प्रचण्ड,माधव र विप्लव ‘कम्युनिस्ट एकता’ को पक्षमा

काठमाडौं । नेकपा माओवादी केन्द्र सहित नेकपा (एकीकृत समाजवादी) र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चुनाव अगावै एकता गर्ने तयारी गरेका छन् ।

तीन पार्टीबीच एकता गर्ने बारे चरणबद्ध छलफल भैरहेको भएपनी तीन वटै पार्टीमा तत्काल एकता गर्न नहुने लाइन पनि बलियो छ।माओवादीमा उपमहासचिव जनार्दन शर्मा,समाजवादीमा महासचिव घनश्याम भुषाल र विप्लवमा प्रबक्ता खड्ग विश्वकर्माको लाइन भने तत्काल एकता भन्दा सहकार्य मात्रै गर्न सकिने भन्ने छ। यद्यपि शिर्ष नेतामा पनि एकताको ‘मोडालिटी’ क्लियर छैन।

भर्खरै सम्पन्न नेकपा माओवादीको सचिवालय बैठकले चुनावबाटै संविधान र व्यवस्थाको रक्षा गर्नसक्ने निष्कर्ष निकालेको छ । त्यसैले पनि आगामी फागुन २१ को निर्वाचनमा बलियो शक्ति बनेर चुनावमा जान समाजवादी मोर्चाका दलहरू एक हुनुपर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुझाइ छ। बैठकमा उनले पार्टी एकताको आधार तयार भैरहेको र छिट्टै एकता हुने सम्मको रिपोर्टिङ गरेका थिए। तर, सचिवालय मै रहेका अन्य केही नेताले तत्काल ‘एकता’ हानिकारक हुनसक्नेमा नेतृत्वलाई सचेत गराएको बुझिएको छ।

माओवादीले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निर्वाचनमा सहभागी हुन आह्वान समेत गरेको छ । यसको मत्लब अब संसद पुनःस्थापनको माग लिएर एमाले र कांग्रेस अदालत गएपनी जनता त्यसको पक्षमा नभएकोले चुनाव आफुहरुले जित्नेगरी अघि बढ्न माओवादी नेताकार्यकर्तालाई आव्हान गरिएको छ।

माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाको कुराले पनि यसको पुष्टि गर्दछ। ‘निर्वाचनलाई सफल पार्नको लागि संसदमा भएका सबै पार्टीहरूसँग छलफल भइरहेको छ। घोषित मितिमै निर्वाचन हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ’-सापकोटाले भने।

बैठकमा पार्टी संयोजक प्रचण्डले समाजवादी मोर्चा विस्तार र विचार मिल्नेहरूसँग एकताको लागि सकारात्मक छलफल भइरहेको ब्रिफिङ गरेको पनि सापकोटाले बताए । मोर्चामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् ।

तर, एकताको कुरामा नेकपा एकीकृत समाजवादीमा भने अध्यक्ष नेपालको भन्दा भिन्न मत बलियो छ। सम्मानित नेता झलनाथ खनाल,उपाध्यक्ष प्रकाश ज्वाला,महासचिव घनश्याम भुषाल,स्थायी कमिटी सदस्य रामकुमारी झाक्री,बिजय पौडेल लगायत नेता तत्काल एकता नगर्ने पक्षमा छन् । उनीहरुले अहिले एकता गर्ने हो भने प्रचण्डले जता लग्यो त्यतै पछिलाग्नुपर्ने अवस्थामा पुगिने भन्दै एकता नहुने अडान लिएका छन् । त्यसैकारण शनिबार बोलाइएको बैठक समेत प्रभावित भएको एक नेताले बताए।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय