कांग्रेस विवाद : ‘एकता नभए सबै खरानी’

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद फेरि अदालत पुगेको छ। विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोग र सर्बोच्चले दिएको आधिकारिकता माथी शेरबहादुर देउवा समूहले अपिल गरेपछि र त्यसमा निस्सा पाएपछि कांग्रेस विवाद पुनः अदालत भित्रिएको हो ।

सर्बोच्चले अब कांग्रेसको आधिकारिकता विवाद सुरुदेखि नै सुनुवाइ हुने भनेको छ। यसले देउवा पक्ष उत्साही छ भने गगन थापा पक्षले शंका व्यक्त गरेको छ। यद्यपि जुनसुकै परिक्षाका लागि तयार रहेको सभापति गगन थापाको भनाइ छ। उनले आधिकारिकतालाई अदालतले थप सत्य र बलियो बनाइदिन खोजेको भन्दै आएका छन् ।

यसैबीच कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र बढ्दो आन्तरिक कलह र सामाजिक सञ्जालमा भइरहेको आरोप प्रत्यारोपप्रति चिन्ता व्यक्त गर्दै ‘पूर्ण एकता’का लागि अपिल गरेका छन् । उनले एकता नभए सक्किने अवस्था आउन सक्ने समेत भनेका छन् ।

नेता खड्काले सर्वोच्च अदालतको आदेशपछि सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट व्यक्त भइरहेका टीका टिप्पणीले आफूलाई चिन्तित बनाएको भन्दै संजालमा चिन्ता व्यक्त गरेका छन्। ‘सामाजिक सञ्जालको दोहोरी र गालीगलौजले कहीँ पुगिँदैन,’ खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो प्रवृत्ति सबै लागेर बन्द गरौँ ।’

नेता खड्काले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पार्टी एकताका लागि अग्रमोर्चामा उभिन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुहोस्, हामी सबै सहयोगी बन्छौं । तर यहाँनिर स्पष्ट हुन जरुरी छ, निर्णायक तपाईं नै हो ।’

पार्टी इतिहासकै कमजोर र प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै खड्काले व्यक्तिगत महत्वाकांक्षा, अहंकार र प्रतिशोधबाट मुक्त हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सम्मानित सर्वोच्च अदालतले पुनरवलोकनका लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर हो भन्ने हेक्का राखौँ,’ खड्काले लेखेका छन् ।

देशको राष्ट्रियता संकटमा परेको र लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै खड्काले अस्तित्व रक्षाको प्रश्न उठाएका छ । उनको भनाइ छ, ‘राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, लोकतन्त्र रहे पार्टी रहन्छ र मात्र हामी रहने ठाउँ रहन्छ । नभए सबै खरानी हुन्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय