अझै साढे ५ हजार कैदी बन्दी फरार
काठमाडौ। जेन-जी आन्दोलनको मौका छोपेर देशका विभिन्न कारागारबाट भागेका ५४० भारतीय सहित झण्डै साढे ५ हजार कैदी बन्दी अझै फरार छन् ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा फरार भएका १४ हजार मध्य अझै ५ हजार ५४७ जना कारागार बाहिर रहेको तथ्यांक सार्वजनिक भएको हो। जसमा ५४० भारतीय नागरिक र अन्य देशका १०८ गरि ६४८ जना विदेशी कैदी बन्दी समेत फरार छन्।
कारागार विभागले पटकपटक सूचना जारी गरि बोलाएपनी फरार कैदी फर्केका छैनन् । असोज २० जम्म आफैं फर्किनेलाई अनुशाशीत भनिएको छ तर, त्यसभन्दा पछि पक्राउ परेका फरार कैदीलाई थप अनुशासनको कारबाही हुनसक्ने छ। ती फरार कैदी बन्दीहरूको खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा फिर्ता ल्याउन नेपाल सरकारले गृह मन्त्रालयको निर्देशनमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन गरेको छ।
जेन-जी आन्दोलनमा फरारमध्ये ९ हजार ८ जना चाहिँ आफैं कारागार फर्किएका थिए। आन्दोलनका क्रममा १४ हजारभन्दा बढी कैदीबन्दी कारागारबाट भागेका थिए।
गृह मन्त्रालयको निर्णयअनुसार मिति २०८२ असोज १० गते गठित कार्यदलले फरार कैदी बन्दीहरूको नामावली संकलन गरी सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू, सुरक्षा निकायहरू, र सेवाग्राही धेरै हुने विभागहरू-जस्तै राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्था विभाग, र नापी विभागमा पठाएको छ।
यससँगै मिति २०८२ असोज २६ गतेसम्मको विवरण कारागार व्यवस्थापन विभागको वेबसाइटमा पनि प्रकाशित गरिएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमा पनि सो सूची हेर्न सकिने जनाइएको छ।
फरार कैदीबन्दीहरूले स्वेच्छिक रूपमा कारागार फर्किएमा सो विवरण सम्बन्धित कारागार कार्यालयले तुरुन्त अद्यावधिक गरी विभाग र जिल्ला निकायहरूमा पठाउने व्यवस्था गरिएको छ। यसका आधारमा वेबसाइटमा सार्वजनिक नामावली पनि क्रमशः अद्यावधिक गरिँदै लैजाने विभागले जनाएको छ।