चलचित्र ‘वरिष्ठ बलराम’ तिहारमा

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राई र बिजय बराल आमनेसामने देखिने यो चलचित्र तिहारमा प्रदर्शन हुनेछ।

ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्षलाई रोचक ढंगले देेेखाइएको छ । खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि सिनेमाको ट्रेलर घुमेको छ । कथा पनि यही वरिपरि घुम्ने र एकले अर्काको अस्तित्व मेटाउने द्वन्द्व सहित अन्य बिषय समेटिएको हुनसक्छ ।

आफू गरिब भएकै कारण अरूको हेपाइसीमा परेको अनुभूत गर्ने विजय र आफूले ढुंगा, बालुवा उठाइरहेको खोलामा अर्कोले हस्तक्षेप गरेपछि त्यसलाई ठेगान लगाउने दयाहाङको नोकझोक ट्रेलरमा छ । यसले पनि चलचित्र थप रोचक बनेको बुझ्न सकिन्छ।

त्यसैगरी जात र कुल ठेगान नभएका विजयको परिवर्तन गर्ने चाहना र आफ्नो हैकम ओरालो लाग्न नदिने दयाहाङको महत्वाकांक्षी योजना पनि ट्रेलरमा देख्न सकिन्छ । आफ्नो झोलामा खोला राखेर त्यसमा रजगज गर्ने दयाहाङ र त्यसको स्वाद आफू पनि लिन खोज्ने विजयको प्रयासलाई ट्रेलरमा समेटिएको छ ।

कात्तिक ६ गते भाइटीकाकै दिन रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय