धादिङको मैदीमा ढाका,अचार र दुना टपरीको उत्पादन शुरु

धादिङ, २५ वैशाख । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर-२ मैदीका महिलाहरुले गाउँमै ढाकाका सामाग्री, अचार र दुना टपरी उत्पादन सुरु गरेका छन् ।
यहाँका महिलाहरुले समुहमा आवद्ध भई सामुहिक रुपमा यस्ता बस्तुको उत्पादन र बजारीकरण सुरु गरेपछि अहिले गाउँमा खुशी छाएको छ।आर्थिक बर्ष २०८०/०८१ को गाउँपालिकाको उद्यम विकास तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत महिलालाई सिप र प्रविधि हस्तान्तरण गरीएको र सोही सीपबाट उत्पादन सुरुभएको ज्वालामुखी-२ का वडा अध्यक्ष राजु लोप्पाले जानकारी दिए।
गाउँकै महिलाहरुलाई सीप सिकाइ स्वरोजगार बनाउने र त्यसबाट आर्थिक उपार्जनमा समेत सहयोग पुर्याउने उदेश्यले कार्यक्रम सुरु गरीएको वडा अध्यक्ष लोप्पाको भनाइ छ। यसरी गाउँ मै आयआर्जनको काम सुरुभएपछी महिलाको क्षमता बिकास र आम्दानी समेत बढेको छ। गाउँपालिकाले २० लाख रुपैयाँको बजेटबाट मैदीका १० जना महिलाहरुलाई तीन महिना १० दिनको तालिम दिएपछि अहिले तिनै १० जना महिलाहरुले ढाका बस्तुहरु उत्पादन गर्न थालेको र तालिम उपयोगी भएको गाउँपालिका अध्यक्ष यमनाथ दनैले जानकारी दिए।
महिला शसक्तिकरण र गाउँमै स्वरोजगारी बनाउने उदेश्य अनुरुप गाउँपालिकाको योजना अनुसार तालिम र प्रविधि हस्तान्तरण गरीएको अध्यक्ष दनैले बताए ।महिलाको क्षमता बिकास र तालिम ले सिङ्गो गाउँपालिकाको समृद्धी हुने भन्दै अध्यक्ष दनैले आगामी दिनमा अन्य वडाहरुमा पनि यस्तै प्रकारको मागमा आधारित तालिमहरु सन्चालन गरिने बताए।
यसैगरी वडा नम्बर-२ मा ४५ जना महिलाहरु मिलेर दुना टपरी बुन्न सुरु गरेका छन् भने अन्य ५ जना महिलाहरुले अचार उत्पादन सुरु गरेका छन् । गाउँमै उत्पादन भएको बस्तुहरु खरिद गर्न र महिलाको श्रम अनि सीपको उचित लाभ दिन अध्यक्षको आग्रह छ। उनले यस्तै सिपमुलक र आयमुलक कामको लागि हरेक वडामा भिन्दैभिन्दै कार्यक्रम संचालन गरिने पनि जानकारी दिए।

