गरिमा घटनाले उठाएको प्रश्न

यमुना भट्टराई खतिवडा

तीन वर्षको उमेर भनेको खेल्ने, हाँस्ने र परिवारको मायामा हुर्किने समय हो। तीन वर्षको अवोधलाई पारिवारिक माया,ममता बाहेक बाहिरी दुनियाँसँग कुनै साइनो र सरोकार पनि हुँदैन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको जीवन त्यही उमेरमा अन्त्य भयो। त्यो पनि ‘राक्षस’को हातबाट ! सुन्दै आङ जिरिङ्ग हुने त्यो अत्यन्त क्रूर घटनाले सबैको मस्तिष्क हल्लाइदिएको छ।

गरिमाको ‘बलात्कार’ पछि हत्या भएको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। ती अबोध बालिकालाई ‘बलात्कार’ गर्ने राक्षसहरुले हत्या समेत गरेको सुन्दा जो कोहीको आँसु थामिन सक्दैन । घटना अनुसार गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। परिवार र स्थानीयवासीले उनको खोजी गरे। तर,दु:खद कुरा केही दिनपछि उनको शव फेला पर्‍यो।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि थाहा भयो उनको बलात्कार र हत्या चक्लेट दिएर गरिएको रहेछ। यद्यपि घटनाको गहिराई सम्म पुग्न अझै बाँकी छ। पक्राउ परेकाले दिएको प्रारम्भिक बयान नै वास्तविकता हो वा अझै थप कुरा पत्ता लगाउन बाँकी छ, त्यसमा प्रहरी अनुसन्धान जारी छ।

घटना बाहिर आएपछि स्थानीयवासीले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आवाज उठाए। सडकमा निस्किएका यी आवाज केवल आक्रोश मात्र होइनन्, न्यायका लागि उठेका आवाज हुन्। यो आवाज अहिले जितपुर सिमरामा मात्रै सिमित छैन। झापाको बिर्तामोडदेखि काठमाडौं माइतीघर सम्म धर्ना र जुलुस भइरहेको छ। दोषीलाई कडा सजाय हुनुपर्ने माग सर्वत्र उठेको छ।

हुन त यो घटना पहिलो होइन । तर,अन्तिम भैदिए हुन्थ्यो ! अर्थात अब कुनैपनी छोरी चेलीले यस्तो पिडादायी घटना सहन र ज्यान गुमाउन नपरोस् । निर्मला पन्तदेखी भागिरथी भट्ट सम्मको घटना सुनेकै हो। सत्य अझै पत्ता लगाउन नसक्दा मृत आत्माले समेत बाँचेकालाई तिमीहरु बाँच्नु बेकार र ‘धिक्कार’ छ भनिरहेका होलान् ! सरकार,प्रधानमन्त्री र मन्त्री फेरिएपछि तिनै अबोधको मृत्युलाई हतियार बनाएर ‘दोषी पत्ता लगाएरै छाड्छु’ भन्ने र आफ्नो सत्ता टिकाउने खेल हुँदै आएका छन् ।

अब हामीले एउटा गम्भीर कुरा सोच्नैपर्छ। हाम्रा बालबालिका वास्तवमै कति सुरक्षित छन्?

घटना भएपछि दोषी खोज्नु र कारबाही गर्नु आवश्यक छ। तर त्यसभन्दा महत्वपूर्ण कुरा यस्ता घटना हुन नदिन हामी परिवारले पनि सुरक्षित वातावरण बनाउनुपर्ने दायित्व बुझ्नुपर्छ । यद्यपि बालबालिकाको सुरक्षा केवल परिवारको जिम्मेवारी मात्रै पनि होइन। परिवारले जतिसुकै सुरक्षा दिन्छु भनेपनी समाज, विद्यालय, स्थानीय निकाय, सुरक्षा निकाय र राज्यका सबै अंगको पनि समान जिम्मेवारी हुन्छ।

आज गरिमाको परिवारले आफ्नो सन्तान गुमाएको छ। त्यो परिवारमा परेको बज्रपात भोलि अर्को परिवारमा पर्नसक्छ। यसको लागि परिवार,समाज र राज्यका निकायले ध्यान दिएर मात्रै पनि नहुने रहेछ। कडा कानुन भएमा दोषीले पाएको सजाय देखेर अर्कोले गल्ती गर्ने दुस्साहस नै नगरोस् । त्यसैले आज गरिमाको परिवारले भोगेको जस्तै पिडा भोलि अर्को कुनै परिवारले भोग्न नपरोस् भन्ने सुनिश्चित गर्नु हामी सबैको जिम्मेवारी र दायित्व हो भन्ने भावना सबैमा हुनैपर्छ ।

यस घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न अपुष्ट कुराहरू पनि फैलिएका छन्। तर संवेदनशील घटनामा प्रमाणित नभएको जानकारी फैलाउनु उचित हुँदैन। पीडित परिवारको पीडालाई सम्मान गर्दै आधिकारिक रूपमा पुष्टि भएका तथ्यलाई मात्र आधार बनाउनुपर्छ। सामाजिक संजाल चलाउने नाममा अफवाह फैलाउने र पीडितलाई थप पीडा पुर्‍याउने काम बन्द गरिनुपर्छ । सामाजिक संजाल भनेको सचेत नागरिकले सहि सूचना दिने र सत्य थाहा पाउने माध्यम बन्नुपर्छ । कसैको मानमर्दन गर्ने वा चरीत्र हत्या गर्ने माध्यम सामाजिक संजाल बन्नु हुँदैन ।

यसो भन्दैमा गरिमाको मृत्यु केही दिनको समाचार बनेर हराउनु हुँदैन। सत्य बाहिर नआउँदा सम्म समाजले पनि खबरदारी गरिरहनु पर्छ। उनको घटनाले हाम्रो समाजलाई सोच्न बाध्य बनाउनुपर्छ। दोषीलाई कानुनअनुसार सजाय मिल्नु आवश्यक छ, तर त्यससँगै बालबालिकाको सुरक्षा व्यवस्था अझ बलियो बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ।

गरिमा अब फर्केर आउने छैनन्। तर उनको घटनाबाट हामीले एउटा पाठ सिक्न सक्छौँ। कुनै पनि बालबालिकाले डरमा होइन, सुरक्षित वातावरणमा हुर्किन पाउनुपर्छ। फूल्दै गरेको शुन्दर फूल कोपिला मै ओइलाउनु हुँदैन ।

गरिमाका लागि न्याय माग्नु भनेको एउटा परिवारका लागि मात्र आवाज उठाउनु होइन। यो हरेक बालबालिकाको सुरक्षित भविष्यका लागि आवाज उठाउनु हो। आज गरिमाको कथा हामीलाई प्रश्न गरिरहेको छ-‘अब पनि हामी मौन बस्ने कि बालबालिकाको सुरक्षाका लागि परिवर्तनको आवाज उठाउने?’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय