प्रिय बाबुराम, अब आँखा खोलौं !
शिरज शर्मा‘अब आँखा खोलौं’ यो स्लोगन नेपाल समाजवादी पार्टी (नेसपा) को हो, जसको अध्यक्ष पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई छन् । १० वर्षे जनयुद्धमा क.’लालध्वज’ बनेर भुमिगत रहेपनि राष्ट्र र अन्तर्राष्ट्रले उनलाई सधैं बाबुराम नै भनेर चिन्यो र आजपनि चिनिरहेको छ । बाबुराम नाम मात्रै होइन एउटा नवीन विचार र वैकल्पिक शक्तिको मार्गदर्शक पनि हो ।
तर, बेलाबखत उनै बाबुराम क.लालध्वज बन्न खोज्छन् । पुरानै विचार र पुरानै नेतृत्वको भुलभुलैयामा पर्ने गर्दछन् । तर, जनताले उनलाई क.लालध्वज होइन प्रिय बाबुराम नै बनेको देख्न चाहन्छन् । जनताको अथाह माया र समर्थनलाई बाबुरामले कहिलेकाहीँ चिन्न सक्दैनन् र कहिलेकाहीँ चिनेर पनि धोका दिन खोज्छन् ।
उनै बाबुराम फेरि एकपटक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने तयारीमा लागेको खबर सार्वजनिक भएको छ। पछिल्लो खबरले उनकै नेतृत्वमा वार्ता समिति बनाइसकेको पनि पुष्टि भयो।

उनका नजिक बसेर उनैलाई हतियार बनाएर जीवन धान्ने केही बुज्रुकहरु अहिले प्रचण्ड-बाबुराम मिल्नुपर्छ भन्ने डम्फु बजाइरहेका छन् । जानेर वा नजानेर बाबुराम त्यही डम्फुको तालमा नाच्न खोजेको देखिन्छ तर डम्फुको ताल र बाबुरामको नाच मिलिहालेको चाहिँ देखिन्न । अचम्मको कुरा के छ भने हिजो झन्डै ३० वर्ष सम्म प्रचण्डसँगै थिए बाबुराम। प्रचण्डले नै मैले ३० बर्ष बाबुरामलाई झेल्न कठिन भयो भन्ने अभिव्यक्ति दिएकै हुन् । फेरि अहिले एकाएक प्रचण्ड-बाबुराम मिल्दा हुन्छ के ?
देशमा ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरू पनि छन् । के हिजो २४० वर्ष शासन गर्दा राजाले के दिए ? के दिन बाँकी छ ? र अहिले राजा ल्याउनुपर्ने ? अनि त्यही राजतन्त्रको राँके भुत जस्तै होइन प्रचण्ड-बाबुराम मिल्ने कुरा ? प्रचण्डसँग विचारको कमी छ, प्रचण्डसँग दम्भ र घमण्ड छ अनि प्रचण्डसँग अदृश्य शक्तिको तुजुक छ । तर, बाबुरामसँग विचार छ, स्वाभिमान छ, इमान छ र केही नयाँ गरौं भन्ने हुटहुटी छ । तर, दुर्भाग्य आफुसङ्गै भएको विचार, विवेक र नैतिकता उनी प्रचण्डका लागि त्याग गर्न तत्पर छन् । जसको एउटै उदाहरण: हिजो २०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट लेखेटिएका प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्रमा शरण दिए ।
हिजो भुकम्पले भत्केको ‘रातो स्टीकर’ लगाएको घर भनेर माओवादी छाडेका बाबुरामले अहिले कसरी त्यै घरमा आफुलाई सुरक्षीत देख्न थालेका हुन ? आम जनताले हेर्दा त त्यो रातो स्टिकर लगाएको माओवादी नामको घर झन जीर्ण र जोखिमयुक्त पो देखिन्छ होइन र ? एकातिर गठबन्धनको टेको लगाएर अर्कोतिर विचार शून्य कच्चा धागोले झुण्ड्याइएको त्यो घरमा प्रवेश गर्नुको मत्लब जानी जानी आत्महत्या गर्नु होइन र ?
नेसपाकै केन्द्रिय नेता निरुता तामाङ मोक्तानले लेखेको एउटा स्टाटस हेरौं त- ‘नेसपा र माके एक हुने तयारीमा छ रे, हुनुहोस् एक हुनु राम्रै हो । म नेसपाको के.स हुँ, तर जबसम्म ‘टेकु घटना’ बारे मैले न्याय पाउँदिन त्यतिन्जेल सम्म हामीलाई बन्दुक हान्न निर्देशन दिने नारायणकाजीको पार्टीमा सहभागी भइँदैन । त्यस कारण पार्टीलाइ आग्रह छ मेरो नाम कतै नचढाई दिनुहोला म सक्कियोस् या रहिरहोस् फरक पर्दैन, तर समुदाय माथीको आत्मविश्वास र स्वाभिमान बेचेर मलाई जसले गोली हान्न निर्देशन दिए उसैको पार्टीको नेतृ बन्नु वा नेतृत्व स्विकार्नु जरुरी ठान्दिन । चाहिन्छ र आवश्यक छ भने, राजीनामा पत्र बुझाउन तयारी अवस्थामा छु।’
प्रिय बाबुराम, २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भइसकेपछि अब राजनीतिक क्रान्ति होइन आर्थिक क्रान्ति गरौं भनेर हामी सँगै लागेको होइन ? अनि २०७३ जेठ १ गते दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी घोषणा गर्दा पुराना शक्ति चकित भएका होइनन् ? शेरबहादुर देउवा, केपी ओली आउँदा तपाईंको पुर्व कमान्डर प्रचण्ड लुक्नुभएको र कृष्णबहादुर महरालाई सभामा पठाउनुभएको होइन ? ‘अबको निकास, आर्थिक समृद्धि र विकास’ त्यतिबेलाको हाम्रो नारा होइन ? अब भन्नुहोस् आर्थिक समृद्धिको नारा प्रचण्डले बोक्ने कि तपाइँले ? गणतन्त्र घोषणाको १५ वर्षमा ३ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डबाट अझै पनि समृद्धि सम्भव छ ?
अनि अर्को कुरा:- आर्थिक समृद्धिको नारा उठाउदै गर्दा हामीले कम्युनिस्ट पार्टी भन्दा फरक समाजवादी पार्टी बनाउने अभियान पनि सुरु गरेको होइन ? माओवादी पार्टी वा त्यसको नेतृत्वबाट समृद्धि र विकास सम्भव छैन भनेर नै हामीले ‘समृद्धि संभव छ हाम्रै पालामा’ भनेर नयाँ शक्ति निर्माण अभियान हुँदै पार्टी घोषणा गरेको होइन ? एकपटक तपाइँको नाति युगिन(मानुषी पुत्र)को अनुहारलाई हेर्नुस् त ! माओवादीसँग एकता गरेर छोरी मानुषीलाई त जसोतसो कन्भिन्स गर्नुहोला तर नाति युगिनलाई ‘मैले ठिक गरें’ भन्न सक्नुहुन्छ ?
प्रिय बाबुराम, तपाईंलाई सम्झना छ ? तपाईंको पार्टीका केन्द्रिय नेता नवलपरासीका चिनक कुर्मी, पुर्वका रामकुमार पुरी, बागलुङका चित्र सापकोटा, नवलपुरका मोति रिजाल, सरद खरेल, अर्घाखाँचीका छन्द पन्थी, चितवनका ईश्वर रिजाल, प्युठानका जि.एस गुरुङ, रुपन्देहीका पंकज राई, धादिङकी सृजना रिजाल, राजु नेपाल, सिन्धुलीका सोनामसिंह स्याङ्तान, कर्णालीका भक्तबहादुर शाह, अर्घाखाँचीका राजु नेपाली, कास्कीका नेत्र चापागाईं, हेमबहादुर थापाहरु किन तपाईंको साथमा छन् ? उनीहरुले आफ्ना सन्तानलाई वचन दिएका छन्,-‘यो देश भ्रष्टाचार र कुशासनले थलियो अब हामी सुशासन सहितको समृद्धिको यात्रा शुरु गर्छौं, देशको हितमा र परिवर्तनको पक्षमा केही नयाँ गर्छौं, नसके प्रयत्न गरेका हौ तर हुन दिएनन् सकेनौं भन्छौ’ भनेर आजसम्म वैकल्पिक शक्ति निर्माणमै लागेका हुन् ।

यो नसोच्नुस कि माओवादीमा पुनः फर्केर परिवारका लागि अकुत सम्पत्ति कमाउन वा आफ्नै लागि आर्थिक क्रान्ति गर्न उनीहरु बाबुरामसँग जोडिएका होइनन् । माओवादीमै फर्केर केही फाइदा लिन उनीहरुलाई बाबुरामकै साथ जरुरी छैन, प्रचण्ड भेट्न आफैं सक्षम छन् । तर, उनीहरुले त्यो कल्पना गरेका छन् जस्तो लाग्दैन । जसले त्यो सोचेका थिए ती बाबुरामलाई आधा बाटोमा छाडेर माओवादीमै फर्किसके।
हुन त नयाँ शक्ति निर्माण गर्दैगर्दा धेरैले डा.बाबुराम भट्टराईको काँधमा चढेर मिहिनेतविनै सांसद र मन्त्री बन्ने सपना देखेका थिए। यो कुरा छर्लङ्ग छ कि बाबुराम जस्तो असल नेताको पछि लागेर मन्त्री हुने सपना पूरा नहुने देखेपछि एकाएक नयाँ शक्तिबाट १५ भाइ माओवादीमा हामफाले। केही व्यक्तिमा भने बाबुुराम सर्वेसर्वा हुन्, बाबुराम देउता हुन्, बाबुरामबाट गल्ती हुँदैन भन्ने सोच, चिन्तन र प्रवृत्ति पनि देखियो । यी दुवै कुरा गलत थियो भन्ने बुझ्न नसकिएकै हो । अनि तपाईंलाई निस्वार्थ साथ दिएका डम्बर खतिवडा, प्रशान्त सिंह, मदन राई, ज्ञानेन्द्र कुमाल, यानप्रसाद भट्ट, अशोक शर्मा, सरोज खनाल जस्ताको मन तपाईंले दुखाएकै हो । उपेन्द्र यादवदेखि महन्थ ठाकुर र राजेन्द्र महतो हुँदै महेन्द्र यादव सम्म आइपुग्दा के सिक्नुभयो ? अब त तपाईंको पनि आँखा खुल्यो होला नि ?
कुनैबेला तपाईंको पुर्व कमान्डर प्रचण्डले बाबुराम भन्दा राजावादी ठिक, नयाँ शक्ति भन्दा काँग्रेस/एमाले ठिक भनेर दु:ख दिएको याद होला नि ! प्रचण्ड मात्रै होइन तपाईंकै पुर्व सहकर्मी कमरेडहरु समेत वैकल्पिक राजनीतिक शक्तिका विरोधी भएर निस्किएको तितो यथार्थ पनि तपाईं/हामीसंगै छ होइन र ? त्यो समय तपाईं माथी पुरानो शक्तिका ठेकेदारले चौतर्फी हमला गरे । चुनावचिन्ह खोस्नेदेखि चुनावी मैदानसम्म हरेक हत्कण्डा प्रयोग गरे ।
त्यसैले पनि आजको दिनमा ती तपाईंको पार्टीको सदस्यता लिएका १ लाख ५ हजार सदस्यको वैकल्पिक शक्ति बनाउने अठोट र दृढ विचारको हत्या गर्ने अधिकार सायद तपाईसँग छैन । होला, त्यो बेला तपाईंले मान्छे चिन्न नसक्दा केही लोभीपापीले बाबुरामको पछि लागेर अथाह फाइदा लिन सकिन्छ भनेर पार्टी सदस्यता लिए होलान् । ती सबै फर्के, हराए, कतै विलय भए अब तिनको कुरा नगरौं ।
तर, अहिले तपाईंको पार्टीमा जति छन् ती इमानदार छन्,ती विचारमा प्रष्ट छन्, ती वैकल्पिक शक्ति चाहन्छन् र ती देशमा आर्थिक समृद्धि र विकास चाहन्छन् । तिनलाई माओवादीमा लगेर तपाइँले के गर्नुहुन्छ ? फेरि उहि भागबन्डा, लुछाचुँडी, गठबन्धन, लुटतन्त्र ? होला प्रचण्डसँग मागेर केही थान सांसद, मन्त्री, राजदुत बनाउनुहोला, त्यो त आजपनि तपाईंले बनाएका संघीय र प्रदेश मन्त्रीको पारा देख्नुभएकै होला !
प्रिय बाबुराम, त्यसैले अब आँखा खोलौं, जानी जानी नरकमा हाम नफालौं, तपाईंसंग धेरैको चाहना छ कि बाबुरामले देशका लागि, समाजका लागि र नयाँ पुस्ताको लागि केही दिएर जाओस् । बाबुराम माओवादीमा फर्केर लालध्वज बन्ने होइन न्याय र अग्रगमनको बाटोमा हिँडेर गौतम बुद्ध, कार्ल मार्क्स, एलोन मस्क, स्टिभ जब्स, स्टेफन हकिन्स वा महाथिर मोहम्मद र लि क्वान यु बन्नुहोस् । जसले केही नयाँ विचार दिए, केही नयाँ सिकाए, केही अद्भुत कुरा छाडेर गए।
प्रिय बाबुराम, ल्वाङ घलेल, लुम्बिनी, चितवन बैठक होस् वा कुनै भेलामा पटक-पटक हामीले दोहोर्याएको प्रतिबद्धता नै ‘वैकल्पिक शक्ति निर्माणमा कहिल्यै कसैसँग नझुक्ने, नथाक्ने र नअल्मलिने भनेको होइन र ? नयाँ शक्ति पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्नेसहित १० बुँदे घोषणा पत्र ल्वाङ घलेलबाट जारी गरेको सम्झना छ कि छैन ?
प्रिय बाबुराम, अब धेरै कुरा गरेर पनि अर्थ छैन । नयाँ शक्ति निर्माण अभियान सुरु गरिएको चाबहिल गोपिकृष्ण अगाडीको त्रिकोण पार्टी प्यालेसदेखि बुद्धनगरहुँदै ल्वाङ घलेल र लुम्बिनी बैठकलाई एकपटक सम्झनुस ! अनि नयाँ शक्ति निर्माण गर्न हिँड्दै गर्दा तपाइको ९४ बर्षीय बुबा भोजप्रसाद भट्टराई सामु गरेको प्रतिबद्धता र अहिले तपाईंको नाति युगिनलाई सिकाउँदै गरेको युगिन विचारलाई एकपटक आफैंले मनन गर्नुहोस् । अनि एकपटक प्रचण्डबाट पाएको पटक-पटकको धोका र प्रचण्डको गतिहीन राजनीति सम्झनुहोस् । सायद तपाईंको पनि आँखा खुल्नेछ !

