पोखरामा सडक महोत्सव हुने

पोखरा (फाइल तस्विर)

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा यसवर्ष पनि अङ्ग्रेजी नयाँ वर्ष-२०२६ मा सडक महोत्सव हुने भएको छ।

विगत २६ वर्षदेखि पोखराको लेकसाइड क्षेत्रमा निरन्तर हुँदै आएको सडक महोत्सवले यसवर्ष पनि निरन्तरता पाउने भएको आयोजकले जनाएका छन् । पोखराका रेष्टुरेन्ट व्यवसायीहरुको संस्था रेस्टुरेन्ट एन्ड बार एशोसियशन (रेवान) पोखराले विगतका वर्षमाजस्तै यो वर्ष पनि सडक महोत्सवलाई निरन्तरता दिने निर्णय गरेको हो ।

आगामी पुस १३ गतेदेखि पाँच दिनसम्म चल्ने सडक महोत्सव २७औँ हुनेछ । उक्त महोत्सवलाई सफल पार्नका लागि रेवानका प्रथम उपाध्यक्ष वसन्त गौतमलाई संयोजक बनाइएको छ । हालै बसेको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए ।

कार्यसमिति सदस्य सुनीलबहादुर भट्टराई र सुमन भट्टराईलाई सहसंयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ । पोखरा सडक महोत्सव संचालन गर्नका लागि गठित ‘स्टेरिङ कमिटी’मा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव वीरेन्द्र शेरचन र कोषाध्यक्ष रोशनजंग कार्कीसहित ६ जनालाई राखिएको छ ।

पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि विगत २६ वर्षदेखि महोत्सव गर्दै आएको रेवानले जनाएको छ ।सडक महोत्सव पोखराको लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्मको करिब तीन किलोमिटर सडक क्षेत्रमा हुँदै आएको छ ।

‘सडकमै खाउँ, सडममै नाचौँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ आयोजना गरिँदै आएको सडक महोत्सवले पोखराको पर्यटन प्रबर्धनमा सहयोग पुर्‍याएको रेवानका महासचिव शेरचनले जानकारी दिए । उनका अनुसार  महोत्सवलाई थप आकर्षक बनाउनका लागि विभिन्न क्षेत्रका सरोकारवालासँग सुझाव लिने कार्यक्रम तय भएको छ । महोत्सवले लोपोन्मुख सामग्री र संस्कृतिको संरक्षणमा समेत सहयोग पुग्दै आएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय