तीज, चेलीको पीडा र देशप्रतिको चिन्ता

मीरा बस्ताकोटी

तीज हामी नारीहरूको महत्वपूर्ण चाड हो। यो चाडमा टाढा–टाढाबाट हामी चेलीहरू लर्को लागेर माइती आउँछौं। साँच्चै भन्नुपर्दा, तीजमा जसरी पनि जमघट हुने आशामा हामी दिनहरू औँलामा गनेर तीजको प्रतीक्षा गरिरहेका हुन्छौं।

साँझदेखि रातिसम्म नाचगानमा रमाउँदा मुख खाली हुँदैन। आमाको हातका मिठा परिकार खाँदै, सबै परिवार एकजुट भएर रमाइलो गर्छौं। गाउँघरमा तीजको बेला मनका पीडा पोख्दै गीत गाउँदा थाहै हुँदैन, कहिले रात बितिसक्यो। आमा, बुबा, दाजुभाइले चेलीहरू छमछम नाचेको हेर्दा घर नै आनन्दमय बन्छ।

तर माइती नभएका चेलीका लागि तीज साह्रै खल्लो हुन्छ।

यस वर्षको तीज मलाई पनि केही खल्लो लागेको छ, किनकि देश नै रोइरहेजस्तो लाग्यो। गत भदौ १० गते भोटेकोसी बाढीले रसुवा,नुवाकोट,धादिङ,गोरखा,तनहुँ,नवलपुर र चितवनलाई नराम्रोसँग रुवायो ! त्यसमाथि रसुवा, नुवाकोट र धादिङको मानवीय र भौतिक क्षतिले त धेरैको घरबास र जिन्दगी नै खोस्यो !

गतवर्ष भदौ २३/२४ को जेन-जी आन्दोलनले खल्लो भएको चाडपर्व यसवर्ष त झन् बाढीको बितण्डाले के -के गर्‍यो भनिसाध्य र लेखिसाध्य नै छैन। जे नहुनुपर्ने त्यही भयो, प्राकृतिक बिपत्तिले नराम्ररी हामीलाई थिच्यो ! त्यसमाथि देशका धेरै ठाउँमा हत्या,हिंसा र नाबालिका बलात्कारका घटनाले झन् बढी पीडा दियो। बाराकी गरिमा चौधरीको हत्याले उनका बुबाआमालाई मात्रै रुवाएन सिङ्गो देशलाई रुवायो। ती अवोध बालिकाको जीवन फूल्न नपाई कोपिला मै चुँडीयो ।

सुनसरी देवानगन्जको धार्मिक द्वन्द्वले पनि ४ जनाको ज्यान लियो र कयौं घाइते भए। साउनको ‘बोलबम’ यात्रामा एक्कासी चलेको गोलीले हिन्दु मुस्लिम दङ्गाको नाममा तराईमा बितण्डा मच्चियो।  यस्ता नकारात्मक घटना घट्लान् भन्ने आशा गर्दा झन् देशलाई रुवाउने गरी बढिरहेका छन्। आखिर किन?

म यो प्रश्न सरकारलाई सोध्न चाहन्छु ! किन बढ्दै छन् यस्ता विकृति ? गल्ती गर्नेलाई पक्राउ गरेको पनि देखिन्छ, सजाय दिएको पनि देखिन्छ। तर पनि हामी किन असुरक्षित ? हाम्रा छोरी–चेलीहरू किन असुरक्षित ?  मैले देखेजति, शिक्षा र चेतनाको कमीले पनि यस्ता विकृति बढेका जस्तो लाग्छन्।

तीन वर्षको कलिलो कोपिलाजस्ती बालिकालाई निर्ममतापूर्वक निमोठेर फाल्ने व्यक्तिलाई अब सरकारले कस्तो सजाय दिने ? फाँसी कि जन्मकैद ? हाम्रो शान्तिप्रिय देशमा फाँसीको व्यवस्था छैन। तर फाँसी राख्दा पनि अर्को आमाको काख उजाडिन्छ। त्यसैले मेरो विचारमा उनीहरूलाई जन्मकैद होस्, तर राज्यको खर्चमा आरामसँग भात खुवाएर होइन। ती घातकहरूलाई कडा श्रम गराउने, ढुंगा फोर्न लगाउने, घेराभित्र राखेर देश निर्माणमा काम लगाउने व्यवस्था होस्, ताकि अरू अपराधीलाई पनि जेलको नाम सुन्दै डर लागोस्।

मेरो विश्वास छ- पिटाइभन्दा कामले दिने पीडा ठूलो हुन्छ। जेल साँच्चिकै हाउगुजी र डरलाग्दो ठाउँ बनोस्। आजका धेरै विकृत मानसिकता भएका मानिसलाई जेलको डर नै छैन। उनीहरू भन्छन्, “दालभात त खान पाइन्छ।” जब डर, इज्जत, धर्म र आफ्नोपन गुमेका मानिस समाजमा हुन्छन्, तब चेली मात्र होइन, सिंगो देश त्रसित हुन्छ।

त्यसैले तीजको सन्देशमार्फत मेरो सुझाव छ-सजाय दिमाग लगाएर कडा बनाइयोस्, ताकि सम्झँदा पनि कसैले फेरि त्यस्तो अपराध गर्ने आँट नगरोस्। मारेर होइन, बुद्धिमानीपूर्वक यस्तो कारबाही होस् कि अरूले देखेर पनि सचेत बनून्। अपराधीका पनि आमा-बुबा होलान्, त्यसैले अर्को परिवार उजाड्नेभन्दा कठोर श्रम र जिम्मेवारीमार्फत सजाय दिनुपर्छ। चोरी, लुटपाट र यस्ता गलत बाटो रोज्ने सबैले कारबाही देखेर सुध्रिन सकून्।

आज देशमा अपराध अत्यधिक बढिरहेको छ। कताकता हाम्रा छोरी–चेली कसरी बच्ने र बचाउने भन्ने डरले मन थरथराउँछ। सरकारको ध्यान गाउँगाउँसम्म पुग्ने योजना बनोस्। हराभरा गाउँ बनाउने योजना होस्। गाउँहरू रित्तिँदै गएका छन्। मैले आफ्नै गाउँमा मलामीसमेत पाउन गाह्रो भएको देखेकी छु।

पहिले बाँदर नदेखिएको ठाउँमा अहिले घरघर बाँदरले दुःख दिएको छ। सरकारले यसको पनि उपाय खोज्नुपर्छ। मैले आफ्नै घरछेउमा टाटे बाघ आएको देखेँ। बुढाबुढी मात्र बस्ने घरको गाई बाघले मारिदियो। त्यो दृश्य देख्दा रातभरि मन रोयो। छोराछोरी सबै विदेशिएका थिए, बुढी आमाले बाख्रा पालेर जीवन चलाउनुभएको थियो। एक दिन बाख्रा घरदेखि अलि पर चर्दै थियो, एकपटक करायो र बाघले खाइदियो।

यो किन हुँदैछ? के देशमा रोजगारी छैन? महँगी आकाश छोइसकेको छ। अनि मानिसले के गरून्? यही बाध्यता र रहरले युरोप, अमेरिका र अन्य देश जानुपरेको छ। गाउँमा एक–दुई घरमा मानिस छन् भने पनि अधिकांश अशक्त र वृद्ध मात्रै छन्। अब देश के हुँदैछ?

खुसीको कुरा गाउँगाउँमा सडक पुगेको छ। तर भूकम्पपछि रित्तिएका गाउँहरू बाँदर, बाघ, गैँडा र हात्तीबाट पनि सुरक्षित छैनन्। तीजको वास्तविक रौनक भने अझै गाउँमै छ। सबै चेली, दाजुभाइ मिलेर हाँस्ने, नाच्ने, भेटघाट गर्ने त्यो मेलमिलाप सहरमा कहाँ पाइन्छ र? हाम्रो गाउँमा हरेक चाडपर्वको आफ्नै मिठास छ।

त्यसैले सरकारको गाउँ फर्क अभियान प्रभावकारी बनोस्। विदेश कम जाने र नेपालमै रोजगारी सिर्जना हुने वातावरण बनोस्। कृषि, स्वास्थ्य र शिक्षामा सरकारको विशेष ध्यान जाओस्। पर्यटनमा जनतालाई सहज हुने नीति बनोस्, करको बोझ कम होस् र सुविधा जनतासम्म पुगून्। त्यसो भए गाउँ फेरि हराभरा बन्छ, जंगली जनावरको समस्या पनि कम हुन्छ र मानव बस्ती बढ्दै जाँदा खेतबारीमा तरकारी, साग र फलफूल फेरि फल्न थाल्छन्।

त्यो दिन हाम्रो धर्ती माता पनि मुस्कुराउनुहुनेछ। कृषिमा अनुदान, गाई–भैँसी र बाख्रापालनमा प्रोत्साहन भए विदेशको भरमा बाँच्नुपर्ने अवस्था रहने छैन। बाँझो जमिन राख्न नपाउने नीति बने गाउँ फर्किने वातावरण पनि बन्ला। हिमाल चम्किने, झरना झरझर बग्ने, चाडपर्वले भरिएको गाउँको रौनक नै अर्कै हुन्छ। दशैं–तिहारको झिलिमिली गाउँमै सबैभन्दा रमाइलो लाग्छ। मानिसको घनत्व बढेपछि विदेश जाने बाध्यता पनि कम हुनेछ।

मानिस विदेश लोभले मात्र होइन, आफ्नै देशमा अवसर नपाएर जाने हो। हामी देशप्रेमी जनताका लागि आफ्नै देशमा बसेर काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी हो।

यो तीजमा मेरो रहर गाउँ गएर छमछम नाच्ने हो। म त भन्छु, सबैले नेपाल मातृभूमिलाई माया गरौं। साडी ढल्काउँदै, गहनाभन्दा पनि प्रेम र सद्भावको माहोलमा तीज मनाऔं। विकास गाउँमा धेरै पुगेको छ, सुविधा पनि आएका छन्, तर गाउँमा लास उठाउने मानिससमेत छैनन् यो कस्तो विडम्बना!

दूध, दही र टमाटरजस्ता सामान्य तरकारीसमेत सहरबाट बोकेर लैजानुपर्ने अवस्था देख्दा मन दुख्छ। काम गर्ने दाजुभाइ छैनन्, गाउँमा  घर खाली छन्। यस्तो अवस्थामा अपराध पनि बढिरहेको छ। अब हाम्रा नानीहरूलाई कसरी जोगाउने?

मेरो कामना यही हो-यस्तो तीज आओस्, जहाँ सबै खुसी हुन सकून्। कसैले कसैमाथि नराम्रो व्यवहार नगरोस्। घुसखोरी अन्त्य होस्। सबैले हाँसेर, नाचेर, सुरक्षित वातावरणमा तीज मनाउन पाऊन्।

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीमा तीजको हार्दिक मंगलमय शुभकामना। हामी सबै एकजुट भएर आफ्नो देशलाई अझ राम्रो बनाउन कोसिस गरौं।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय