फिल्म ‘बसन्त’ निर्देशन गर्दै प्रकाश सपूत
काठमाडौं।गलबन्दी च्यातियो तिमिले तानेर……बोलमाया……सकम्बरी लगायत गीतबाट चर्चाको शिखरमा पुगेका गायक प्रकाश सपूतले अब आफ्नै लेखन र निर्देशनमा फिल्म निर्माणको घोषणा गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै प्रकाशले बसन्त नामको फिल्म बनाउने घोषणा गरेका हुन् । ‘वसन्त’ मा मुख्य भूमिकामा प्रकाश सपूत आफै खेल्नेछन् भने उनको अपोजिट नायिका स्वस्तिमा खड्का हुनेछिन । यद्यपि यसमा नेपाली चलचित्रका अब्बल कलाकार प्रकाश घिमिरे,अनुप बराल,कमलमणि नेपाल(खुपिका बाउ) को पनि केन्द्रिय भुमिका हुनेछ।
यस अघि नारायण रायमाझीको परदेशी-२ चलचित्रमा अभिनय गरेका प्रकाश सपुतले चलचित्र वसन्त आफैँले निर्देशन र निर्माण गर्न लागेका हुन् । गलबन्दी फिल्मको ब्यानरमा बन्ने चलचित्रमा लेखन र संगीत समेत प्रकाशकै हुनेछ ।
चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् । सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् । प्रकाशले छिट्टै फिल्म‘पूर्णबहादुरको सारङ्गी’मा पनि अभिनय गर्नेछन् । आफ्नो फिल्म अघि यस फिल्मको छायांकन सक्ने उनले बताएका छन् । चलचित्र बसन्तको छायांकन बागलुङ,पोखरा र काठमाडौमा हुनेछ।