छाँयानाथ राष्ट्रिय निकुञ्जको चार किल्ला तोकियो

काठमाडौं। सरकारले सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज ‘छायानाथ राष्ट्रिय निकुञ्ज’ को चार किल्ला तोकेर सार्वजनिक गरेको छ । मुगुमा रहेको यो निकुञ्ज घुम्न अब छुट्टै व्यवस्था हुनेछ।
गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले छायानाथ राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । सोही अनुसार वन तथा वातावरण मन्त्रालयले चार किल्ला सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार मुगु जिल्लामा अवस्थित यो निकुञ्जको क्षेत्रफल ८ सय ४३ वर्ग किलोमिटर मात्रै रहने छ ।
निकुञ्जको पूर्वमा कान्जीरोवा हिमालको शिरदेखि उत्तरतर्फ हिमालको टुप्पैटुप्पो, नामलान नदी र खबुला खोलाको दोभान, मरुम डाँडा, याङ्ला लेक हुँदै यालाकान, याला भन्ज्याङ र पलाचुङ हाम्दा हिमाल हुँदै चीनसँगको अन्तर्राष्ट्रिय सीमासम्म तोकिएको छ ।
पश्चिममा दाभसल्ला डाँडादेखि उत्तरतर्फ टुप्पैटुप्पो हुँदै नाम्लाङ खोला समाती पश्चिमतर्फ नाम्लाङ र बेलुङ खोलासम्म, बेलुरुङ खोलालाई समाती शो चुलीको टुप्पैटुप्पो कुलदम डाँडा, नागपी डाँडा, छायरगोला भन्ज्याङ, छिमीमारु डाँडा हुँदै नेपाल चीनबीचको अन्तर्राष्ट्रिय सीमासम्म तोकिएको छ ।
उत्तरमा नेपाल चीनबीचको अन्तर्राष्ट्रिय सीमानामा पर्ने कान्ति हिमालको शिर हुँदै पूर्वतिर चाँदी हुँदै पालचुनहुम्गा हिमाल हुँदै मुगु र डोल्पा जिल्लाको सीमानासम्म तय गरिएको छ ।
दक्षिणमा दाभसल्ला डाँडाबाट दक्षिण जुम्ला र मुगु जिल्लाको सीमाना हुँदै काँडेचुली हुँदै पातारासी हिमालको शिरदेखि कान्जीरोवा हिमालको शिरसम्मको भूभागलाई यस निकुञ्जको क्षेत्रमा समेटिएको छ । यस निकुञ्जको मध्यवर्ती क्षेत्र भने १ सय ७७ वर्ग किलोमिटरमा फैलिएको छ ।
मन्त्रिपरिषद्को सोही दिनको बैठकले शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको समेत चार किल्ला र मध्यवर्ती क्षेत्रको सीमाना हेरफेर गरी तोक्ने निर्णय गरेको थियो । मन्त्रालयले यो निकुञ्जको समेत नयाँ चार किल्ला सीमाना सार्वजनिक गरेको छ ।

