सम्पादक थरीथरीका…

मनोज कुमार कर्ण

हिजाेआज मान्छेले शैक्षिक पत्रिका जर्नल (Journal), आम सञ्चार माध्यम (Mass media), अनुवाद (Translation), विज्ञापन लेख्ने (Advertisement), साहित्यिक सिर्जना (Literary writing), अनुसन्धान जस्ता वैज्ञानिक/प्राज्ञिक लेखन (Scientific/Academic writing), व्यवसायिक लेखन (Professional writing) जुन वैज्ञानिक लेखन नै हाे, पुस्तक, डायरी लेखन, संस्मरण आदि लेखन गर्छन् ।

यी लेखनहरू (Writings) लाई वैज्ञानिक ढंगले प्रचलित अमेरिकन साईकाेलाेजिकल एशाेसिएशन, एपिए (American Psychological Association, APA, latest/current version 7th edition) वा, माेडर्न ल्याङवेज एशाेसिएशन, एमएलए (Modern Language Assoxiation, MLA, latest/current version 9th edition) वा, विषय अनुसार सान्दर्भिक अन्य कुनै निर्दिष्ट स्टाईल अफ् राईटिङमा ढालेर लेख्दा मात्र त्याे सान्दर्भिक, संरक्षण गर्न सजिलाे, अर्थपूर्ण, सबैकाे पहुँच त्यस लेखसम्म हुने, गुणस्त्तरयुक्त, प्रामाणिक लेखन आदि मानिन्छ । अहिलेकाे युग (Age) मा अब पुस्तक, पत्रिका लेखेर राखिदियाे, मान्छे (लेखक) बितेर जाँदा ठिक ठाउँमा ती कृतिहरू संरक्षण भए भयाे नत्र पानीमा गलेर, काेठामा दिबार किरा (Mites) लागेर वा जलेर नष्ट हुने जमाना गईसक्याे बरू वैज्ञानिक/प्राज्ञिक लेखन विधिबाट भविष्यकाे सन्ततीले पनि अनुभवबाट लाभ उठाउन् भन्ने उद्देश्यले लेखहरूकाे डिजिटेलाईजेशन गरि डिओआई (doi) नम्बरमा सूचीकृत गरि कहिल्यै नमेट्ने/नहराउने गरि वेब (web) मा क्लाउड (Cloud) बनाएर संरक्षण गरिन्छ ताकि मान्छे मरेर गएपनि उनका कृतिहरू अनन्तकालसम्म उपलब्ध हुने हिसाबले राखियाेस् ।

अर्थात्, वैज्ञानिक ढंगले लेखिएकाे जुनपनि कृति मानव उपयाेगी सम्पत्तिकाे रूपमा अचेल लिईन्छ तसर्थ, त्यसक्रममा आफ्नाे लेखनमा कहाँ त्रूटीहरू छन् वा अरूले लेखेकाेमा आफ्नाे ज्ञान-विज्ञानले कहाँ-कहाँ अशुद्धिहरू देखाउँछन्, याे कार्य लेखनपछि अति जरूरी छ, यहि नै सम्पादन कार्य (Editing work) हाे ।

पहिलाे कुरा त सम्पादन सबैले गर्न सक्दैनन् किनकि याे गहन, मिहिनेती, समय लाग्ने, लेखनका नियमकानून जान्ने, धैर्यशील आदि गुणभएका मान्छेबाट मात्र सम्भव हुन्छ भने कहिलेकाहीं यी सबै गुणहरू भएर पनि मानसिक स्थिति (Mood) ठिक नहुँदा सम्पादन सहि अर्थमा हुन सक्दैन । यस लेखले एऊटा असल सम्पादकमा हुने गुणहरू के-के हुन् र सम्पादन जस्ताे उच्च मस्तिष्ककाे ओजस्वी र प्रतिष्ठित कार्यमा पनि कहिलेकाहीं कस्ता-कस्ता मानिस प्रवेश गरिदिन्छन्, ती बारे छाेटकरीमा चर्चा गर्दै लेखकहरूलाई अझ संवेदनशील र सचेत बनाउनु हाे ।

सम्पादनमा देखा परेका केही समस्या

मैले लेखहरूलाई कुनै पत्रिकामा व्यवसायिक रुपमा सम्पादन गर्ने अवसर पाएकाे छैन तर बाध्यात्मक परिस्थितिमा जस्तै ईन्टेलेक्चुल ईन्टिग्रिटि एण्ड रिसर्च जर्नल (Intellectual Integrity & Research Journal) काे दुईटा भागका शैक्षिक लेखहरू दर्जनाैंकाे संख्यामा वा कसैले मित्रकाे रूपमा मेराे थेसिस, रिपाेर्ट, लेख (Article) हेरिदेउ त भन्दा माैका भने सम्पादन गर्न प्रचुरमात्रा पाएकाे र पाईरहेकाे हुन्छ, विना फीसकाे मुफ्तमा (Without fees and totally free) । तर अचेल धेरै जना जर्नल निकाल्नलाई “कमाउने” उद्देश्यले नै पनि सम्पादक बन्ने चलन क्याम्पसहरूमा देखिन्छन्, भलै उसलाई आफ‌ै सम्पादन गर्न आओस्-नआओस् तर उसले नामकाे अगाडिकाे प्राध्यापक-डाक्टर (Professor-Doctor) शब्दकाे लाभ लिईरहन्छ ।

मैले सम्पादनका बाध्यात्मक सम्पादनकाे क्रममा के-के भेट्टाएँ भने कतिले लेख लेख्ने तर निश्चित स्टाईल अफ् राईटिङमा ढाल्न नसक्ने, कतिले अरूबाट लेख्न लगाई आफ्नाे नाममा लेख बनाई पठाउन लगाउने तर विषयविज्ञबाट कन्टेन्ट कमेन्ट पठाउँदा सम्पर्कमा नआउने, कतिकाे लेखमा सन्दर्भ सूची नभएकाे, कतिलाई याे पुगेन भन्दा “म बिजि छु, याे मिटिङ्गमा छु, याे स्त्तरकाे मान्छेसँग भेट्दै छु, यति दिन फुर्सद छैन” आदि भनेर अयाेग्यता छाेप्दै पेल्ने वा अदृश्य धम्की दिने र जस्ताे भएपनि लेख छाप नत्र राम्राे हुँदैन भन्न पनि भ्याउने, पत्रिका छपाईकाे रकम राेकिदिने, म संस्थाकाे चीफ हुँ र प्राध्यापक तथा डाक्टर तसर्थ, सबैकाे नियमत: (Duly) लेख आएर सम्पादन भई अब प्रिन्ट हान्न प्रेसले आदेश माँगिरहेकाे बेला “मेराे पनि लेख छ, बिना सम्पादन चूपचाप हाल” भनी अन्तिम क्षणमा “बहुलाउन लगाउने” दबाव दिने आदि जस्ता दु:ख व्यहाेरें तर जुन लेखहरूबाट जाे-जसले करियर (Career) मा प्रमाेशन पाए, न उनिहरू कसैले, न क्याम्पस वा विश्वविद्यालय संस्थाले कहिल्यै कुनै मूल्यांकन गर्ने ! बरू, लेख छापिनु अघि ज-जसले कमेन्ट पाएका हुन्छन्, उसले उल्टै मलाई “शत्रु/घृणाकाे पात्र”काे रूपमा लिए र पनि, भाषागत त्रुटि सबै ती लेखहरूका जर्नलहरूमा सच्याएं नै तर अरूकाे विषयकाे कन्टेन्टकाे वर्ष, स्राेत भाषा सम्पादकले कहाँबाट ल्याईदिने ?

समस्या यहाँ पर्थ्याे ! परिणामत: नचाहेर पनि मित्र कम तर “शत्रु” बढी कमाएकाे छु । तर मित्र वा “शत्रु” जसकाे पनि आत्माले मेराे सामु पर्दा एकेडेमिकली मलाई आदर गर्छ भलै “शत्रु” जतिमध्ये कतिले मलाई सम्पादनकाे क्रममा “घमण्डी” पनि भनें तर मैंले यसलाई ऊनिहरूकाे केवल अयाेग्यताकाे रूपमा मनमनै लिएर कहिल्यै सम्बन्ध बिगार्ने मनमुटावकाे रूपमा लिईनँ/गरिनँ जबकि लेखक कतिले भने अब “सम्पादक” स्वयं बनेर वा मेराे अनुपस्थितिमा चियाेचर्चा (Backbiting) गरिरहेका हुन्छन् जुन प्राध्यापकीय बाैद्धिक गुण (Intellectual quality) मा पर्दैन, चाहे गर्ने काेही प्रा र डा नै टाईटिलका किन नहाेउन् ! हाे, अब चाहिँ म स्वयंपनि विभिन्न जर्नलहरूमा वृत्तिविकास (Career development) काे लागि भने पत्रपत्रिकाहरूमा एऊटा सचेत नागरिककाे हैसियतले समसामयिक शैक्षिक, राजनैतिक आदि मुद्दामा निरन्तर लेखिरहेकाे हालसम्म छु ।

शैक्षिक पत्रिका (Journal) मा लेख्दा मेराे लेख अन्यकाे झैं साथीबाट हेर्नलाई (Peer review) भनेर दिईन्छ सम्पादनकाे लागि तर सहि अर्थमा भने हाेईन किनकि पीयर रिभ्यूमा जानकारी सहित मेराे लेख कसैलाई दिईयाे भने उसकाे पनि सम्पादन मण्डल (Editorial board) द्वारा म कहाँ आऊनुपर्छ, जुन आउँदैन । र, यसैलाई पीयर रिभ्यू भएकाे तथा सम्पादन भएकाे भनेर छापिन्छ जुन गलत र अपूर्ण अभ्यासहरू भईरहेका छन् । मलाई कसैकाे लेख नदिईनुकाे कारणमा म बुझ्दछु कि म एपिए/एमएलएकाे नियममा रहेर हरेक ठाउँमा र कन्टेन्टकाे समग्र र अनुच्छेदपिच्छे पनि दिन्छु जुन अचेल अधिकांश लेखकलाई “मन पर्दैन” । अनि पियर रिभ्यूडलाई नै अन्तिम मानेर सम्पादनसमेत भनिनुकाे कारणमा मलाई लाग्छ कि सम्पादकहरूले संस्था र व्यक्तिकाे भर्खर आफूप्रतिकाे लेखककाे भावना लेखें जिसरी गहन सम्पादन “मन नपराउनु” र समय अभाव हुन जानू हाे किनकि जति पहिला लेख मागे पनि काम नगर्नेहरूले अन्तिम समयमा दिने, कमेन्ट पाएपछि सच्याउनुकाे साटाे साेर्सफाेर्स लगाउने, लुक्ने वा अन्त्यमा “मलाई आउँदैन, भाषामा उद्धार गरिदिनुस्” भनेर समय घर्काईदिन्छ । यसमा यदि संस्थाकाे प्रमुख वा प्रशासनकाे गैह्रप्राज्ञिक मान्छे लेखक भइदियाे भने जानकार सम्पादक र इमान्दारलाई “बहुलाउनु” सिवाय अर्काे विकल्प छैन । तर म अटेरी भने पक्कै छैन, सत्य र विद्वत् शिक्षाप्रद कमेन्टलाई सिक्ने अवसरकाे रूपमा सदै शिराेधार्य गरि तदनुसार लेखलाई मिलाउँछु, टेक्निकहरू सिक्छु !

यस्ता जर्नलका लेखहरूमा म अचेल कस्ता सम्पादकहरू भेट्टाउँछु/झेल्छु भने राम्राे अर्थमा काेही सिकाउने भेट्छु भने प्राय: थर्काउने सम्पादक, कमेन्ट दिंदा मानाैं एपिएकाे छैठाैं संस्करणमा जबकि लेख मागिएकाे हुन्छ प्रचलित साताैं संस्करणमा, लेखकाे उद्देश्य, प्रश्न यस्तै भाषामा उल्लेख गरिएकाे भएपनि “उद्देश्य” स्पष्ट भएन र प्रश्न छैन भन्ने, क्वालिटेटिभ मेथडकाे लेखमा क्वान्टिटेटभ मेथडका तरिका र डेटाहरू माँग्ने, बकाईदा ३-४ जना सिद्धान्तकर्ताहरूका कुरा विवेचना र तुलनासहित उल्लेख छ तर उसले भन्ने कि न्यारेटिभ भयाे रे, अनुच्छेदमा लेख्दा कम्तिमा २ वा ३ वटा वाक्य लेखेपछि साे सम्बन्धित वस्तुलाई अब मात्र ईन्टेक्स्ड् साईटेशन गर्ने नियम छ तर मेरा सम्पादक महाेदयले पहिलाे त्याेपनि परिचय (Introduction) कै पहिलाे वाक्यमा स्राेत खाेज्छ (!), जहाँ पृष्ठ संख्या नहाल भन्छ, त्यहाँ “हाल्छ कि लेख फाल्दिऊं !” भनेर थर्काउँछ, लेखमा तल सारांश पछि सल्लाह छ तर उसले सारांशकाे भाषा र उपशीर्षक नै नबुझेर अब सल्लाहमा माथि उपशीर्षक हाल भन्छ आदि । कतिपय नवसम्पादक महाेदयले पहिलाकाे “बदला”लिनलाई दसवटा जति कमेन्ट क्राेधपूर्वक लेख्नुहुन्छ तर प्रचलित नियमकानूनमा नभएर अनि पछिल्लाे पटक मैंले संस्था प्रमुखलाई धेरै लेखमा कमेन्ट पाएकाे देखेपछि साेध्नुपर्याे, “सम्पादक महाेदयलाई आउँदैन भनेर मैले भन्न मिल्दैन हजूर तर उहाँका कमेन्टहरू रिसपूर्ण, असान्दर्भिक, पुरानाे एडिशनमा आधारित छन् ।

अब मैले कमेन्ट अनुसार लेख मिलाइनँ भने घमण्डी, अटेरीकाे दाेष लाग्ने तर कथित् कमेन्टलाई व्यवहारमा उतार्ने हाे भने प्रचलित एपिए/एमएलएकाे एडिशन अनुसार छैन अनि पत्रिकाकाे इज्जत कहाँ पुग्ला ? म के गरुँ हजूर ?” र, जबावपछि मैंले हरेक कमेन्टमा अब “नियम हाल छ तर विद्वान सम्पादकज्यूले पुरानाे भर्सन अनुसार याे कमेन्ट दिनुभएकाेमा दु:खकाे साथ सच्याइनँ” वा यहाँ-यहाँ प्रष्ट यसाे उल्लेख भएपनि त्यही कुरा छैन भनिएकाेमा “आदरणिय सम्पादकज्यूले यहाँ यति नम्बर वाक्यमा इमान्दारीपूर्वक फ्रेस मूडमा फेरि पढिदिनुपर्ने भयाे” भनेर उक्त लेखलाई अब सम्पादक तथा संस्थाकाे चिफसमेतकाे ईमेलमा एकैचाेटी हालिदिन्छु ताकी यथार्थ संस्थाप्रमुखले पनि हेरून् ! सम्पादनमा रीस, राग, बदला, क्राेध पाल्नु वा अयाेग्य हुनु त्रिभुवन विश्विविद्यालयका प्राध्यापक अधिकांशमा खिया लाग्नु (Degenerate भई rusting) दु:खद पक्ष हाे ।

यता पत्रिकाका मेरा लेखहरूमा भने सम्पादक ९९ प्रतिशत महानुभावहरूले “प्राध्यापककाे लेख” हाे भन्ने अतिविश्वासमा भाषा शुद्धा-शुद्धि नै हेर्नुहुन्न र यसले उनले आफ्नाे कर्तव्य पूरा नगरी छापिएपछि त्रुटीसाथ त छापेर पत्रिकाकाे प्रतिष्ठामा धक्का पुर्याए-पुर्याए साथै म लेखककाे पनि प्रतिष्ठामा क्षति पुर्याए । वास्तवमा सबै लेखक भाषाका विषयका हुँदैनन् र जाे भाषाका विद्यार्थी लेखक छैन उसकाे भाषिक प्रतिष्ठा छाेप्ने कार्य सम्पादककाे हाे । अर्काे कुरा, मानाैं म भाषाकाे विद्यार्थी भएपनि टाईप गर्दा टेक्निकली भूलवश नथिचिनुपर्ने बट्टन/कि म थिचेकाे हुनसक्छु जुन मेरा टाईपगर्ने बेलाकाे मेकानिकल दिमागले टिपेन वा भनाैं, म लेखक हुँ तर पत्रकारिता काेर्ष गरेकाे छैन र डिभाईसेजहरू चलाउन पाेख्त छैन भने त्यस्ताे अवस्थामा म बिगारेकाे हुनसक्छु जसलाई सच्याउने काम अन्तत: सम्पादक महाेदय कै हाे । आखिरमा सम्पादक भने पाेष्ट त पत्रिकामा त हुन्छ अनि त्यसकाे “अर्थ” व्यवहारत: उत्रनु त पर्याे ! तर यी जे सुकै कुरा भएपनि लेख्दा के अनुभव हुन्छ भने तपाईं एकहाेराे भई जति दिमाग लगाएर लेखेपनि आफ्नाे गल्ति आफैंले त्यही तातेकाे दिमागले फेलापार्न सक्नुहुन्न र, त्यहाँ सम्पादककै ताजा दिमाग चाहिन्छ ।

व्यवसायिक सम्पादन कार्य

व्यस्त जीवनशैली, आफ्नाे शरीरकाे पनि केअर नभएकाे, बाहिरी दुनियाँबाट अलग-थलग (Isolated), पूर्णरूपेण कर्तव्यमा डुबेकाे, अरूले राम्रै बाेलेपनि शान्त वातावरणमा अवराेध पुग्न गई दिमाग एकत्रित (Mind concentration) नहुँदा कि चूप लागेर हिंड्ने वा रिसाउने जस्ता व्यक्तिगत जीवनशैली एउटा सम्पादकमा ड्यूटीकाे बेला हुनसक्छ ।

असल सम्पादकका केही लक्षण

यसभन्दा माथि “व्यवसायिक सम्पादन कार्य” उपशीर्षककाे पहिलाे अनुच्छेदमा उल्लेखित केही लक्षण सम्पादकहरूमा व्यक्तिपिच्छे फरक-फरक देखिएपनि एऊटा असल सम्पादकमा भने निम्न केही राम्रा गुण थप पाईन्छन् । जस्तै, शान्त स्वभावमा दक्षतापूर्ण कार्य सम्पादन गर्ने अनि लेखनमा देखिएका अधिकत्तम त्रुटीलाई लेखकलाई जानकारी दिंदै अर्थ दिने हिसाबले लेखका प्रत्येक वाक्य/अनुच्छेदलाई पठनीय बनाउनु; प्रचलित एपिए साताैं (APA’s 7th edition) वा एमएलए नवाैं (MLA’s 9th edition) काे नियम-परिधिमा रहेर वैज्ञानिक पद्धतिमा हाल्दिने ताकि अभिलेख/सन्दर्भसूची सुरक्षित रहाेस् लेखकाे; लेखकाे वास्तविकता, गाम्भीर्यता, देश-काल-परिस्थिति र संविधानकाे परिधिमा रहेर लेखिएकाे सुनिश्चित गर्नु; विशुद्ध मानवीयता र सत्यकाे नजिकमा लेख रहेकाे जानकारीमूलक र उपयाेगी भएकाे यकिन गर्ने; समसामयीक मुद्दा (Issue) लेखमा समाधानसहित उठाएकाे, नवीनत्तम विषयवस्तुमा लेख आधारीत आदि बारे सुनिश्चित गर्नुपर्छ ।

यसपछि अवश्य पनि एउटा सम्पादककाे दिमाग विद्यार्थीकाे सामु बढी तेज मस्तिष्क भई भूल समात्न सक्ने एऊटा शिक्षककाे जस्ताे लेखककाे भन्दा तेज र ताजा मस्तिष्क हुनुपर्छ जसकाे विद्वत् तथा सावधान आँखाले लेखकाे शीर्षकदेखि अन्त्यसम्म कम्प्युटर/माेबाईलकाे स्कैनरकाे जस्ताे भूलहरू समातुन् । सभ्य, शालीन, शान्त मिजासकाे, काेमल हृदयकाे मृदुभाषी, लेखककाे भूलप्रति क्षमाशील भएकाे, आफू बरू मिहिनेतकाे कार्यमा संलग्न भई दु:ख पाउँदापनि अरूलाई दु:ख नदिने तर उहि लेखकले भने फेरि नयाँ रचना ल्याउँदा पहिलाका त्रुटीहरू सुधारेर ल्याएकाे ध्यान पुर्याउने नभए त्यति कम्तिमा स्वयं सुधारेर ल्याउन लगाउने ताकि बढी समय अन्य लेख/लेखकमाथि दिन सकियाेस् र स्वयंकाे पनि दु:ख कम हाेस्, कार्यकाे प्रकृति अनुसार राेजगारदातासँग समझदारीमा वा उचित पारिश्रमिक निर्धक्कसाथ बाेलेर लिन सक्ने फूर्तिलाे (Smart) आदि गुणले भरेेका हुन्छन् । एउटा सम्पादककाे मुख्य कर्तव्य नै रचनालाई लेखनकाे गुणस्त्तरकाे कसीमा उत्कृष्ट ढलान गरि त्यसलाई अर्थमूलक बनाउनु हाे ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय