विवादास्पद अडियो बाहिरिएपछि सार्वजनिक कार्यक्रममा नजान सुनारलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । सुनारसँग सम्बन्धित समाचार र विवादास्पद अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाउँदै यस्तो निर्देशन दिएको हो ।

रास्वपाले बुधबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उठाइएका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनका विषयलाई पार्टीले गम्भीर र संवेदनशील रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगलाई घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको रास्वपाले जनाएको छ । छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा आफ्नो शून्य सहनशीलताको नीति रहेको पनि स्पष्ट पारेको छ ।

त्यस्तै, सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पार्टीले पूर्ण सहयोग गर्ने जनाएको छ ।

राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानबमोजिम थप कदम चाल्ने रास्वपाले जनाएको छ ।

कानुन उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ ।

सोमबार जनआस्था दैनिकले सुनारकै नाम उल्लेख गरेर अडियो क्लिपहरू सार्वजनिक गरेपछि अहिले सामाजिक सञ्जालमा उक्त अडियो भाइरल भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय