असोजमै हिमपात, चिसो बढ्यो

काठमाडौं ।संघीय राजधानी काठमाडौं सहित केही पहाडी र हिमाली जिल्लामा  केही दिनदेखि बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ ।

कतिपय ठाउँमा दिउँसो पनि राम्रोसँग घाम लाग्न सकेको छैन । मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेकाले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि अब वर्षा गराउने वायु नेपालबाट बाहिरिएका कारण तत्काल वर्षाको संभावना भने छैन।

महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव अझै रहेको छ भने मध्य र पूर्वी क्षेत्रमा मनसुनी तथा स्थानीय वायुको सामान्य प्रभाव छ । अझै केही दिन दिउँसोमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने भएपनि त्यसको प्रभाव खासै नहुने महाशाखाले जनाएको छ ।

यसैगरी अघिल्लो साताको वर्षापछी नै हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ। हुम्ला,डोल्पा,मनाङ, मुस्ताङ,सोलुखुम्बु,ताप्लेजुङ लगायत जिल्लामा पहिलो पटक हिमपात भएको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५ हिल्लासहित जिल्लाभरका उच्च भेगमा पहिलो पटक हिमपात हुँदा जिल्लाभर चिसो बढ्दै गएको बताइएको छ ।

त्यस्तै सोलुखुम्बुको हिमाली क्षेत्रमा पनि हिमपात सुरु  भएको छ। सगरमाथाको खुम्बु क्षेत्रमा असोज तेस्रो हप्तादेखि नै हिमपात सुरु भएको कुरालाई स्थानीयले दुर्लभ भनेका छन् । कार्तिक अन्तिम वा मंसिर पहिलो हप्तामा हिमपात हुने क्षेत्रमा अहिले असोजमै हिमपात भएको हो।

सगरमाथाको खुम्बु क्षेत्रमा हरेक वर्षको कार्तिक पछि मात्रै हिमपात हुने गरेकोमा यस वर्ष असोजको तेस्रो हप्तामै हिमपात सुरु भएको हो। यहाँ आइतबार बिहानैदेखि पुनः हिमपातले नाम्चेभन्दा माथिल्लो क्षेत्रहरू गोक्यो, दिङ्बोचे र फोर्चे सेताम्य भएका छन्। हिमपातको भार सहन नसकी दिङ्बोचे क्षेत्रका पाँच होटलमा सामान्य क्षति समेत भएको छ। अघिल्लो साता लगातारको वर्षा र हिमपातले पर्यटक, व्यापारी र स्थानीयहरू प्रभावित बनेका थिए, तर मानवीय क्षति भने भएको थिएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय