विपिन जोशी सहित ४ जनाको शव इसराइलले लियो

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशी सहित ४ जनाको शव प्यालेस्टिनी अतिवादी समूह हमासले इसराइललाई हस्तान्तरण गरेको छ। बुझाइएको शव विपिन कै भएको उनीहरुको दावी छ।

सोमबार राती हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो। इसराइली सेना (आइडिएफ)ले सोमबार साँझ रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको छ। यो खबर इसराइली अनलाइन टाइम्स अफ इसराइलले पनि लेखेको छ।

उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको भनेर पनि टाइम्स अफ इसराइलले समाचारमा लेखेको छ। बन्धकहरु छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो। अझ हमासले एक सूचनामा विपिन केही समय अघिसम्म जिवित नै रहेको र पछि हवाइ आक्रमणमा मारिएको दाबी समेत गरेको छ।

फरेन्सिक जाँचका लागि शव तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइएको पनि टाइम्स अफ इसराइलले जनाएको छ। त्यहाँ शव पहिचान प्रक्रिया सुरू भएको र त्यसका लागि दुई दिन लाग्न सक्ने अधिकारीहरूले जनाएका छन्।

चार जनाको शव हस्तान्तरण गरे पनि अजै २४ जना मृत बन्धकको शव हस्तान्तरण भएको छैन। ७२ घन्टाभित्र जीवित रहेकाहरू र मृतकको शव हमासले इसराइललाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय