नयाँ पुस्ताको नयाँ विद्रोह बारे !
नारायण खनालदेशमा बढ्दै गएको भ्रष्टाचार र कुशासनका विरुद्ध नयाँ पुस्ताले २०८२ भाद्र २३ गतेका दिन एउटा नयाँ सुरुवात गरेको छ। देशव्यापी रूपमा जेन–जी पुस्ताले आव्हान गरेको यो राज्यसत्ता विरुद्धको शान्तिपूर्ण बिद्रोह इतिहासकै अभूतपूर्व र असाधारण रहेको छ।
यसले कांग्रेस–एमाले सम्मिलित खुनी साम्राज्यका डाँडा–भाटा र धुरीखाँबाहरुलाई पुरै हल्लाइ दिएको छ। त्यतिमात्र होइन, कुनै पनि बेला सत्ताको घर भत्किने खतरा देखेर उनीहरूको कम्पाउण्डमा रुवावासी चल्न थालिसकेको छ। दम्भ, घमण्ड, अहंकार र पाखण्डका सुप्रिमो खड्गप्रसाद ओली नेतृत्वको सरकारले हिटलर शैलीमा जुन रक्तपात मच्चायो, त्यो इतिहासमा क्षम्य हुन सक्दैन।
शान्तिपूर्ण राजनीतिक प्रदर्शनमा उत्रिएका २० जना युवाको टाउको र छातीमा जुन गोली बर्षायो, त्यसको हिसाब एक दिन दिनैपर्छ। केही क्षणमै झन्डै ५ सय जनामाथि गोली बर्षाउन सक्ने ओली सरकार माफी वा क्षमाको लायक छैन। यस राजनीतिक घटनापछि ओली–देउवा नेतृत्वको सरकारको ओचित्यता, प्रसंग र आवश्यकता पुरै समाप्त भइसकेको छ। तत्काल वर्तमान सरकार र संसद दुवै विघटन गरी विद्रोही र स्वतन्त्र नागरिक प्रतिनिधि सम्मिलित चुनावी सरकार गठनका लागि जनदबाब बढाउनुपर्छ।
सर्वप्रथम, राज्यसत्ताका विरुद्धको यस शान्तिपूर्ण बिद्रोहमा शहादत प्राप्त गर्ने बहादुर योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, घाइते सम्पूर्ण युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।
हाम्रा छोराछोरी पुस्ताले गरेको यो शान्तिपूर्ण बिद्रोह सिर्फ सूचना र सञ्चारका माध्यमहरू (सामाजिक सञ्जाल) माथि सरकारले लगाएको प्रतिबन्धकै विरोधमा मात्र सीमित थियो भन्नु इतिहासकै ठूलो भूल हुनेछ।
यो त बितेको साढे तीन दशकदेखि कांग्रेस र तथाकथित कम्युनिस्टहरूको शासनले जनतामाथि थोपरिरहेको गरिबी, अभाव, अन्याय–अत्याचार, शोषण, दमन, अशिक्षा, हत्या, हिंसा, बलात्कार, महँगी, थिचोमिचो, सामाजिक विभेद, भ्रष्टाचार र कुशासनको विरुद्धमा भएको हो। यसै कारण जनताको छोराछोरीहरूले मुलुकको उज्ज्वल भविष्यका लागि, समग्र मुलुकको मुक्तिका लागि, स्वार्थरहित, विवेकसम्मत, पवित्र मनले र योजनाबद्ध तरिकाले विद्रोह गरेका हुन् भन्ने कुरा बुझ्न जरुरी छ। देशको राजनीति अब पहिलो र दोस्रो पुस्ताको हातबाट तेस्रो पुस्तामा सिफ्ट हुँदै गएको स्पष्ट देखिन्छ।
हिजोको यस राजनैतिक घटनाले देशलाई सामान्य अवस्थाबाट एकदमै नयाँ परिस्थितिमा प्रवेश गराएको छ। यस नयाँ परिस्थितिमा आम नागरिकहरूको कार्यभार पनि बिल्कुलै नयाँ बनेको छ।
एकातिर, अब पनि यिनै जनताका हत्यारा र रगतले लथपथिएका रक्तपिपासु शासक वर्ग र उनीहरूको पार्टीको दास भएर बस्ने कि मुलुकको राजनीति, अर्थतन्त्र, समाज, संस्कृति र परराष्ट्र नीतिको समग्र चरित्रमा रुपान्तरण र परिवर्तनको प्रक्रियामा रहेका हाम्रा बौद्धिक छोराछोरीहरूको पक्षमा दृढतापूर्वक उभिने भन्ने निर्णायक निर्णय गर्नु पर्ने बेला आएको छ। अर्कोतर्फ, यस नयाँ अभियानलाई निरन्तरता दिँदै एउटा तर्कसंगत निष्कर्षमा पुर्याउनु पर्ने आवश्यकता पनि उतिकै देखिन्छ।
यस राजनैतिक संकटको घडीमा निराश भएर, विरक्तिएर वा पलायन भएर बस्ने छुट हामीलाई छैन। हाम्रा छोराछोरीहरूले बगाएको रगत खेर जान नदिन यसलाई एउटा अवसरको रूपमा लिँदै राज्यसत्ताका विरुद्ध बसन्त गर्जनसहित निर्णायक संघर्षको तयारी गर्नु इतिहासले सुम्पेको जिम्मेवारी हो।