रविले कार्यकर्तालाई भने-,’आजसम्म कसैलाई ठगेको छैन’
काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुले आजसम्म कसैलाई नठगेको स्पष्टीकरण दिएका छन् ।
उनले कार्यकर्तालाई शिर ठाडो पारेर हिंड्न समेत आग्रह गर्दै भनेका छन्-‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन।’
शुक्रबार सदनमा कांग्रेसले अवरोध गरेर बोल्न नपाएपछि गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्-‘म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ।’
लामिछानेले अझै अगाडी लेखेका छन्-‘तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र?’
उनले अन्त्यमा आफ्ना समर्थक र नेताकार्यकर्तालाई भनेका छन् -‘प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।’