प्रधानमन्त्रीले उपेन्द्रलाई भने-‘तपाईं हट्ने कि म हटाउँ ?’

काठमाडौं, ३१ बैशाख ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं स्वास्थमन्त्री रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आजै सरकारबाट हटाउने भएका छन् ।

अध्यक्ष यादवको ठाउँमा अशोक राई नेतृत्वको जनता पार्टीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सहित सांसद प्रदिप यादवलाई सरकारमा पठाउने भएको छ। प्रधानमन्त्रीले उपेन्द्रलाई हाटाउने र प्रदीपलाई मन्त्री बनाउने कुरा थाहा पाएपछि जसपा नेपालले आज सरकार छाड्ने निर्णय लिनेछ। उपेन्द्र  नेतृत्वको जसपालाई केन्द्र सरकारबाट मात्रै होइन मधेस प्रदेशको मुख्यमन्त्री बनेका सरोज यादव नेतृत्वको सरकारबाट पनि विस्थापित गर्ने गठबन्धनका दलहरूको तयारी सुरु भएको छ।

पार्टी बिभाजनपछि कमजोर बनेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले हटाउनु अगाडी नै राजिनामा दिएर सरकारबाट बाहिरिने बताएका छन् ।आकस्मिक रुपमा पार्टी  विभाजन भएदेखी नै प्रधानमन्त्री प्रचण्डसँग उनको दूरी बढेको छ । यादवले आफ्नो दल प्रचण्डले नै फुटाएको सार्वजनिक रुपमै आरोप समेत लगाएका छन् । पार्टी फुट्दा उनी सरकारी खर्चमा अमेरिका भ्रमणमा थिए।

अशोक राईले ७ जना सांसदसहित जसपा, नेपाल विभाजन गरेर निर्वाचन आयोगमा जसपा दर्ता गराएका छन् । राईको दललाई सरकारमा सहभागी गराउनेगरि प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् ।हिजै आइतबार प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवलाई राजीनामा नदिए बर्खास्त गर्ने कुरा जानकारी गराइसकेका थिए । प्रधानमन्त्री प्रचण्डले उपेन्द्रलाई ‘तपाईं आफैं राजीनामा दिने कि म बर्खास्त गरौं ?’ भनेर धक्माएको उपेन्द्र निकटको भनाइ छ।

प्रधानमन्त्रीले जसरी पनि हटाउने भएपछि यादवले पनि अब अर्को विकल्प खोज्ने  भन्दै आक्रोशित बनेका थिए। यस अघि उपेन्द्रले आफूहरु राजनीतिक अस्थिरताको कारक नबन्ने भन्दै सरकारमै रहने बताउँदै आएका थिए । तर, मधेश प्रदेश सरकारलाई नै अप्ठ्यारो पार्नेगरि प्रधानमन्त्री प्रचण्डले कदम चालेपछि यादवपनि अब सरकारमा अपमानित भएर नबस्ने  मुडमा पुगेका हुन्। उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर गुनासो सहित सरकारबाट आफैं हट्न लागेको जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्डले आज नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताईएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय