कांग्रेस रूपान्तरण : नयाँ बाटो रोज्ने कि यथास्थितिमै रमाउने ?

नारायणबहादुर बस्नेत

झण्डै ८ दशक अघि स्थापना भएको नेपाली कांग्रेस पार्टी र यसका शिर्ष नेताको पार्टी जीवनमा अहिले एउटा ऐतिहासिक मोड आएको छ। यो मोडले एउटा दिशा तय गर्नैपर्ने बाध्यता छ। आम कांग्रेस नेताकार्यकर्ताको लागि यो अवसर र चुनौती दुबै हुनसक्छ ।

पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापा दुवैले पार्टीको रूपान्तरणको अभियान सुरू गरेका छन्। विश्वप्रकाश शर्माले सात बुँदामा आधारित विशेष महाधिवेशनको प्रस्ताव भिडियो मार्फत अघि सारेका छन् र असोज २५ गतेभित्र हस्ताक्षर अभियान चलाइरहेका छन्। उहाँको भनाइ स्पष्ट छ-‘यदि तपाईं परिवर्तनको पक्षमा हुनुहुन्छ भने हस्ताक्षर गर्नुहोस्, होइन भने पनि सोच्नुस्, यथास्थितिले पार्टी बलियो हुँदैन।’ शर्माले मंसीरमा नियमित महाधिवेशन गर्ने संवैधानिक समयसीमा अझै बाँकी रहेको स्मरण गराउँदै यो पनि भनेका छन् कि :-‘मंसिर महिनाभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ, यदि सबै साथीहरू एकताबद्ध भए भने।’

उनको भनाइ पार्टीलाई विभाजन होइन, रूपान्तरणतर्फ लैजानुपर्ने आवश्यकता हो। तर, यो पहलसँगै पार्टीभित्र फेरि गुटबन्दीको स्वर सुनिन थालेको छ। कतिपय नेताहरू भन्छन्- विशेष महाधिवेशनले पार्टी कमजोर बनाउँछ। तर त्यसले किन र कसरी कमजोर बनाउँछ भन्ने ठोस कारण भने उनीहरूले प्रस्तुत गर्न सकेका छैनन्। बरु प्रश्न यस्ता उठाइन्छ-‘चार वर्षको म्यान्डेट पाएको नेतृत्वलाई परिवर्तन गराएर कसरी रूपान्तरित जनमतको प्रत्याभूति दिन सक्छ ?’

जिल्ला-जिल्लामा रूपान्तरण हुनुपर्छ कि पर्दैन ? भन्ने खालका अभिव्यक्तिले सही बाटो देखाउन सकेको छ ? यस्ता प्रश्नहरू उब्जिएका छन्। चार हजारभन्दा बढी प्रतिनिधि काठमाडौँमा जम्मा गर्न कठिन छ, अहिलेको अवस्थामा सुरक्षा कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठाइन्छ। तर प्रतिनिधिसभा नै दुई दिनको आन्दोलनले बिघटन हुन सक्ने देशमा पार्टी महाधिवेशन किन असम्भव हुनुपर्‍यो?

सत्य के हो भने-अबको राजनीतिमा रूपान्तरण नगरी कुनै पनि दल टिक्न सक्दैन। पार्टीको विधान, संरचना र सोच दुवै समयअनुसार अद्यावधिक गर्नुपर्ने बेला आएको छ। डिजिटल युगको नेतृत्व पुरानो ढर्राका भाषणले सम्भव छैन। देशको भविष्य युवाले नै लेख्ने हुन्, त्यसैले युवालाई स्थान दिनु र उनीहरूलाई निर्णय प्रक्रियामा सशक्त बनाउनु अहिलेको माग हो।

विश्वप्रकाश शर्मा र गगनकुमार थापा देशका विभिन्न ठाउँमा गएर यही सन्देश दिइरहेका छन्- “पार्टीलाई रूपान्तरण नगरेसम्म कांग्रेस बलियो हुँदैन।” उनीहरूले संवाद र सहमतिको बाटो अपनाउँदै जेनेरेसन-जेडको आन्दोलनले उठाएका प्रश्नहरूसँग पनि संवाद गर्नुपर्ने बताइरहेका छन्।

तर दुःखद कुरा के छ भने, जसले बोल्छ, जसले नयाँ बाटो खोज्छ, उसैलाई दोष लगाइन्छ। काम समयमा हुन नसक्दा पनि दोष गर्नेहरू नै हावी हुन्छन्। यस्तो संस्कृतिले पार्टीभित्र नयाँ सोचलाई दबाउँछ, अनि रूपान्तरणको बाटो टाढिन्छ।

आज कांग्रेसका कार्यकर्ताहरूले प्रश्न गर्नैपर्छ-हिजो गुटबन्दीका कारण पार्टी नेतृत्व परिवर्तन भएन, पुरानै नेताको वरिपरि घुम्दा पार्टी सुदृढ भयो त?
देश किन बारम्बार संकटमा पर्‍यो? यदि उत्तर “होइन” छ भने, अब परिवर्तनको बाटो रोज्नु नै बुद्धिमानी हो।

अबको कांग्रेसले “म भन्दा तिमी सानो, तिमी भन्दा ऊ ठूलो” भन्ने मानसिकता त्यागेर “सबै हातमा हात मिलाएर अघि बढ्ने” संस्कार अपनाउनुपर्छ। रूपान्तरण भनेको विभाजन होइन, सुधार हो-संगठनलाई नवीकरण गर्ने प्रक्रिया हो।

नेतृत्व त्यही लिन्छ जसले समयको माग बुझ्छ, जनताको मुटुको धड्कन महसुस गर्छ र देशलाई नयाँ दिशा दिन सक्ने साहस राख्छ। परिवर्तनसँगै सोच, दृष्टि र शैली पनि परिमार्जन गर्नुपर्छ, किनकि पुरानो सोचमा अड्किनेहरू स्वतः इतिहासको पानामा सीमित हुन्छन्।आजको युग नवीन विचार, कार्यक्षमता र निर्णय क्षमताको माग गर्छ।

नेतृत्व भनेको पद होइन, जिम्मेवारी हो-जसले अतीतलाई सम्मान गर्दै भविष्य लेख्ने आँट गर्छ, त्यही साँचो नेतृत्व हो। रूपान्तरणको पक्षमा लाग्नेहरू जोडिँदै गर्छन्, र यथास्थितिमा बस्नेहरू क्रमशः छोडिँदै जान्छन् ।  यही नै राजनीतिक प्राकृतिक छनोट हो।

यस्तो अवस्थामा सबै नेताहरू र कार्यकर्ताहरूले “चित्तै दुखे मन खोलेर माझे पनि हुन्थ्यो” भन्ने गीतको सन्देश सम्झनु जरुरी छ । मनमा रिस, वैमनस्य र अहंकार होइन, खुलापन र संवाद चाहिन्छ।

कांग्रेसलाई अब यथास्थितिबाट होइन, नवचेतनाबाट अघि बढाउन पर्छ।रूपान्तरणको बाटोमा एक भएर अघि बढ्न सके मात्र पार्टी बलियो हुन्छ, पार्टी बलियो बनायौं भने मात्र देश बलियो बनाउन सकिन्छ।

रूपान्तरण नै अबको आवश्यकता हो। यही बाटोले कांग्रेसलाई पुनः जनताको विश्वास दिलाउनेछ। अबको सन्देश स्पष्ट छ। कांग्रेसको रूपान्तरण कुनै व्यक्ति वा पदको सवाल होइन, विचार र संस्कारको पुनर्जागरण हो।प्रत्येक कार्यकर्ता, प्रत्येक जिल्ला, प्रत्येक वडासम्म यो भावना पुर्‍याउन आवश्यक छ।

हामी सबैले आफ्नै ठाउँबाट रूपान्तरणको ढोका खोल्नुपर्छ, तबमात्र पार्टीमा नयाँ ऊर्जा र नयाँ दिशा आउँछ। अब रूपान्तरणको लहर ७७ वटै जिल्लामा फैलाऔं।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय