डडेल्धुरामा टिपर दुर्घटना,धादिङका २ युवाको मृत्यु

काठमाडौं । सुदुरपश्चिमको डडेल्धुरा स्थित नवदुर्गामा भएको टिपर दुर्घटनामा धादिङ घर भएका २ युवाको मृत्यु भएको छ। गएराती भएको सो दुर्घटनामा अन्य २ जना घाइते छन्।

जिल्लाको नवदुर्गा गाउँपालिका-४ सुरुडा भन्ने स्थानमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको टिपर शनिबारराति करिब ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनामा ट्याक्टर चालक धादिङको गजुरी गाउँपालिका-७ का ४० वर्षीय धिरज थापा मगर र धादिङकै रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा घाइते अन्य २ जना भने खतरामुक्त छन्।

दुर्घटनामा धादिङकै ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका-४ सिरुडाका २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय