गृहमन्त्री रवि लामिछानेलाई हटाउन प्रचण्डलाई पार्टी भित्रैबाट दबाब !

काठमाडौं, २३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई तत्काल मन्त्रीबाट हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनको पार्टी भित्रैबाट दबाब आएको छ।

सत्ताकै नेतृत्व गरेको दलभित्रबाट गृहमन्त्रीको राजीनामा मागेको बिषयले यहि बिषयमा सदन अवरुद्ध गर्दैआएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई थप बल पुग्ने देखिन्छ। आगामी बजेट अधिवेशनमा समेत कांग्रेसले गृहमन्त्री लामिछानेको विषयलाई लिएर विरोध जारी राख्ने भएको छ ।

गृहमन्त्री लामिछानेबारे कांग्रेसले सडकदेखी सदन सम्म निरन्तर विरोध गरिरहेको अवस्थामा प्रधानमन्त्रीकै पार्टीका नेताहरूले समेत राजिनामा माग्नु अर्थपूर्ण छ।सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले छिट्टै राजीनामा दिनुपर्ने माओवादी नेता एवं पूर्वमन्त्री सुदन किराती बताउँछन् । किराँतीले प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री हटाउनुपर्ने कुरा पार्टी भित्रै उठाएका छन् भने राजिनामा दिएर मार्ग प्रसस्त गर्न गृहमन्त्रीलाई सुझाव दिएका छन्।

तर,प्रधानमन्त्री प्रचण्ड भने तत्काल गृहमन्त्री हटाउने पक्षमा छैनन् ।सत्ताको ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बिशेष रोजाइमा गृहमन्त्री लामिछाने रहेकाले प्रधानमन्त्रीले चाहेर पनि गृहमन्त्री लामिछानेलाई हटाउन सक्ने देखिन्न ।प्रधानमन्त्री स्वयंले संसद्मै उभिएर लामिछानेको सफाइको पक्षमा बोलेका थिए । उनले संसदमा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा ठूलो आलोचना समेत भइरहेको छ ।

त्यस्तै, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ पनि गृहमन्त्री लामिछानेको बचाउमा छन् । उनले अहिले संसदीय समिति बनाएर गृहमन्त्री लामिछानेमाथि छानविन गर्न आवश्यक नरहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको राजीनामा नआउने र समिति पनि नबन्ने गुरुङको भनाइ छ।

उता, माओवादी नेता एवं कानुन व्यवसायी रामनारायण बिडारी, कर्णालीका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, वाइसीएल अध्यक्ष सुबोध शेर्पाली लगायत माओवादीका प्रभावशाली नेताहरु भने उपप्रधान एवं गृहमन्त्री लामिछानेको बाहिर्गमनको पक्षमा छन् । त्यस्तै, उपमहासचिव जनार्दन शर्माको मत पनि लामिछानेमाथि छानविन हुनुपर्ने छ ।

तर, सत्ताको चाबी आफुसङ्ग भएको दाबी गर्ने गृहमन्त्री लामिछानेले भने सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति बनाइए र गृहमन्त्रीबाट हटाइए सरकारबाट नै बाहिरिने चेतावनी दिइसकेका छन् । एकातिर गृहमन्त्रीको धम्कीपुर्ण घुर्की र अर्कोतिर गृहमन्त्री लामिछानेको बारेमा पार्टीमै नेताकार्यकर्ता बिच फरकफरक दुई मत देखिँदा प्रधानमन्त्री प्रचण्ड भने थप संकटमा परेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय