एउटा कांग्रेस, दुई तालिका : भान्सा नमिले घरै अलग गर्ने कि ?
नारायण बहादुर बस्नेत
नेपाली कांग्रेसको अहिलेको दृश्य हेर्दा एउटा पुरानो उखान सम्झना आउँछ- ‘भान्सा नमिलेपछि भात कहिले गिलो, कहिले साह्रो, कहिले नुन चर्को, कहिले नुनै नपुगेको!’
तर प्रश्न के हो भने- भान्सामा समस्या भयो भन्दैमा घरै भत्काउने कि भान्सा मिलाउने ? यो चाहिँ परिवारका जेष्ठ सदस्यदेखि कनिष्ठ सदस्य सम्मले बुझ्नुपर्छ ।
आज नेपाली कांग्रेसको अवस्था पनि ठ्याक्कै त्यस्तै भएको छ। एकाघरका कांग्रेस सदस्यहरु दोबाटोमा उभिएर दायाँबायाँ कता जाने ? भन्ने अन्यौलमा छन् । दुईतिर नै आफ्नै परिवार छन् । कोही नजिक र कोही टाढा छैनन् र होइनन् ।
एकातिर विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष १५ औँ महाधिवेशनको घोषित प्रक्रिया अनुसार अघि बढिरहेको छ। अर्कोतिर १४ औं महाधिवेशन कै निरंतरता भनेर डा.शशांक कोइराला नेतृत्वको इतर पक्ष (पूर्व शेरबहादुर देउवा पक्ष र शेखर कोइराला पक्ष समेत) पनि आफ्नै कार्यतालिका र प्रक्रियाबाट महाधिवेशन अघि बढाउने कुरा गरिरहेको छ।
एउटै पार्टी, दुई कार्यतालिका!
आज दुई कार्यतालिका छन्। भोलि दुई निर्वाचन समिति होलान्। पर्सि दुई प्रतिनिधि सूची बन्लान्।त्यसपछि दुईवटा महाधिवेशन होलान्। अनि अन्ततः प्रश्न उठ्ला- “कुन कांग्रेस असली?”
त्यसपछि चाहिँ कांग्रेस खोज्न इतिहासका पानाहरू पल्टाउनुपर्ने अवस्था नआओस्!
आफ्नो वैधानिक दाबी राख्ने अधिकार सबैलाई छ। अदालतमा जाने अधिकार पनि छ। असहमति राख्ने अधिकार पनि छ। तर असहमतिको उपचार समानान्तर पार्टी खडा गर्नु होइन।
सर्वोच्च अदालतले महाधिवेशन रोक्ने अन्तरिम आदेश नदिएको विषयलाई एउटा पक्षले आफ्नो पूर्ण विजय र अर्को पक्षले पूर्ण पराजयका रूपमा बुझ्नु पनि उचित होइन। अदालतको प्रक्रियाबाट कानुनी प्रश्न टुंगिएला। तर पार्टीको राजनीतिक भविष्यको फैसला गर्ने अधिकार अन्ततः कांग्रेसका कार्यकर्तालाई नै दिनुपर्छ।
अझ दुःख लाग्ने कुरा के छ भने, आज कांग्रेसभित्र देखिएको बहस विचारको भन्दा गालीको, तर्कको भन्दा आक्रोशको र संस्कारको भन्दा अहंकारको बन्दै गएको छ।
बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको कांग्रेसमा मतभेद थिए। संघर्ष थिए। एकअर्कासँग तीव्र असहमति पनि थिए। गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र रामचन्द्र पौडेलको समयमा पनि आन्तरिक प्रतिस्पर्धा र विवाद थिए।
तर आज जस्तो न्वारनदेखिको बल निकालेर गालिगलौच गर्ने राजनीतिक संस्कार कांग्रेसको पहिचान थिएन।
कम्युनिस्ट पार्टीभित्र केपी ओली र पुष्पकमल दाहालबीच देखिएको कटुता र आरोप–प्रत्यारोपको शैली कांग्रेसभित्र पनि भित्र्याउने हो भने कांग्रेस र कम्युनिस्ट राजनीतिक संस्कारबीच फरक के रह्यो?
नेतालाई आलोचना गर्नुस्, गलत निर्णयको विरोध गर्नुस्, प्रश्न गर्नुस्-तर गाली नगर्नुस् । गालीले नेता ठूलो हुँदैन, गालीले पार्टी बलियो हुँदैन, गालीले विचार जन्माउँदैन।
अर्कोतर्फ, गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि आफ्नो प्रक्रियालाई अघि बढाउँदा अर्को पक्षलाई अपमानित वा निषेध गर्ने मानसिकता राख्नु हुँदैन। बहुमतको शक्ति देखाउनेभन्दा सहमतिको शक्ति देखाउनु ठूलो नेतृत्व हो।
तर शशांकजी र उहाँको पक्षलाई पनि मेरो एउटा सीधा प्रश्न छ-
यदि १५औँ महाधिवेशनमा सहभागी हुने होइन, छुट्टै कार्यतालिका बनाउने हो, छुट्टै संगठन चलाउने हो र छुट्टै महाधिवेशन गर्ने हो भने एउटै कांग्रेसको नाममा दुईवटा कांग्रेस किन?
भान्सा मिलेन भने संवाद गरौँ। नुन चर्को भयो भने नुन घटाऔँ । भात साह्रो भयो भने पानी थपौँ । भात गिलो भयो भने आगो मिलाऔँ। तर भान्सा नमिलेको बहानामा घरै जलाउने काम नगरौँ।
किनकि यो घर शेरबहादुर देउवाको होइन। यो घर गगनकुमार थापाको पनि होइन। यो घर शशांक कोइरालाको पनि होइन। यो घर बीपीको विचारमा विश्वास गर्ने लाखौँ कांग्रेस कार्यकर्ताको हो।
आजको वास्तविक प्रश्न देउवा पक्षका शशांक कोइराला र संस्थापन पक्षका गगनकुमार थापामध्ये को जित्छ? भन्ने होइन। वास्तविक प्रश्न हो- कांग्रेस जित्छ कि हार्छ?
यदि एउटाले सभापतिको कुर्सी जित्यो तर कांग्रेसको आत्मा हार्यो भने त्यो विजयको अर्थ के?
यदि एउटा गुटले आफ्नो शक्ति प्रमाणित गर्यो तर हजारौँ कार्यकर्ता निराश भएर पार्टीबाट टाढिए भने त्यो विजय कसको?
त्यसैले अब निर्णय स्पष्ट हुनुपर्छ- या त एउटै कांग्रेसभित्र बसेर एउटै विधान, एउटै प्रक्रिया र एउटै महाधिवेशन स्वीकार गरौँ; या आफ्नो राजनीतिक बाटो अलग गर्ने साहस गरौँ।
तर एउटै घरमा दुईवटा भान्सा, दुईवटा चुलो, दुईवटा परिवार र दुईवटा मालिक राखेर “हामी एउटै परिवार हौँ” भन्ने नाटक धेरै दिन चल्दैन।
कांग्रेसलाई आज गुटको विजय होइन, संस्थाको विजय चाहिएको छ।
नेतृत्वको प्रश्न-कार्यकर्ताले टुंग्याऊन्। वैधानिकताको प्रश्न-अदालतले टुंग्याओस्। राजनीतिक विवाद-संवादबाट टुंग्याऔँ। कांग्रेसलाई अदालतको मुद्दा होइन, कार्यकर्ताको विश्वास बनाऔँ।
किनकि व्यक्ति हार्दा अर्को व्यक्ति जित्न सक्छ। गुट हार्दा अर्को गुट जित्न सक्छ। तर कांग्रेस हार्यो भने सबै हार्छौँ।
त्यसैले अझै समय छ- समानान्तर गतिविधि बन्द गरौँ। गालीको राजनीति बन्द गरौँ। संवाद सुरु गरौँ। एउटै महाधिवेशन गरौँ। कांग्रेसलाई कार्यकर्ताको निर्णयमा छोडौँ।
नत्र इतिहासले भोलि सोध्नेछ- “कांग्रेस फुट्यो कि नेताहरूको अहंकारले कांग्रेस फुटायो?” यसको जवाफ आजै तयार गरौँ।
कांग्रेस व्यक्तिको होइन-विचारको पार्टी हो । कांग्रेस गुटको होइन-कार्यकर्ताको पार्टी हो । कांग्रेस पदको होइन-लोकतन्त्रको पार्टी हो ।

