उपेन्द्र पछि माधव नेपालको पार्टी संकटमा !

काठमाडौं, २४ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पछिल्लो समय निकै तनावमा देखिन्छन् । उनको तनावले पार्टीको भविस्य समेत खतरामा परेको कार्यकर्ताको बुझाइ छ।

एकातिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण सत्ता सहकार्य र गठबन्धन भित्र स्पेस नपाउनु र  अर्कोतिर पार्टी भित्रका धेरैजसो नेताकार्यकर्ता एमाले फर्किने मनस्थितिमा पुग्नुले माधवकुमार नेपाल तनावमा रहेको बुझिएको छ। पछिल्लो समय पार्टीका सम्मानित नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालसँग समेत अध्यक्ष नेपालको दुरि बढेको छ।

इलाम र बझाङमा सम्पन्न उपनिर्वाचनमा पार्टीका उम्मेदवारको लज्जास्पद हार मात्रै नभै धरौटी नै जफत हुनु र पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको संरचना भताभुङ्ग र लथालिङ्ग अवस्थामा पुग्नुले एकीकृत समाजवादीको भविस्य समेत खतरामा पुगेको पार्टीकै नेताकार्यकर्ताले भन्न थालेका छन् ।

स्रोतका अनुसार समाजवादीका अध्यक्ष नेपाल र एमाले अध्यक्ष ओली अब एउटै गठबन्धनमा बस्ने कि नबस्ने भन्ने पनि छिनोफानो हुनेवाला छ। सुदुरपश्चिम सरकारको नेतृत्व गरिरहेको समाजवादीले त्यो पनि गुमाउने खतरा छ। किनभने एमालेले मुख्यमन्त्री दिर्घ सोडारीलाई बिश्वासको मत दिन आनाकानी गरिरहेको छ।अध्यक्ष ओलीले पनि सुदुर पश्चिमका आफ्ना सांसदलाई  हतार नगर निर्देशन दिएका छन् ।

यता ओलीले उपेन्द्र यादव नेतृत्वको जसपा फुटाउन भुमिका खेलेको आरोप खेप्दैछन भने अब त्यसको पुष्टि नेकपा एकीकृत समाजवादी पनि फुटाएर गर्ने तयारी छ। उच्च स्रोतका अनुसार नेकपा एसका १० सांसद मध्य ७ जना एमालेमा फर्किने तयारीमा छन् । अध्यक्ष नेपाल,उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र मेटमणी चौधरी बाहेक सबै सांसद तथा हालका मन्त्री एमाले फर्किन सकारात्मक रहेको हल्ला एमालेले नै फैलाइरहेको छ।उपेन्द्रको पार्टीका ७ जना र माधवकुमार नेपालको पार्टीका ७ जना गरेर १४ जना एमालेसँग एकता गर्ने अवस्था आएमा एमाले संसदमा सबैभन्दा ठूलो दल बन्ने छ।

त्यसपछि प्रचण्ड सरकार ढाल्न एमाले आफैं अगाडी सर्ने र त्यसपछि ठूलो दलको हैसियतमा सरकार एमालेले बनाउने छ। त्यो सरकारलाई कांग्रेसले सुरुमा बाहिरै बसेर समर्थन गर्ने र पछि चुनावी सरकारको रुपमा पुनर्गठन हुँदा एमाले-कांग्रेसको सरकारले ०८४ को चुनाव गराउने तयारी समेत रहेको बुझिएको छ। यदि यो प्लान सफल भएमा त्यतिबेला सम्म माओवादी,जसपा र राष्ट्रिय स्वतन्त्र पार्टी समेत सानो आकारमा खुम्चिने ओलिको बिश्लेषण छ। सोही अनुसार उनले प्रचण्ड र रवि लामिछानेलाई अनेकौं बिबादास्पद कामको लागि उक्साइरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय