सम्झनामा डा. मुकुन्द श्रेष्ठ; मेरा असल मित्र

प्रा. खगेन्द्रप्रसाद भट्टराई

डा. मुकुन्दबहादुर श्रेष्ठलाई मैले पहिलो चोटि २०४५ सालमा प्राध्यापक संघको केन्द्रीय समितिको प्रगतिशील समूहको पक्षबाट महासचिवको उम्मेदवारको रुपमा पाटन संयुक्त क्याम्पसमा चुनाव प्रचारको लागि आउनुभएको बेला भेटेको हो ।

त्यति बेला मुलुकका विभिन्न क्याम्पसहरुमा आफ्नो टोलीसँग गई प्राध्यापक मतदातासँग आफ्ना कार्यक्रमहरु राखी मत माग्ने प्रचलन थियो । उहाँको भाषण सुनें र मनमनै लाग्यो, उहाँ एउटा आत्मविश्वास भएको मानिस हो । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि पाटन क्याम्पसमा पनि व्यवस्थापन संकाय खुल्यो र उहाँ सरस्वती क्याम्पसबाट सरुवा भई आउनुभयो । त्यसपछि डा. मुकुन्दसँग मेरो बारम्बार भेट हुनथाल्यो ।

२०५१ सालमा उहाँ विरामी पर्नुभयो; दुवै मृगौलाले काम गर्न छाडेछन् । उपचारको लागि भारत जानुपर्ने र उपचार अत्यन्त महंगो । हामी चिन्तित भयौं उहाँको अवस्था देखेर । सबै क्षेत्रबाट सुभेच्छा-सहयोग प्राप्त भयो र उहाँले पुनर्जीवन प्राप्त गर्नुभयो । हामी सबै खुशी भयौं । उपचार सकिएपछि उहाँ फेरि क्याम्पस आउन थाल्नु भयो । उहाँको अनुहार सुन्निएको जस्तो देखिन्थ्यो; अनुहारले नै उहाँ विरामी देखिनुहुन्थ्यो; तर उहाँ क्याम्पस आउन छोड्नु भएन । हाम्रो कुराकानी हुन्थ्यो, छलफल हुन्थ्यो । एक चोटि भन्नुभयो, ‘औषधि प्रत्येक दिन खानुपर्छ र महीनाको रु. दस हजारभन्दा बढी यसैमा खर्च हुन्छ । एउटा प्राध्यापकको तलबले कसरी धान्ने !’

पाटन संयुक्त क्याम्पस नेपालकै केही ठूला क्याम्पसहरुमध्येको एक क्याम्पस हो । यहाँ मानविकी, विज्ञान र व्यवस्थापनका तीन संकाय छन् । प्रमाणपत्रदेखि स्नातकोत्तरसम्मको पढाई हुन्छ । करिब सात हजार विद्यार्थीहरु छन् । प्राध्यापक र कर्मचारी गरेर पाँच सय जति छन् । यसको व्यवस्थापन ठीक किसिमले हुन आवश्यक छ । तर केही समय क्याम्पस राम्रो किसिमले चल्न सकेन । डा. मुकुन्द लगायत हामी केही प्राध्यापकहरु सँगै बस्यौं र क्याम्पसको बारेमा गम्भीर रुपले छलफल गर्‍यौं । क्याम्पसलाई हामी सबै मिलेर बनाउने कुरामा सहमति भयो । यस कार्यमा डा. मुकुन्दको अत्यन्त महत्वपूणर् भूमिका थियो । हाम्रा साझा प्रयासले क्याम्पसमा केही सकारात्मक परिवर्तन भएका छन् ।

२०५६ सालमा मैले पाटन संयुक्त क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी लिनुपर्‍यो । क्याम्पसमा विभिन्न समस्याहरु आइनै रहन्छन् । ती समस्याहरुको समाधान तथा क्याम्पसको शैक्षिक-प्राज्ञिक तथा भौतिक विकासको क्रममा डा. मुकुन्दले व्यवस्थापन समिति तथा कार्यसमितिमा रहेर मलाई ठूलो सहयोग पुर्‍याउनु भयो, जसको लागि उहाँप्रति म सधैं कृतज्ञ छु ।

२०५८ सालमा नेपाल प्राध्यापक संघको निर्वाचन महासंघीय संरचना अन्तर्गत सम्पन्न भयो । म नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएँ । उक्त निर्वाचनमा डा. मुकुन्द केन्द्रीय समितिको सदस्य निर्वाचित हुनुभयो । म अत्यन्त खुशी भएँ । परिवर्तित संरचना अन्तर्गत प्राध्यापक संघलाई कसरी अगाडि बढाउने भन्ने कुरामा म गम्भीर थिएँ । डा. मुकुन्द जस्तो व्यक्ति संघको केन्द्रीय कार्य समितिमा चुनिएर आउनुभएपछि मैले महत्वपूणर् सल्लाह र सहयोग पाउने भएँ भन्ने भयो । उहाँले मलाई सधैं नै सहयोग गर्नुभयो ।

२०५८ सालमा संघमा केन्द्रीय सदस्य डा. गोपाल भण्डारीको संयोजकत्वमा नेपाल प्राध्यापक संघले पूर्वाञ्चल क्षेत्रीय गोष्ठीको आयोजना गर्‍यो । गोष्ठीमा उच्च शिक्षामा देखिएका कमीकमजोरीलाई केलाउँदै गुणस्त्तर अभिवृद्धिका लागि सम्बन्धित पक्षलाई सुझाव दिने लक्ष्य राखिएको थियो । हामी काठमाण्डौंबाट केन्द्रीय कार्य समितिका सबै साथीहरु गोष्ठीमा भाग लिन धरान गयौं । केही दिन सँगै बस्यौं । विभिन्न विषयमा छलफल भयो । डा. मुकुन्दको स्पष्ट चिन्तन र सशक्त अभिव्यक्ति म अझै सम्झिरहन्छु ।

२०५९ सालमा फेरि सुदूर तथा मध्य पश्चिमाञ्चलका प्राध्यापकहरुको सहभागिता हुने गरी संघका केन्द्रीय सदस्य महेन्द्र मल्लको संयोजकत्वमा सुर्खेतमा एउटा गोष्ठीको आयोजना गरिएको थियो । त्यस बेला डा. मुकुन्द विरामी हुनुहुन्थ्यो । मैले उहाँलाई फोनमा जानको लागि आग्रह गरें । उहाँले शरीर ठीक नभएको हुँदा जान गाह्रो हुने कुरा गर्नुभयो । मैले हल्का जोड गरें । उहाँ जान तयार हुनुभयो । एउटा माइक्रोबसको व्यवस्था गरिएको थियो । केन्द्रीय कार्य समितिका हामी सबै त्यसैमा गयौं । हिंडेपछि मलाई मनमा अलि डर लाग्यो । मृगौलाको विरामी, केही दिनदेखि सञ्चो नभएको, केही गरी उहाँलाई बाटोमा च्याप्यो भने के गर्ने ? खानपीनमा विशेष ख्याल गरियो । आफ्नै गाडी भएको हुँदा इच्छा अनुसार रोक्न मिल्ने र आफू अनुकूल खाना पकाउन पनि समय हुने भएको हुँदा असजिलो भएन । भाग्यवश उहाँलाई केही भएन, सकुशल हामी त्यस क्षेत्रका विभिन्न क्याम्पसहरुको भ्रमण गर्दै काठमाण्डौं फर्कियौं ।

माइक्रो बसमा अगाडि पट्टि दुई जनालाई बस्न मिल्ने सिट थियो । डा. मुकुन्द र मसँगै बस्यौं । उहाँ विरामी भए पनि अत्यन्त पत्रपत्रिका पढ्न र कुरा गर्न रुचाउनु हुन्थ्यो । क्याम्पस, विश्वविद्यालय, उच्चशिक्षा, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति हाम्रा छलफलका विषय भए । डा. मुकुन्द र मेरो बीचमा यति आत्मीयता भइसकेको थियो कि हामी आफ्नो परिवार, विवाह, पत्नी, छोराछोरी सबैका बारेमा मलाई जानकारी दिनुभयो र मैले पनि ।

काठमाण्डू फर्केको केही दिनपछि मलाई उहाँले राती फोनमा भन्नुभयो, ‘भट्टराई सर, मलाई त बाहिर जाँदा नै फाप्ने रहेछ । काठमाण्डू फर्के पछि त म फेरि विरामी भएँ ।’
उहाँको स्वास्थ्यमा सुधार हुने र बिग्रने भइरहेको थियो । स्वास्थ्यलाई विशेष ख्याल गर्नका लागि म बारम्बार सल्लाह दिन्थें । पाटन क्याम्पसमा केही विद्यार्थीहरुले विभिन्न माग राखी अप्ठ्यारो पारिरहेका थिए । तत्कालीन क्याम्पस प्रमुख श्रीसिद्धिबहादुर शाक्यको पनि स्वास्थ्य ठीक नभएकोले राजीनामा दिने कुरा भइरहेको थियो । केही दिनपछि उहाँले राजीनामा दिनुभयो ।

क्याम्पसलाई एउटा असल र सक्षम क्याम्पस प्रमुखको आवश्यकता थियो । कसलाई क्याम्पस प्रमुख बनाएको खण्डमा ठीक होला भनी सरसल्लाह भइरहेको थियो । एक रात उहाँले मलाई फोनमा भन्नुभयो, ‘भट्टराई सर, क्याम्पसको जिम्मा त म आफैं लिउँ कि ?’ मैले भनें- ‘असाध्यै राम्रो । तर स्वास्थ्यले साथ दिन्छ ?’ उहाँले भन्नुभयो, ‘डाक्टरको भनाइमा अहिले ममा केही गडबडी छैन । मैले आफैं पनि राम्रो अनुभव गरिरहेको छु ।’

उहाँ क्याम्पस प्रमुख हुनुभयो । मैले बधाई दिएँ र सकेको सबै सहयोग गर्ने वचन पनि । तर क्याम्पस प्रमुख भएपछि उहाँले धेरै काम गर्न पाउनु भएन । स्वास्थ्य बिग्रियो । केही दिनपछि अस्पताल भर्ना हुनुभयो । हामीले स्वास्थ्यमा सुधार हुने आशा गरेका थियौं । तर उहाँको अन्तिम अवस्था भइसकेको रहेछ । शायद त्यसको संकेत उहाँलाई भयो होला र उहाँ संसारबाट बिदा हुनुभयो । एउटा अनन्य मित्र, सहयोगी गुमाएकोमा गहिरो चोट लाग्यो, म स्तब्ध भएँ ।

डा. मुकुन्द बहादुर श्रेष्ठ एक राष्ट्रवादी, स्वाभिमानी, निर्भीक र इच्छा शक्ति भएको व्यक्ति हुनुहुन्थ्यो । सानै उमेरदेखि राजनीतिक रुपले अत्यन्त सचेत हुनुहुन्थ्यो र वामपन्थी विचारधाराले उहाँलाई प्रभावित पारेको थियो । उहाँ इमान्दार र स्पष्टवादी हुनुहुन्थ्यो । साहित्यप्रति पनि उहाँको रुचि थियो । साहित्यिक पुस्तक पढ्ने र कहिलेकाहीं आफ्ना भावना र विचारलाई कविताको माध्यमबाट व्यक्त गर्नुहुन्थ्यो । उहाँमा असल साथी, सफल प्राध्यापक, विशिष्ट विद्वान्, सचेत नागरिक र एउटा असल मानवमा हुने धेरै गुणहरु विद्यमान थिए । उहाँको अभाव हामीलाई सधैं खड्किरहनेछ ।

(नेपाल प्राध्यापक संघको २०५८ सालमा भएको केन्द्रीय महाधिवेशनमा लेखक प्रा. भट्टराई प्रजातन्त्रवादी प्राध्यापक संघको तर्फबाट अध्यक्षमा तथा दिवंगत डा. श्रेष्ठ केन्द्रीय सदस्यमा विजयी हुनुभएको थियो)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय