काठमाडौंको तापक्रम घट्दो, आज कति ?

काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ। यो क्रम अझै निरन्तर जारी रहने अनुमान छ। बिहान बेलुकी काठमाडौं उपत्यका चिसो छ।

आज (मंगलबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान ५:४५ बजेको मापन अनुसार १२.५ देखिएको हो । आजको अझै आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे पुन: मापन हुन्छ। त्यतिबेला थोरै अझ घट्न पनि सक्ने वा यत्ति नै रहने पनि हुनसक्छ।

९ दिनअघि असोज २० गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस थियो भने २१ गते घटेर १७.८ डिग्री सेल्सियसमा झरेको थियो। असोज २२ गते एकदिन स्थिर रहेको उपत्यकाको न्यूनतम तापक्रम त्यसयता लगातार घट्दै असोज २३ मा १७.४, असोज २४ मा १५.६, असोज २५ मा १४.५, असोज २६ मा १३.३, असोज २७ मा १३ डिग्री सेल्सियसमा झरेको थियो।

त्यसबाट पनि घटेर आज असोज २८ गते १२.५ डिग्री सेल्सियसमा ओर्लिएको हो। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय