इलामको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ: रास्वपा

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को मत परिणामले आफूहरुलाई सचेत गराएको बताएको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले मंगलबार विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।

‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं। निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं। नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं ।’

इलाम–२ को उपनिर्वाचनमा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत ल्याएर चौथो स्थानमा रहेका थिए । त्यहाँ सोही क्षेत्रका पूर्वसांसद स्व.सुवास नेम्वाङका पुत्र समेत रहेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए भने तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय