निर्वाचन आयोगले थाल्यो स्थानीय चुनावको तयारी

निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारी थालेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग निर्वाचनको तयारीमै रहेको बताएका हुन् ।

राष्ट्रिय समाचार समिति (रासस)को प्रतिनिधिमण्डलसँग बिहीबार निर्वाचन आयोगमा भएको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त कार्कीले सरकारले निर्वाचनको मिति तोक्ने र तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको रहेको बताए ।

स्थानीय तहको आगामी निर्वाचन फागुनमै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा कार्कीले मितिबारे अहिले नै आयोगले भन्न नसक्ने बताए ।

संवैधानिक प्रावधानअनुसार आयोगसमेतको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने उल्लेख गर्दै उनले लामो समयसम्म स्थानीय तह खाली राख्न नहुने पक्षमा आयोग रहेको बताए ।

‘मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन । हाम्रो संवैधानिक प्रावधानअनुरूप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो । तर, लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौं । त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ’, कार्कीले भने ।

स्थानीय तहको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले त्यसको वरपर र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने उनको भनाइ छ ।

स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो ? भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त कार्कीले संवैधानिक संरचना र कानूनी प्रावधानअनुसार निर्वाचन हुने बताए ।

सरकारले मिति घोषणा गरेअनुसार आयोगले काम गर्ने भएकाले अहिले नै दुवै निर्वाचन एकैसाथ हुने भन्न नसकिने उनको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय