्ष नेपालका बिचमा धेरै कुरा मिल्न छाडेका छन् । उनीहरु बाहेक समाजवादीमा उपाध्यक्ष बेदुराम भुषाल र महासचिव घनश्याम भुषालका पनि गुट छन् । त्यति मात्रै होइन समाजवादी भित्र सचीव रामकुमारी झाक्रीदेखि पुर्व मन्त्री प्रेम आले,किसान श्रेष्ठ,मेटमणी चौधरी सम्मले गुट चलाएका छन् ।

यता,नयाँ दल भनिएको रास्वपा भित्र सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले बिचमा छुट्टाछुट्टै शक्ति संघर्ष चलिरहेको छ। यद्यपि यो बिषयमा सभापति र उपसभापतिले पटकपटक सार्बजनिक रुपमै ‘होइन’ भन्दै आएका छन् । तर,उनीहरुको आ-आफ्नै गुट सक्रिय रहेको रास्वपा नेताकार्यकर्ता स्वीकार गर्छन् । यी बाहेक रास्वपा भित्र बिराजभक्त श्रेष्ठ,तोषिमा कार्की र गणेश कार्की समूह पनि छन् ।

त्यस्तै,नागरिक उन्मुक्ति पार्टी भित्रको गुट र शक्ति संघर्षबारे त सडकदेखी सदन र अदालत सम्म छर्लङ्ग छ। खासगरी श्रीमान रेशम चौधरी र श्रीमती रन्जिता श्रेष्ठ बिचको विवाद अहिले सर्बोच्च अदालतमा पुगेको छ। जहाँ श्रीमती रन्जिताले रेशमलाई पार्टी सदस्य समेत बनाउन नमिल्ने भन्दै टिकापुर हत्याकाण्डमा दोषी भएको पुष्टि गर्न खोजेकी छन् । जसले गर्दा पार्टीको केन्द्र,प्रदेश र स्थानीय तहसम्मका जनप्रतिनिधि समेत बिभाजित बनेका छन् ।

त्यस्तै मधेसवादी दल जसपा भित्र मुख्यगरी उपेन्द्र यादव र अशोक राई समुहको छुट्टाछुट्टै गुट सक्रिय छ। त्यो बाहेक जसपामा राजेन्द्र श्रेष्ठ,रेणु यादव,मोहम्मद इस्तियाक रायको र प्रदिप यादवको आ-आफ्नै गुट छन् । अर्को दल लोसपा भित्र अध्यक्ष महन्थ ठाकुर,नेता अनिल झा लगायत थुप्रै नेताका गुट सक्रिय छन् ।

राप्रपा भित्र पनि अध्यक्ष राजेन्द्र लिङ्देन समुह एकातिर छ भने उपाध्यक्षहरु बिक्रम पाण्डे,बुद्धिमान तामाङ र रविन्द्र मिश्रले छुट्टाछुट्टै गुट चलाइरहेका छन् । ती बाहेक महामन्त्री धवल शमशेर राणादेखी सह प्रबक्ता ज्ञानेन्द्र शाही सम्मको गुट राप्रपा भित्र सक्रिय छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय