दीपेन्द्रले मरिसकेका विरेन्द्रलाई ‘लात्ती’ हानेको देख्ने साक्षी केतकीको निधन

तत्कालीन राजा वीरेन्द्रलाई गोली लागेर ढलेपछि उनका छोरा (जो दरबार हत्याकाण्डका दोषी समेत भनिन्छ) दीपेन्द्रले लात्ती हानेको देखेको बयान दिने राजपरिवारकि चेली केतकी चेष्टरको निधन भएको छ।

वि.सं. २०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डकी प्रत्यक्षदर्शी केतकी चेष्टरको ८० वर्षको उमेरमा निधन भएको हो । तत्कालीन राजपरिवारकी सदस्यसमेत रहेकी केतकीले दरबार हत्याकाण्डमा आफ्नै आँखाले देखेका भयावह दृश्य र वर्षौँसम्म सार्वजनिक नभएका घटनाबारे खुलासा गरेकी थिइन्।

राजा वीरेन्द्रका काका अधिराजकुमार बसुन्धरा तथा अधिराजकुमारी हेलेनकी छोरी केतकी त्यस रात राजदरबारको त्रिभुवन सदनस्थित बिलियर्ड हलमा आयोजित पारिवारिक जमघटमा सहभागी थिइन्। त्यस रात भएको गोलीबारीमा उनी आफैँ पनि गम्भीर घाइते भएकी थिइन्। उनको दाहिने काँधमा दुईवटा गो ली लागेको थियो भने बायाँ पाखुरामा समेत चोट लागेको थियो।

तर, उनको नाम दरबार हत्याकाण्डसँग जोडिनुको सबैभन्दा ठूलो कारण उनले वर्षौँपछि सार्वजनिक गरेको एउटा स्तब्ध पार्ने बयान थियो।त्यो के भने-‘गोली लागेर भुइँमा ढलेका राजा वीरेन्द्रलाई युवराज दीपेन्द्रले लात्तीसमेत हानेका थिए।’

‘के गरेको ?’ भन्दै ढलेका थिए वीरेन्द्र

घटनाको रात केतकी आफ्नी दिदी जयन्ती शाहसँग बिलियर्ड हलको ढोकानजिकै कुराकानी गरिरहेकी थिइन्। त्यही बेला युवराज दीपेन्द्र सैनिक पोसाकमा दुवै हातमा बन्दुक बोकेर उनीहरूकै अगाडिबाट भित्रतर्फ गएका थिए।

दीपेन्द्रको हातमा बन्दुक देखेपछि दुवै दिदीबहिनीले अस्वाभाविक माने पनि तत्काल कुनै ठूलो घटना हुने अनुमान गरेका थिएनन्। उनीहरूलाई दीपेन्द्रले आफूसँग भएका पुराना हतियार राजा वीरेन्द्रलाई देखाउन खोजेका होलान् भन्ने लागेको थियो।

तर, केही क्षणमै गोली चलेको आवाज आयो। दीपेन्द्रले पहिले कोठाको सिलिङ र भित्तातर्फ गोली चलाएपछि राजा वीरेन्द्रमाथि गोली प्रहार गरेका थिए। गोली लागेपछि राजा भुइँमा ढले। ढल्नुअघि उनले ‘के गरेको ?’ मात्र भन्न भ्याएको केतकीले बताएकी थिइन्।

गोलीको आवाजपछि आएको बारुदको गन्धबारे दिदी जयन्तीसँग सोध्दै गर्दा दीपेन्द्र कोठाबाट बाहिर निस्किएका थिए। त्यसपछि केतकी भित्र प्रवेश गर्दा राजा वीरेन्द्र घाइते अवस्थामा ढलेको देखेकी थिइन्।

दरबार हत्याकाण्ड भएको करिब १० वर्षपछि अर्थात् २०६८ जेठमा पत्रकार कुन्द दीक्षितसँगको कुराकानीमा केतकीले अर्को चकित पार्ने घटना सार्वजनिक गरिन्।उनका अनुसार गोली लागेर भुइँमा ढलेका आफ्नै बुबा राजा वीरेन्द्रको शरीरमा युवराज दीपेन्द्रले लात्तीसमेत हानेका थिए।

उनले त्यो दृश्य आफूलाई आजीवन बिर्सन नसकेको बताएकी थिइन्। हाम्रो संस्कृतिमा मृत वा मरणासन्न व्यक्तिलाई त्यसरी लात्ती हान्ने चलन नरहेको उल्लेख गर्दै उनले दीपेन्द्रको उक्त व्यवहारले गोली चलेको घटनाभन्दा पनि बढी स्तब्ध बनाएको बताएकी थिइन्।

उच्चस्तरीय छानबिन समितिमा दिएको बयानमा भने उनले यो विशेष घटनाको उल्लेख गरेकी थिइनन्। यो विवरण उनले १० वर्षपछि  सार्वजनिक गरेकी थिइन्।

केतकीको बयानअनुसार दीपेन्द्र दोस्रोपटक बिलियर्ड हलमा प्रवेश गर्दा उनका कान्छा काका अधिराजकुमार धीरेन्द्रले उनलाई रोक्ने प्रयास गरेका थिए।

‘पुग्यो बाबु, तिमीले धेरै गरिसक्यौ’ भन्दै सम्झाउन खोजेका धीरेन्द्रलाई दीपेन्द्रले हतियार खोस्न खोजेको ठानेर गोली चलाएको केतकीले बताएकी थिइन्।

गोली लागेपछि धीरेन्द्र राजा वीरेन्द्रनजिकै ढलेका थिए। त्यही बेला उनलाई सम्हाल्न र सहयोग गर्न केतकी अघि बढेकी थिइन्। तर, दीपेन्द्रले तेस्रोपटक कोठाभित्र प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा केतकी पनि बच्न सकिनन्। उनका दाहिने काँधमा दुईवटा गोली लाग्यो।

त्यसक्रममा अधिराजकुमारी श्रुति, शान्ति, शारदालगायत अन्य आफन्तसमेत गोलीको सिकार भएका थिए।

गोलीबारीपछि रानी ऐश्वर्य दीपेन्द्रलाई पछ्याउँदै अघि बढ्न खोजेकी थिइन्। केतकीले उनको सुरक्षालाई ध्यानमा राख्दै ‘भाउजु, नजानोस्’ भन्दै रोक्ने प्रयास गरेको आफ्नो बयानमा उल्लेख गरेकी थिइन्।

उनका अनुसार रानी ऐश्वर्य दीपेन्द्रको हातबाट बन्दुक खोस्ने दृढताका साथ अघि बढेकी हुन सक्थिन्। अधिराजकुमार निराजन पनि आमालाई जोगाउन पछ्याउँदै थिए। तर, रानी ऐश्वर्य र निराजन दुवैले ज्यान गुमाए।

केतकीले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र युवराज पारसको दरबार हत्याकाण्डमा कुनै संलग्नता नरहेको दाबीसमेत गरेकी थिइन्।

त्यस रात ज्ञानेन्द्र पोखरामा रहेको र खराब मौसमका कारण हेलिकप्टरबाट आउन नसकेपछि सडकमार्ग हुँदै काठमाडौं ल्याइएको उनको भनाइ थियो। उनी दरबारमै भएको भए ज्यान जोगिने सम्भावना नरहेको केतकीको बुझाइ थियो।

त्यस्तै, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घटनाको वास्तविकता सार्वजनिक नगरेको भन्दै उनले प्रश्न उठाएकी थिइन्। सञ्चारमाध्यममाथिको प्रतिबन्ध र त्यसपछिका सार्वजनिक विवरणले घटनाबारे भ्रम तथा अनेकौँ आशंकालाई बढावा दिएको उनको दाबी थियो।

केतकी चेष्टरको नाम विदेशी सुनिए पनि उनी तत्कालीन राजपरिवारकै सदस्य थिइन्। राजा त्रिभुवनकी नातिनी तथा अधिराजकुमार बसुन्धराकी छोरी केतकीको पहिलो विवाह राणा परिवारका कुमुद शमशेरसँग भएको थियो। पछि उनीहरूको सम्बन्ध विच्छेद भयो।

त्यसपछि उनले बेलायती नागरिक तथा पाइलट एलन रोय चेष्टरसँग दोस्रो विवाह गरिन्। शाही उडानका क्रममा भएको चिनजान प्रेम र वैवाहिक सम्बन्धमा परिणत भएको थियो। विदेशी नागरिकसँग विवाह गरेपछि दरबारको नियमअनुसार उनले शाहज्यादीको पदवी त्यागेकी थिइन्। उनी राणा शासनको अन्त्यपछि शाही पदवी परित्याग गर्ने राजपरिवारकी पहिलो सदस्यसमेत मानिन्थिन्।

दरबार हत्याकाण्डमा उनले आफ्नी आमा हेलेन र दिदी जयन्तीलाई समेत गुमाएकी थिइन्। आफैँ गोली लागेर बाँचेकी उनले त्यस रातको पीडा जीवनभर बोकेर हिँडिन्।

केतकीले दरबार हत्याकाण्डको सबैभन्दा ठूलो पछुतो पहिलो गोली चल्नेबित्तिकै दीपेन्द्रलाई नियन्त्रणमा लिन नसकेकोमा रहेको बताएकी थिइन्।यदि आफूहरूले तत्काल उनलाई रोक्न सकेको भए यति धेरै मानिसको ज्यान जाने थिएन भन्ने उनको भनाइ थियो।

राजपरिवारको एउटा पारिवारिक जमघटमा सहभागी हुन पुगेकी केतकीले केही क्षणमै आफ्ना आफन्त गुमाइन्, आफैँ गोलीको सिकार बनिन् र जीवनभर बिर्सन नसकिने दृश्य देखिन्।

दरबार हत्याकाण्डको रात के भयो भन्नेबारे उनले दिएका बयान, सार्वजनिक गरेका स्मरण र उठाएका प्रश्न नेपाली इतिहासका महत्त्वपूर्ण अभिलेख बनेका छन्। त्यो रातको पीडा बोकेर बाँचेकी एक प्रत्यक्षदर्शी अब रहिनन्। तर, उनले आफ्नै आँखाले देखेको भनेर सुनाएका ती घटनाहरू र अधुरा प्रश्नले २०५८ जेठ १९ गतेको नारायणहिटीको त्यो कालो रातलाई फेरि सम्झाइरहनेछन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय