लोकतन्त्रको मेरूदण्ड : स्वस्थ प्रतिस्पर्धा र सहकार्य

डा.बाबुराम भट्टराई

जेन-जी विद्रोह र पछिल्लो आमनिर्वाचनमा नवोदित दल रास्वपाको चमत्कारिक विजयपछि नेपालको परम्परागत लोकतान्त्रिक राजनीतिका दुइ मूल शक्ति कांग्रेस र कम्युनिष्टभित्र पुनर्गठन, नेतृत्व पुस्तान्तरण/हस्तान्तरणको वहस चल्नु स्वाभाविक र स्वागतयोग्य छ।

यो aहस टुंगिन केही समय लाग्नु अवश्यम्भावी छ। अतः कांग्रेस पक्षको कुरा अर्को किस्तामा गर्ने गरी अहिले कम्युनिष्ट वा वाम पक्षको मात्र केही कुरा गरौं!

नेपालमा ऐतिहासिक रूपले औद्योगिक पूँजीवादको कम विकास भएको र बाह्य पूँजीको प्रभूत्व बढी भएकाले लोकतान्त्रिक गणतन्त्रको लडाईं अरू देशहरूमा झैं यहाँ पुँजीवादी पार्टीहरूको मात्र नेतृत्वमा एउटै झट्कामा पूरा हुन सकेन।

फलस्वरूप त्यो संघर्ष २००७ साल आसपासदेखि २०७२ सम्म अर्थात् ६५ सम्म लम्बिन पुग्यो। त्यो लामो संघर्षमा र मुख्यत: पछिल्लो माओवादी सशस्त्र संघर्षको चरणमा कम्युनिष्टहरूले ठूलो वलिदानीपूर्ण योगदान गरे।

त्यसैको परिणाम स्वरूप नेपालमा शक्तिशाली वामपन्थी शक्तिको उदय भयो। दर्जन वढी चिरामा बाँडिएको त्यो शक्ति अहिले मूलतः एमाले र नेकपा नामका दुइ समूह वरिपरि छरिएको छ।

परन्तु पछिल्लो आमनिर्वाचनसम्म आइपुग्दा संसदीय पथगामी यी दुवै समूह ठूलो संकटको दोसाँधमा छन्। ती दुवै समूहभित्रका अहिलेका बहस सुन्दा कुहिराका कागको कोलाहल जस्तो अनुभूति हुन्छ।

मार्क्सेली भौतिकवादी द्वन्दवादी दर्शनले कुनै वस्तुको विकास र विनासको मुख्य कारण आफैभित्र हुन्छ र वाह्य पक्षले विशिष्ठ अवस्थामा वाहेक सहायक भूमिका मात्र खेल्छ भन्छ। तर ती दुवै समूहभित्रका मुखियाहरू सुतुरमुर्गले बालुवामुनी टाउको घुसारेर आफु सुरक्षित ठाने झैं विभिन्न ‘षड्यन्त्रका सिद्धान्त’को चाङमुनि आफ्नो वैचारिक-राजनीतिक दरिद्रता र सत्तालिप्सा छोपेर कार्यकर्ता र जनतालाई भुलाउने प्रयत्न गरिरहेछन्।

ती दलहरूभित्रको बहस देश-काल अनुरूपको विचार-राजनीति, कार्यक्रम, संगठन,नेतृत्व, शैलीको समुच्चतामा विकासभन्दा आआफ्नो स्वार्थ अनुरूपका तत्कालीन टुक्रे विषयमा छरिएको प्रष्टै देखिन्छ।

वास्तवमा यी दुवै वाम समूह वैचारिक-राजनीतिक,सांगठनिक,कार्यक्रमिक रूपले विलोपीकरणतिर उन्मुख भैसकेका ‘यूरो-कम्युनिज्म’ वा छिमेकी भारतका सिपिआइ/सिपिएम का नेपाली अवतार हुन् भन्दा अत्युक्ति हुँदैन।

जुन दार्शनिक र ऐतिहासिक कारणले तिनको पतन भयो त्यही कारणले यिनको पनि त्यही दशा हुनु अनिवार्य छ भन्ने सहजबुद्धिको कुरा हैन र?

झन् नेपाल जस्तो भर्खरै पूँजीवाद उन्मुख समाज/राज्यमा र अहिलेको अति भूमण्डलीकृत र डिजिटल प्रविधि तथा एआईको वर्चस्व भएको विश्वमा पुरानो स्टालिनवादी एकमनावादी सोंच र नोकरशाही केन्द्रीयतावादी संगठनात्मक शैलीले सर्वनाश निम्त्याउनु अवश्यम्भावी हुन्न र?

चीन,भियतनाम लगायतका पहिलेनै भिन्न राजनीतिक प्रणाली अपनाएका र विकासको अर्को चरणमा पुगिसकेका पार्टी र देशले लिने बाटो र जटील भूराजनीति,चरम जातीय-क्षेत्रीय विविधता,अति कम विकसित आर्थिक-सामाजिक अवस्था र फरक राजनीतिक प्रणाली भएको नेपालले अब लिनुपर्ने बाटो एउटै हुनसक्दैन भन्ने स्वतः स्पष्ट छैन र?

देश-काल अनुरूपको ठोस स्थितिको ठोस विश्लेषण गरेर समस्याको समाधान गर्दै श्रमिक वर्ग सहित सम्पूर्ण मानव जाति र प्रकृति-जगत सहितको दिगो हितको मार्ग निरूपण गर्नेतर्फ सिर्जनात्मक बहस खै?

जेन-जी विद्रोह पछिको नेपालमा चमत्कारिक रूपले उदय भएको रास्वपामा विभिन्न वैचारिक-राजनैतिक प्रवृत्तिहरू घालमेल भएर बसेको सहजै देख्न सकिन्छ। त्यसले अन्ततः कुन रूप लिन्छ अहिल्यै भन्न सकिन्न।

त्यसले मध्य-दक्षिण (राइट-टु-सेन्टर) वा मध्यमार्गी (सेन्ट्रिष्ट) धार लिएछ भने पनि हाम्रो जस्तो विविधतायुक्त र पिछडिएको आर्थिक-सामाजिक अवस्था भएको देशमा अर्को एउटा प्रतिस्पर्धी मध्य-वाम (लेफ्ट-टु-सेन्टर) शक्तिको अनिवार्य आवश्यकता रहन्छ।

त्यसनिम्ति संविधान जारी भएकै वेलादेखि हामीले शुरू गरेको ‘नयाँ शक्ति’अभियानमा संश्लेषण गरेका वैचारिक-राजनीतिक विषयहरू महत्वपूर्ण सन्दर्भ-सामाग्री हुनसक्छन्।

स्मरण रहोस्, वर्तमान युगमा सही लोकतन्त्रको मेरूदण्ड भनेको एक भन्दा बढी दलको विधिसम्मत स्वस्थ प्रतिस्पर्धा र सहकार्य हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय