गगनसँग पूर्णबहादुर नजिक !

नेपाली कांग्रेसका सभापति गगन थापासँग पूर्व उपसभापति पूर्णबहादुर खड्का नजिकिँदै गएपछि कांग्रेसमा सहमतिको वातावरण बनेको छ ।
पूर्णबहादुर खड्काले शेरबहादुर देउवा गुट छाडेपछि र सम्पर्क कार्यालय चुनदेवी पनि जान छाडेपछि यो वातावरण बन्न लागेको हो। यद्यपि सभापति थापा र पूर्व उपसभापति खड्का बीच भेटघाट समेत भैसकेको छ ।
खड्कासँगै सभापति थापाको नेता शेखर कोइरालासँग पनि छुट्टै भेट भैसकेको छ। कुनैबेला कोइराला समूहमै रहेका सभापति थापाले शेखर कोइरालासँग भेट्नुलाई पनि पार्टी विभाजन रोक्ने पहलको रुपमा अर्थ लगाइएको छ ।
पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि सभापति थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच ‘वान टु वान’ भेटवार्ता भएको हो । भेटमा खड्काले १५ औँ महाधिवेशनका लागि नवीकरण तथा नयाँ क्रियाशील सदस्यहरूलाई अद्यावधिक नगरेको निहुँमा भाग लिनबाट वञ्चित गर्न नपाइने र १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेट्नुपर्ने माग राखेका थिए ।
स्रोतका अनुसार सभापति थापा ती मागहरू पूरा गर्न सकारात्मक बनेपछि खड्का पक्षसँग सहमति हुने सम्भावना प्रबल बनेको छ। अब देउवा गुट भन्दा बाहिर निस्केर खड्काले पार्टी एकढिक्का राख्न लागिपर्ने बुझिएको छ । सभापति थापापछी कांग्रेसमा खड्काको समूह ठूलो छ । उनको समर्थन पाएपछि सभापति थापा थप बलियो बन्ने पक्का छ।
यसैबिच, आन्तरिक विवाद सुल्झाउन सभापति थापाले अर्का नेता डा. शेखर कोइरालासँग पनि भेटवार्ता गरेका छन्। डा. कोइरालाले पनि खड्काले भने जस्तै पार्टी एकताका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनकै सदस्यताका आधारमा अघि बढ्ने, केन्द्रीय कार्यसमिति समायोजन गर्ने र विभिन्न समितिहरू सहमतिमा मात्र बनाउने प्रस्ताव अघि सारेका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आन्तरिक सहमति जुटाउन सभापति आफैँ लागिपरेको र छलफलका उपलब्धिबारे कार्यसम्पादन समितिको बैठकमा पनि ब्रिफिङ भएको जानकारी दिए। शीर्ष नेताहरूबिच भेटघाट भएकैले भदौ २४ गतेका लागि तय गरिएको १५ औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको मिति पछाडि सारिएको छ।

