के स्वर्णिम र गगन मिल्दैछन् ?

काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले पछिल्लो समय गुमनाम छन् ।
गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको राजिनामा मागिरहेको कांग्रेसले रास्वपा भित्रकै एउटा समूहलाई कन्भिन्स गरेर सत्ता परिवर्तन गराउने सम्म प्रयास भैरहेको कुरा बाहिर आइरहेको छ। यही हल्लाको बिचमा रास्वपा उपसभापति तथा सांसद स्वर्णिम वाग्ले गुपचुप रहनु र कांग्रेस महामन्त्री थापाले चर्को नबोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। त्यसो त स्वर्णिम वाग्ले एक बर्ष अघि मात्रै कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन् ।उनी कांग्रेसमा रहदा गगन थापाको प्रीय थिए।
इलामको उपनिर्वाचनमा लज्जास्पद हार सहित धरौटी जफत भएपछि रास्वपा भित्र असन्तुष्टि बढेको र सभापतिको कार्यशैली नै गलत भएको टिप्पणी हुन थालेको छ। स्रोतका अनुसार रास्वपा भित्र सभापति लामिछाने एक्लै बोल्ने र एक्लै निर्णय गर्ने गर्दछन। सभापति लामिछानेले यदि कुनै कुरामा अरुको साथ लिनुपरे पनि आफ्नै ‘कोरटिम’ भित्रका उपसभापति एवं श्रममन्त्री डिपि अर्याल, महामन्त्री डा.मुकुल ढकाल र दिपक बोहराको साथ लिएर अरुलाई पेल्ने गर्दछन् । यसले गर्दा पार्टी भित्रका नेताहरू उपसभापति वाग्ले सहित खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ,डा.तोशिमा कार्की, सोबिता गौतम लगायत सांसद असन्तुष्ट छन् ।
रास्वपा भित्रको असन्तुष्ट समुहलाई कांग्रेस महामन्त्री थापाले भेटघाट गर्ने गरेको बुझिएको छ। जसले सभापति लामिछानेको कार्यशैली विरुद्ध सशक्त भएर प्रतिकार गर्ने र आवश्यक परे कांग्रेससँग सत्ता सहकार्य गर्ने सम्मको तयारी भएको बुझिएको छ। त्यसो त कांग्रेस महामन्त्री थापाले बाहिर बिरोध गरेपनी रास्वपा सभापति लामिछानेसँग घनिष्ठ सम्बन्ध र सुमधुर व्यबहार गरिरहेको स्वयं उनकै समुहका नेता बताउँछन् ।
एमाले माओवादी लगायतको बर्तमान गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन प्रयास गरिरहेको कांग्रेसले रास्वपा भित्रको स्वर्णिम समुहलाई विश्वासमा लिएर केही खिचडी पकाइरहेको अनुमान धेरैले गरेका छन् । त्यसमा महामन्त्री गगन थापा र रास्वपा उपसभापति वाग्लेको गुमनाम सम्बन्धले कस्तो भुमिका खेल्छ हेर्न बाकी छ।
पार्टी फुटाउने भन्दा पनि सभापति रवि लामिछाने सहितको नयाँ गठबन्धन बनाउने र त्यसमा राप्रपा, नेकपा एस,उपेन्द्र यादवको जसपा लगायत दल पनि समेट्ने प्रयास भैरहेको स्रोतले बतायो। तर,एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यो कुराको सुइँको पाइसकेका कारण तत्काल बैकल्पिक गठबन्धन बन्न गाह्रो रहेको बुझिएको छ।

